काठमाडौं - टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

काठमाडौँबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस आज अपरान्ह  अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल पुगेको घटनास्थल पुग्नुभएका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

उक्त गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

पृथ्वीराजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग १ ख ४५३५ नं.माइक्रोबस धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा ठूलोभीर भएपनि मौवाको रुखमा गाडी अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको हो ।