धादिङको मलेखु नजिकै परेवा भिरमा सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन फेरी दुबैतर्फ ठप्प भएको छ ।गजुरी गाउँपालिका  स्थित वडा नम्बर–२ मलेखुको माछा बजार नजिकै परेवा भिरमा सुख्खा पहिरो खसेको हो ।

पहिरो ठुलो भएकोले  अवरुद्ध राजमार्ग खुलाउन केही समय लाग्ने इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।  

पहिरोका कारण सडक अवरुद्ध हुँदा राजधानीबाट बाहिरिएका र राजधानी प्रवेश गर्ने सवारीका साधनहरू बीच बाटोमै रोकिएका छन् ।

सडक खुलाउनका लागी प्रयास गरिएको भए पनि राती र अँध्यारोका कारण थप समस्या भएको बताईएको छ । सो स्थानमा पहिरो खसी रहने समस्या  छ ।