काठमाडौं - जापानबाट डिपोर्ट भएकाहरूको नक्कली कागजात बनाइदिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
जापानबाट डिपोर्ट भएकाहरूको नक्कली कागजात बनाउने कार्यमा संलग्न भएको अभियोगमा थप दुई जनालाई हिजो बागबजारबाट पक्राउ गरेको उहाँले बताउनुभयो ।
कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करीमा प्रकरणमा संलग्न भएको आरोपमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या नौ जना पुगेको प्रहरीले जनाएको छ ।
उक्त प्रकरणमा कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।
मङ्गलबार पक्राउ परेका नवीन राई र गुड्डी राईले बागबजारमा खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका- २ को वडा सदस्य र कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ को परिचयपत्र बनाइ दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
0 comment