काठमाडौं - गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत मूल्य नजिक बिक्री गर्न पाएका हुन् ।
     
नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार सोमबारदेखि लागू हुने गरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको)  पाँच सय, मध्यम चार सय ८५ र ‘एक्सएल’ पाँच सय १५ कायम गरिएको छ ।

यसअघि गत साउन मसान्तमा यही दररेटमा अण्डा बिक्री भएकामा क्रमशः घटेर ठूलो अण्डा तीन सय ६०, मध्यम तीन सय र एक्सएल तीन सय ७५ मा झरेको थियो ।
 
विगत दुई सातायता क्रमशः मूल्य बढ्न थालेको अध्यक्ष पोखरेलले बताउनुभयो । लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि पूर्ववत् अवस्थामा अण्डाको मूल्य आएको बताउनुभयो ।

भदौ पहिलो साता दैनिक ३० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकामा यो सङ्ख्या घटेर २२ लाख हाराहारीमा झरेको छ । उहाँको भनाइमा नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएका छन् ।