अहिले अमेरिका चुनावमय भएको छ । यही शुक्रवारसम्म अर्को ४ वर्ष राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले अमेरिका चलाउछन् भन्ने कुरा औपचारिक रुपमा प्राय निश्चित हुनेछ । अमेरिकामा दुई दलिय ब्यवस्था छ । एक कट्टर पुरातनवादी रिपब्लिकन र अर्को उदारवादी डेमोक्राट ।

पहिलोको प्राथमिकता अमेरिकी स्वार्थमा सिमित, दोश्रोको प्राथमिकता अन्तराष्ट्रिय मानवअधिकार र बहुलवादमा लक्षित हुने गर्छ । रिपब्लिकन दलका उमेद्वार पूर्व राष्ट्रपति ट्रम्पले के भनेका छन् भने उनको शासनले निरन्तरता पाउथ्यो भने न युक्रेन युद्ध हुन्थ्यो न इज्रायल पेलेष्टेनी युद्ध नै । उत्तर कोरियाका सर्वोच्च शासक किम जोंग उनसँग वार्ता गर्ने, अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता गर्ने यिनै डोनाल्ड ट्रम्प थिए ।

हिजोकै कुरा गर्ने हो भने सोभियत विस्तारवादको प्रभाव अफगानिस्तान हुदै भारत भई सम्पूर्ण दक्षिण एसियामा फैलन लागेको अवस्था भियतनाम युद्ध र कोरिया युद्धको हारको पिडा बिर्सेर रिपब्लिकन राष्ट्रपति निक्सन माओ त्से तुंग हात मिलाउन वेजिंग पुगेका थिए । यी प्रशंग कोट्याउनुको अर्थ के हो भने अमेरिकामा रिपब्लिकनले जित्दा अमेरिका फस्ट भन्ने नारा धन्किन्छ र उनीहरु अमेरिकी राष्ट्रिय स्वार्थमा बढि सिमित हुन पुग्छन् र अन्तराष्ट्रिय राजनीतिक मुठभेड तर्फ जादैनन् ।

अहिलेकै कुरा गर्दा पनि आइएसपी, एसपिपि, क्वाड, अकस जस्ता अमेरिकी नेतृत्वमा रहेका चीन विरोधी खेमाहरुको निर्माण अमेरिकामा डेमोक्राट राष्ट्रपति भएको बेलामा बनेका हुन् । अमेरिका फस्ट भनिरहदा गैरकानूनी रुपबाट अमेरिका पुगी त्यहाँ लुकीछिपी बसिरहेका बिदेशीहरु अव ट्रम्पको दोश्रो कार्यकालमा त्यहाँबाट लघारिन पनि सक्छन् र गैर कानूनी रुपबाट अमेरिका प्रवेश गर्न चहानेहरुको लागि अब अप्ठेरो पर्न पनि सक्छ । अहिले चीन र अमेरिका बीच एकातर्फ र अमेरिका र यूरोपेली सँघ बीच जुन ब्यापारिक खटपट भइरहेको छ त्यसको मुख्य कारण उच्च अमेरिकी ब्यापार घाटा नै हो । त्यसलाई कम गर्ने सिलसिलामा विश्व राजनीतिमा अर्कै किसिमको ध्रुवीकरण हुन सक्छ यद्यपि त्यसले विश्व युद्धको रुप लिदैन किनकी युद्धमा अमेरिकी प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नतालाई हेर्दा दोश्रो विश्व यद्धकाल देखि नै डेमोक्राट राष्ट्रपति भएको बेलामा युद्धमा बढी अमेरिकी संलग्नता देखिन्छ ।

नेपालकै सन्दर्भबाट हेर्ने हो भने पनि राजा वीरेन्द्रले अमेरिकी हातहतियारबाट सुुसज्जित भइ नेपालको मुस्तांगबाट तिब्बत स्वतन्त्र गर्न चाहाने तिब्बती खम्पालाई लघारेका थिए तर त्यही राजा वीरेन्द्रले राखेको शान्तीक्षेत्रको प्रस्ताव स्वीकार गर्ने अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन रिपब्लिकन नै थिए । यस प्रशंगबाट विश्लेषण गर्दा ट्रम्पले कार्यभार सम्हाल्ने वित्तिकै एकातर्फ नेटोको सक्रियतामा ह्रास आई युक्रेन रुस युद्ध र अर्को तर्फ इज्रायल पेलेस्टिनी युद्ध समाप्ति तिर जान सक्तछ भन्ने सोच्न सकिन्छ किनकी यी दुवै युद्धका कारक तत्व भनेको डेमोक्राट राष्ट्रपति भएको वेला अमेरिकाले युक्रेन र इज्रायललाई उक्साएको कारण नै हो भन्दा फरक नपर्ला ।

त्यसैले विश्वको राजनीति ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको कारण तनावमुक्त हुन सक्ला भन्ने अपेक्षा गर्न सकिन्छ यद्यपि ब्यापारिक स्वार्थको कारण विश्व आर्थिक ब्यवस्थाले अर्कै मोड नलेला भन्न सकिन्न । भर्खरै रुसमा सम्पन्न भएको व्रिक्स सम्मेलनले यस कुराको इंगित गरिसकेको छ । अव ट्रम्पको अगाडि ठूलो चूनौती भनेको अमेरिकी डलरको विश्वब्यापी साख कसरि जोगाउने भन्ने नै हुने छ ।