काठमाडौँ महानगरपालिका- १४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण तीन करोड बराबरको क्षति भएको छ । 
 
पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ ।

बजारमा करिब पाँच सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले जानकारी दिनुभयो । अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ । बजारमा अझै हिलो पन्छाउने कार्य जारी छ । 

चार वर्षदेखि बल्खुमा थोक पसल चलाइरहनुभएका गोपाल कटुवालले दसैँका लागि २० लाखको सामान राखेकोमा बाढीले सबै नष्ट गरेको बताउनुभयो। 

बचेको केही सामान जम्मा गरेर हिलो पखालिरहेको उहाँले सुनाउनुभयो ।