काठमाडौं - कञ्चनपुरको भीमदत्त नगरपालिका- १२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् ।

महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो । 

आज दिउँसो भीमदत्त- १२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका हुन् । 

तीमध्ये सौरभको शव फेला परेको छ । दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । 

महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् । 

लगातारको वर्षापछि महाकालीमा पानीको बहाव बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।