काठमाडौं - इजरायलले बेरुतमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका एक कमाण्डरको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बेरुतमा थप छ जनाको मृत्यु भएको र इजरायली सेनाले हिजबुल्लाहका एक वरिष्ठ कमाण्डरको हत्या गरेको दाबी गरेसँगै इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण जारी छ ।

आईडीएफले यसअघि मिसाइल र रकेट प्रणालीको नेतृत्व गर्ने हिजबुल्लाहका कमाण्डर मोहम्मद अल–कुबैसीलाई मारेको बताएको थियो ।
इजरायली आक्रमणमा परी ५० बालबालिकासहित ५६० भन्दा बढीको मृत्यु भएको पनि समाचार छ ।

दक्षिणी लेबनानबाट हजारौं मानिसहरू सुरक्षित ठाउमा गईरहेका छन् ।  बन्द विद्यालयहरू अस्थायी आश्रयस्थलको रूपमा प्रयोग गरिएको बताईएको छ । 
इजरायलले हिजबुल्लाहबाट खतरा हटाउने र विस्थापित बासिन्दालाई उत्तरी इजरायलमा फर्काउने लक्ष्य राखेको बताएको छ ।

हिजबुल्लाहले भने इजरायली 'आक्रमण' को प्रतिरोध गरिरहेको र गाजामा प्यालेस्टाइनीहरूसँग ऐक्यबद्धता जनाउँदै आएको बताएको छ ।
उता न्यूयोर्कमा विश्वका नेताहरूको बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडनले संयुक्त राष्ट्रसंघको महासभामा पूर्ण युद्ध कसैको हितमा नभएको बताएका छन्।