काठमाडौं - रोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि बजेट व्यवस्थापन गर्न गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको छ ।
जाडोयाम सुरु भैसकेकाले गाउँपालिकाले आफैं पुनर्बासको योजना तयार गरेर तत्काल बाढीपहिरो प्रभावितलाई ‘न्यानो’ प्रदान गर्न छुट्टै बजेट व्यवस्थापन गर्न गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको जनाएको छ ।
गत असोज दोस्रो साताको अविरल बर्षाका कारण बाढीपहिरोले जनधनको क्षति पुर्याएपछि १५औं अधिवेशनले चालु आर्थिक वर्षको योजनाका लागि बिनियोजित बजेटबाट केही प्रतिशत कटौती गरी विपद् व्यवस्थापन गर्न विशेष सभाको आह्वान गरिएको गाउँपालिकाले जनाएको छ ।
विपद् प्रभावित परिवारका लागि राहत, पुनःस्थापन एवं पुनर्बासका कार्यक्रम सञ्चालन गर्न विशेष अधिवेशन बोलाइएको अध्यक्ष दिनेश लामाले बताउनुभयो ।
गाउँपालिकाले शुक्रबार गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको हो । कार्यालयले बागमती प्रदेशको गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धी ऐन- २०७५, को दफा ३ को उपदफा १ बमोजिम गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको जनाएको छ ।
अधिवेशन सकिएलगत्तै विपद व्यवस्थापनका लागि योजना तयार गरिने अध्यक्ष लामाले बताउनुभयो ।
0 comment