भारतको एक मन्दिरमा पटाका प्रदर्शनी भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका छन् ।

८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । प्रहरीले घटनामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

भारतीय पत्रपत्रिकाहरूले पोस्ट गरेका भिडियोहरूमा देखाए अनुसार हिजो साँझ दक्षिणी राज्य केरलाको नीलेश्वरमस्थित एउटा हिन्दू मन्दिर वरिपरि सयौँ मानिसहरू आतसबाजी हेर्न भेला भएका थिए ।

भिडियोमा त्यसपछि एउटा भवन भित्रबाट चर्को आवाज सुनिन्छ र एक शक्तिशाली आगोको गोला आकाशमा माथि उठ्छ ।

“करिब आठ जनाको अवस्था गम्भीर छ र करिब एक सय ५४ जना घाइते भएको रिपोर्ट छ, तीमध्ये ९७ जना अस्पतालमा भर्ना छन्”, स्थानीय प्रहरी प्रमुख शिल्पा द्यवैयाले भने, “उनीहरूले पटाका भण्डारण गरिएको ठाउँ नजिकै पटाका फुटाए ।” फुटेका पटाकाका झिल्काहरू भण्डारण गरिएको पटाकासम्म पुगेको उनले बताएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूले अधिकारीहरूलाई उद्धृत गर्दै बाक्लो भीडमा रहेका मानिसहरूको अनुहार र हातमा जलन भएको बताएका छन् ।

स्थानीय सरकारी अधिकारी के. इन्बासेखरले पटाका प्रदर्शनीका लागि कुनै अनुमति नदिइएको बताए । द हिन्दू पत्रिकाले मन्दिरका अध्यक्ष र सचिवलाई हिरासतमा लिइएको जनाएको छ ।

भारतमा सन् २०१६ मा हिन्दु नयाँ वर्षको अवसरमा एक मन्दिरमा प्रतिबन्धित पटाका प्रदर्शनीमा भएको ठूलो विस्फोटमा कम्तीमा एक सय १२ जनाको मृत्यु भएको थियो ।

भारत यस हप्ताको अन्त्यमा हिन्दू चाड दीपावलीको अवसरमा हुने प्रमुख आतसबाजी मौसमका लागि तयार हुँदैछ । भव्य र रङ्गीन चाडले हिन्दु देवी लक्ष्मीको पूजा गर्ने र अँध्यारोमाथि उज्यालोको विजयको प्रतीक मान्ने गर्दछन्

पटाकाले हानिकारक तीतो धुवाँ फैलाउँछ । राजधानी नयाँदिल्लीले खतरनाक वायु प्रदूषण रोक्न पटाकामा प्रतिबन्ध लगाएको छ ।