काठमाडौं - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैङ्क कर्णाली प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आठ लाख सहयोग रकम प्रदान गरेको छ । 

उक्त रकमको चेक आइतबार एक कार्यक्रमबीच बैङ्कले प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । कृषि विकास बैङ्क लिमिटेड कर्णाली प्रदेश कार्यालयका निर्देशक सुरोज टन्डनले प्रतिष्ठानका रेक्टर डबलबहादुर धामी र रजिस्ट्रार नृपेन्द्र महतलाई उक्त चेक हस्तान्तरण गर्नुभएको हो ।

निर्देशक टन्डनले बैङ्कको सामाजिक उत्तरदायित्वलाई सदुपयोग गर्ने उद्देश्यले प्रतिष्ठानलाई सहयोग रकम प्रदान गरेको बताउनुभयो । कर्णाली प्रदेशको स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूमा बैङ्कले सहयोग गर्दै आएको छ । 

बैङ्कले समाजका लागि शिक्षा र स्वास्थ्यमा योगदान पुर्याउने नीति अनुरूप प्रतिष्ठानलाई सहयोग गरेको निर्देशक टन्डनले बताउनुभयो ।

संस्थाहरूलाई समाजप्रतिको जिम्मेवारी वहन गर्न वातावरणीय, सामाजिक, आर्थिक क्षेत्रहरूमा दीर्घकालीन र दिगो विकासका लक्ष्य लिने संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत प्रतिष्ठानलाई महत्वपूर्ण सहयोग प्राप्त भएको प्रतिष्ठानका रेक्टर डा डबलबहादुर धामीले जानकारी दिनुभयो ।