काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो । 

प्रदेशसभाको ९३ सदस्यमध्ये ८३ जना बैठकमा उपस्थित हुनुहुन्थ्यो ।  विश्वासको मत प्रक्रियामा दुई प्रदेशसभा सदस्य तटस्थ रहनुभएको र बाँकी अनुपस्थित रहनुभएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिनुभयो । 

नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिनुभएको हो। माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।  

सत्ता गठबन्धन परिवर्तन भएपछि कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारमा काँग्रेस सहभागी भएको छ ।

कोशी प्रदेशसभामा नेकपा (एमाले)का ४०, कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, राप्रपाका छ, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सदस्य छन् ।  

गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिनुभएको थियो ।