काठमाडौं - डेङ्गी सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि चेतना जगाउन सदरमुकाम दमौलीमा आजदेखि घरदैलो अभियान सुरु गरिएको छ । 

चिसो मौसम बढ्दै जाँदा पनि डेङ्गी सङ्क्रमण नघटेपछि व्यास नगरपालिका स्वास्थ्य शाखाले बजार क्षेत्रमा घरदैलो अभियान सुरु गरेको हो। 

डेङ्गी नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका बारेमा नगरवासीलाई जानकारी गराउने उद्देश्यसहित घरदैलो अभियान सुरु गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।

तनहुँमा सबैभन्दा बढी व्यास नगरपालिकामा डेङ्गी सङ्क्रमित छन् । नियन्त्रण गर्न घरदैलो अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।

डेङ्गी नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजौँ र नष्ट गरौँ अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । लामखुट्टेको बासस्थान खोजेर र नष्ट गर्न सकिएमा यसको नियन्त्रण गर्न सकिने उहाँको भनाई छ । 

दमौली बजारमा डेङ्गी सङ्क्रमित थपिने क्रम बढ्दो अवस्थामा रहेकाले चेतना जगाउन अभियान सञ्चालन गर्न आवश्यक भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । 

जिल्लाभर चार हजार सात सय ११ डेङ्गी सङ्क्रमित रहेकामा व्यास नगरपालिकामा मात्रै एक हजार सात सय १५ छन्।

यस्तै शुक्लागण्डकी नगरपालिकामा आठ सय २०, भिमाद नगरपालिकामा ८३, भानु नगरपालिकामा ४४, म्याग्दे गाउँपालिकामा ४५, बन्दीपुर गाउँपालिकामा एक सय ८६, आँबुखैरेनी गाउँपालिकामा एक हजार ६ सय ९८, ऋषिङ गाउँपालिकामा चार, घिरिङ गाउँपालिकामा ६, देवघाट गाउँपालिकामा ८० र अन्य जिल्ला घर भएका ३० जनामा डेङ्गी सङ्क्रमण भएको छ ।