काठमाडौं - धनगढीका हेमराज जोशीले साउन महिनाको पाक्षिक बम्पर पुरस्कार जितेका छन्। उनले २ सय ५० रुपैयाँको बिजुलीको बल्ब किन्दा १० लाख राशिको उपहार पाएका हुन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको पहिलो पाक्षिकका बम्पर उपहार र एक लाख रुपैयाँ विजेता दुई जनालाई पुरस्कार रकम हस्तान्तरण गरेका छन्। 

सोमबार मन्त्रालयमा आयोजित साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रममा उनले विजेताहरूलाई पुरस्कार रकम प्रदान गरेका हुन्। धनगढीका जोशीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे। सो क्रममा अर्थमन्त्री डा. वाग्लेले विजेता जोशीलाई सरकारको करदाता प्रोत्साहन पुरस्कारको दूत बन्न आग्रह गरे। साथै, उनले पुरस्कारको रकम राम्रो काममा लगानी गर्न आग्रह गरे। 

‘हेमराजजी, बधाई छ। तपाईं पहिलो बम्पर उपहार विजेता हुनुहुन्छ। तपाईं सरकारको यो कार्यक्रमको दूत बन्नुहोस्, सरकारले अघि बढाएको ‘बिल दिनुपर्छ र लिनुपर्छ’ भन्ने कुरा समाजमा फैलाउनुहोस्,’ अर्थमन्त्री डा. वाग्लेले भने। यस्तै, १ लाख ३३ हजार रुपैयाँ विजेता गैंडाकोट, नवलपरासीका हिमाल अर्याललाई पनि अर्थमन्त्री डा. वाग्लेद्वारा पुरस्कार हस्तान्तरण गरियो। उनले साथीहरूसँग आइसक्रिम खाँदा तिरेको कारोबारमा पुरस्कार जितेका हुन्। पुरस्कार रकमबाट २५ प्रतिशत करकट्टी भएपछि उनले एक लाख रुपैयाँ नगद उपहार पाए।

पहिलो १५ दिनको अन्य विजेताहरूलाई यसै साता आन्तरिक राजस्व कार्यालयबाट नगद पुरस्कार प्रदान गरिने विभागले जनाएको छ।