काठमाडौं - मध्यपश्चिम विश्वविद्यालय (एमयू)ले विश्वका प्रमुख भाषाहरु पढाउने भएको छ। अंग्रेजी, चिनियाँ, अरबियन, फ्रेन्च, स्पेनिस र रसियन भाषाहरुको पठनपाठन गर्न लागिएको विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले बताए। यस्तै कोरियन, जापानिज र जर्मन भाषा पनि पढाइ हुनेछ।
पछिल्लो समय जापान, कोरिया र जर्मन लगायतका देश नेपाली युवाहरुको पहिलो रोजाइमा पर्दछन्। यी देशमा नेपालीहरु अध्ययन तथा रोजगारीका लागि जाने गरेका छन्। त्यस्तै ग्रिक, ल्याटिन, संस्कृत र नेपाली भाषाको पनि पढाइ हुनेछ। विश्वको संस्कृति र सभ्यतालाई विश्वभर चिनाउने उद्धेश्यले भाषाको पढाइ सुरु गर्न लागिएको विश्वविद्यालयले जनाएको छ।
प्राज्ञिक ज्ञान तथा सीप आर्जनका लागि छुट्टाछुट्टै हिसावमा पठनपाठन हुनेछ। शैक्षिक कार्यक्रम अन्तरगत सेमेष्टर प्रणालीमा पढाइ हुनेछ भने वैदेशिक रोजगारीमा जानका लागि विशेष प्याकेजमा पठनपाठन हुनेछ। सम्बन्धीत भाषा सिकेपछि विश्वविद्यालयले प्रमाणपत्र उपलब्ध गराउने छ। न्यूनतम एसएलसी पास गरेका विद्यार्थीले भाषाहरु पढ्न पाउने छन्। विश्वविद्यालयले पहिलो चरणमा कोरियन भाषाबाट पठनपाठन सुरु गर्नेछ। कोरियन भाषाको पठनपाठनका लागि भर्ना लिन आवेदन माग गरिएको विश्वविद्यालय अन्तर्गतको विश्वप्यापी भाषा तथा व्यवसायिक सीप विकास केन्द्रका निर्देशक चित्रबहादुर खत्रीले जानकारी दिए।
कोरियाका दुई जना प्राध्यापकले कोरियन भाषा पढाउने छन्। दुबै जना कोरियन प्राध्यापक सुर्खेत आइपुगेका छन्। वर्ष दिनभित्रै अन्य भाषाको पनि पठनपाठन थालिने छ। विश्वविद्यालयले अन्य भाषाका पाठ्यक्रम तयारी गरिरहेको छ। राजदुतावासको सहयोगमा अन्य भाषाको पाठ्यक्रम तयारी भइरहेको निर्देशक खत्रीले जनाए। अंग्रेजी भाषाको अध्ययन/अध्यापनका लागि अमेरिकी राजदूतावाससँग सहकार्य गरिएको छ। कोरियन भाषालगत्तै अंग्रेजी भाषाको पठनपाठन पनि सुरु गर्ने विश्वविद्यालयको तयारी छ। विश्वविद्यालयले विभिन्न व्यवसायिक सीप पनि सिकाउने भएको छ। विश्व भाषा तथा व्यावसायिक सीप विकास केन्द्रबाट विश्वका भाषाहरुको पठनपाठन र व्यवसायिक सीप पनि सिकाइने विश्वविद्यालयका उपकुलपति प्रा. डा सिंहले जानकारी दिए।
आधुनिक विश्वको मागलाई मध्यनजर गरेर विश्वका भाषासँगै व्यवसायिक सीप सिकाइने छ। केन्द्रले पहिलो चरणमा लेखा, परराष्ट्र र कम्प्युटर सम्बन्धि सीपहरु सिकाउने छ। यसबाट सीप भएका तर प्रमाणपत्र नभएका व्यक्तिहरुले बढी लाभ लिनेछन्। यस्ता व्यक्तिको हकमा सीप परीक्षण गरेर मात्रै विश्वविद्यालयले भर्ना लिनेछ। निश्चित तह पास गरेपछि विश्वविद्यालयले प्रमाणपत्र उपलब्ध गराउने छ। सीप विकास कार्यक्रम अन्तरगत द्वन्द प्रभावित र मुक्तकमैया तथा कमलहरीले बढी प्राथमिकता पाउने विश्वविद्यालयले जनाएको छ। न्यूनतम शुल्कमा व्यवसायिक सीप र भाषाको पठनपाठन हुनेछ।
0 comment