काठमाडौं — सरकारले दमनलाई निरन्तरता दिए राप्रपा प्रतिवादमा सडकमा आउन बाध्य हुने चेतावनी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहकारीका बचतकर्तामाथि ‘अमानवीय र बर्बर आक्रमण’ गरिएको आरोप लगाएको छ । पीडितलाई सान्त्वना दिनुको साटो र बचत रकम फिर्ताको निश्चितता जस्ता सहयोग गर्नुपर्नेमा ‘दमन’ गरिएको भन्दै राप्रपाले आपती जनाएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बिहीबार बिहान सामाजिक सञ्जालमा पीडितको बचत फिर्ताको माग गरेका छन् । “यसप्रकारको अमानवीय कार्य तत्काल रोक्न र सहकारीपीडितहरूको बचत फिर्ताको सुनिश्चितता गर्न माग गर्दछु,” फेसबुकमा लिङदेनले लेखेका छन् । “सरकारले यसप्रकारको दमनलाई निरन्तरता दिए एक जिम्मेवार राजनीतिक दलको नाताले जनताका पक्षमा राप्रपा प्रतिवादमा सडकमा आउन बाध्य हुनेछ,” लिङदेनले लेखेका छन् ।
0 comment