काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गर्नुभएको छ । 

एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) कंग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आउनुभएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले विश्व खेलक्षेत्रमा नेपालबारे प्रचार गर्न आह्वान गर्नुभयो । 

राष्ट्रपति पौडेलले नेपालमा साहसिक र हाई अल्टिच्युड खेल, अल्ट्रा दौडको धेरै सम्भावना रहेको जनाउँदै एभरेष्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाइसकेका स्मरण गराउनुभयो । 

हालै पेरिसमा सम्पन्न पारा ओलम्पिकमा पलेशा गोबर्द्धनले तेक्वान्दोमा पदक जितेर देशको गरिमा बढाएको उहाँले जानकारी गराउनुभयो ।

नेपालको परिचय सगरमाथा र बुद्धको जन्मस्थल मात्र नभइ खेलकुद क्षेत्र पनि भएको सन्देश विश्व समुदाय समक्ष प्रवाह गर्न आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाई थियो । 

उहाँले राष्ट्रका उत्कृष्ट खेलाडीलाई निरन्तर सम्मान गरेर एआइपीएस एसियाले असल परम्परा स्थापित गरेकामा त्यसको सरहाना गर्नुभयो ।