काठमाडौं - दिपावलीका अवसरमा वीरगञ्जको पुरानो बसपार्क आर्दशनगरमा आजदेखि रात्रिबजार लाग्ने भएको छ ।

वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बिहीबारसम्म बजार लाग्नेछ ।  

प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले रात्रिबजारमा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु तथा सामानलाई प्रोत्साहन गर्ने खालका ३० भन्दा धेरै स्टल राखिने जानकारी दिनुभयो ।

घरेलु तथा साना उद्यम गर्दै आएका उद्यमीलाई प्रोत्साहन गर्नका लागि रात्रिबजार आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।

रात्रिबजारमा परम्परागत खानाका परिकार, साना तथा घरेलु उद्यमीले उत्पादन गरेका वस्तु तथा सामानसमेत प्रदर्शनीमा राखिनेछ ।

रात्रिबजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडालगायतका सरसामानका स्टल पनि राखिने आयोजकले जनाएको छ ।

अध्यक्ष खेतानले कात्तिक १५ गते लक्ष्मीपूजाको दिनमा भने विशेष सांस्कृतिक कार्यक्रम पनि हुने जानकारी दिनुभयो ।