काठमाडौं - कञ्चनपुरको बेदकोट नगरपालिका- ४ बैतोडामा चौधर नदीले कटानी गर्न थालेपछी बस्ती नै जोखिममा पर्न थालेको छ । 

बिहीबारदेखिको निरन्तर वर्षासँगै नदीमा आएको बाढीले दुई दर्जन बढी परिवारको झन्डै तीन बिघा जग्गा कटानी गरी बगरमा परिणत गरेको छ । 

टोलकै ज्ञानज्योति बालविकास केन्द्रको जग्गासमेत कटानी गरेको छ । 

नदी तटीय क्षेत्रमा बसोबास गर्ने धनगिरी ओडले सात कट्ठा जग्गामा लगाइएको धानबाली सहित खेत बगाएको बताउनुभयो ।

बाढीबाट जोगिन आफन्तको शरणमा जानुपर्ने अवस्था सृजना भएको ओडले बताउनुभयो । 

युक्त टोलमा अधिकांश आर्थिक रूपमा विपन्न दलित समुदायका परिवारको बसोबास रहेको छ । 

तटबन्धको प्रबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले जग्गा कटानी गर्दै आएको छ । यसै वर्षायाममा एक दर्जन बढी परिवारको जग्गा कटान भइसकेको समाजसेवी राजुराम सार्कीले बताउनुभयो ।

तटबन्ध निर्माणका लागि पटकपटक नगरपालिका कार्यालयलाई गुहार्दै आएपनि अहिलेसम्म सुनवाइ हुन नसकेको उहाँले बताउनुभयो।

सार्कीले धेरै परिवारको जग्गा बगेको र बचेको जग्गा पनि बगरमा परिणत भएको गुनासो पोख्नुभयो ।

यसैगरी, कृष्णपुर नगरपालिका- २ बङ्कस्थित बादी समुदायको बस्ती रहेको प्रगति टोलमा पनि वनहरा नदीले कटानी गरिरहेको छ । 

वनहरा विपद् व्यवस्थापन समितिका अध्यक्ष पदम रानाले नदीले धार परिवर्तन गरी बादी बस्तीतर्फ सोझिएर कटानी गर्न थालेको जानकारी दिनुभयो ।

वडाअध्यक्ष अर्जुन साउदले बस्ती जोगाउन तटबन्ध निर्माणका लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराइने बताउनुभयो । 

उहाँले तटबन्ध निर्माण गर्न वडाको बजेटले धान्न नसक्ने भन्दै अन्य निकायलाई गुहार्नुको विकल्प नभएको बताउनुभयो ।