काठमाडौं - सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीबीच कैलाली-कञ्चनपुरसँग जोडिएको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा अवाञ्छित र आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी भएको छ । 

भारत, उत्तर प्रदेशको लखिमपुरखिरी जिल्लास्थित, गौरीफन्टामा आइतबार बसेको दुवै देशका प्रहरी अधिकारीको बैठकमा सीमाक्षेत्रमा सीमास्तम्भको सुरक्षा, सीमास्तम्भ बिग्रे भत्किएका भए तिनको मर्मतसम्भार, लागु औषध नियन्त्रण, मानवतस्करी नियन्त्रण, सीमामा हुनसक्ने विदेशी घुसपैठ रोकथाम लगायत विषयमा छलफल भई समन्वयात्मक रूपमा काम गर्ने समझदारी भएको  सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वार्टर, कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

नजिकिँदै गरेका चाडपर्वका समयमा भारतबाट स्वदेश फर्किने क्रममा कतिपय नेपाली भारतीय सीमा क्षेत्रमा लुटिने गरेको विगतको घटनालाई मध्यनजर गरी यस्ता घटना हुन नदिन दुवै देशका प्रहरीले आवागमनमा सहजीकरण गर्ने समझदारी पनि भएको छ ।

पछिल्ला दिनमा गौरीफन्टा सीमानाकामा राति ८ बजेबाट पैदल हिँडेर आवागमन गर्न समेत रोक लगाइएको गुनासो आइरहँदा बैठकमा दुवै देशका प्रहरी अधिकारीबीच भन्सार काट्नु नपर्ने सामान सहित हिँड्ने नागरिकलाई आवागमन गर्न दिने समझदारी भएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो । 

राति ८ बजेटबाट गौरीफन्टा सीमा नाकाको गेटमा बिरामी बोकेको एम्बुलेन्स बाहेक अन्य सवारी साधनको आवागमनमा रोक लगाउने गरिएको छ।

सीमा क्षेत्रमा दुवैतर्फ प्रत्येक दिन साँझ ८ बजेपछि भन्सार कार्यालय बन्द हुने गरेको भए पनि भारतमा भन्सार लाग्ने मालवस्तु साथमा नभएका नेपाली नागरिकलाई तोकिएको समयपछि पनि आवागमनमा सहजीकरण गरिदिने समझदारी भएको उहाँले बताउनुभयो ।
 
केही दिनअघि सुरक्षा अधिकारीबीच धनगढीमा पनि समन्वय बैठक सम्पन्न भएको थियो । उक्त बैठकमा पनि दुई देशका सुरक्षा निकायबीच खबर आदानप्रदान, आवश्यकता अनुसार सीमा इलाकामा संयुक्त गस्ती, सीमा र दशगजाको अतिक्रमण रोकथाम, अवाञ्छित एवं आपराधिक क्रियाकलाप नियन्त्रण लगायत विषयमा छलफल गरिएको थियो ।