काठमाडौं - इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण गरेको छ । आक्रमणमा हिजबुल्लाह एयर युनिटका एक कमाण्डर मारिएको जनाएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा परी दुई जनाको मृत्यु भएको र १५ जना घाइते भएको जनाएको छ ।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानमा सेनाले पूर्ण शक्तिका साथ लड्ने बताएका थिए ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले नेतन्याहूको एक्स पेज मार्फत एक विज्ञप्ति जारी गर्दै 'युद्धविरामको समाचार सत्य नभएको' बताएका छन् । साथै उनले लेबनानमा आक्रमण जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार लेबनानमा भएको आक्रमणमा परी ७२ जनाको मृत्यु भएको थियो भने इजरायली बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ६ सय २० नाघेको थियो ।
इजरायलले गाजामा पनि आक्रमण जारी राखेको छ जसमा कम्तीमा १५ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

गाजामा इजरायली युद्धमा कम्तीमा ४१ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ भने ९६ हजार ९२ जना घाइते भएका छन् ।

इजरायलमा अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा १ हजार १ सय ३९ रहेको छ भने २ सय भन्दा बढी लाई बन्दी बनाइएको छ ।