काठमाडौं - ‘बीस वर्षमा नेपाललाई अर्गानिक देश बनाउँछु,’ ललितपुरको जाउलाखेलमा रहेको डीएनएन गेष्टरुममा कृषिविद् मदन राईले उत्साहित हुँदै सुनाए, ‘म त्यसको जिम्मेवारी लिन्छु । दस वर्षमै अर्गानिक देश बन्छ । तर, २० वर्षमा नेपाल विश्वकै पहिलो अर्गानिक देश बन्नेछ ।’ पहिलो अर्गानिक देश हुनेबित्तिकै सालिन्दा पाँच करोड पर्यटक नेपाल आउँछ । सर्वोच्च शिखर सगरमाथा नेपालमै छ । नेपाल धर्मको त्रिवेणी पनि हो । पाँच करोड पर्यटक भित्रिनेबित्तिकै १० करोड मानिसले रोजगारी पाउँछन् । नेपालमा तीन करोड जनसंख्या छ । कामदार नपुगेपछि विदेशबाट झिकाउनुपर्छ । रासायिक मल र कीटनाशक औषधि बिक्री गर्ने नेपालकै पहिलो अधिकृत तथा कृषिविद् मदन राईसँग ‘किसानलाई धनी कसरी बनाउन सकिन्छ’ भनेर रातोपाटीका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

‘प्रतिशतका आधारमा संसारमा सबैभन्दा बढी किसान भएको देश नेपाल होला,’ कृषिविद् राईले दाबी गरे, ‘नेपाल अनपढ किसानप्रधान देश पनि हो । पढ्यो भने हलो जोत्न पर्दैन भन्ने मान्यता छ । पढ् है पढ्, पढिनस् भने हलो जोत्ने होलास् भन्नेको बाहुल्य छ । अनि कसरी शिक्षित व्यक्ति खेतीकिसानमा आकर्षित होलान् ?’

हलो जोत्नु भनेको उब्जाउने संकेत हो । वनस्पति तथा धातुको उत्खनन/सम्भार गरेर त्यहाँबाट उत्पादित उब्जनीबाट मानिसले ज्यान बचाएका छन् । पढेलेखेकाले हलो जोत्न नहुने भएपछि ५० काटेका, त्यो पनि अनपढले मात्रै खेतीकिसानी गर्ने भए । अनपढ किसानको संख्या दिनदिनै घट्दै छ । यसैले सालिन्दा खेतबारी बाँझिदै गएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरू स्वदेश फर्केपछि कृषितिर आकर्षित छन् । उब्जाएर देशलाई धनी बनाउन कृषिभन्दा अर्को आधार नभएको राईको जिकिर छ ।

कोठामा बसेर किताब पढ्ने ८४ लाख नेपालीलाई भात खान आउँछ, पकाउन आउँदैन । लुगा लगाउन आउँछ, बनाउन आउँदैन । उब्जनी नगरी उपभोग गर्न पाइँदैन । राणाकालदेखि नै उब्जाउने र उपभोग गर्नेबीच स्तर निर्धारण गरियो । उब्जाउने काम त्यति सजिलो छैन । उब्जाउनेलाई सानो र बसिखानेलाई ठूलो बनाइयो । मानिसले उब्जाउने चीज ८० प्रतिशत वनस्पति हुन् । २० प्रतिशत धातुले ओगटेको छ । उद्योग वनस्पतिमा आधारित छन् । उद्योग भनेको खेती हो । खेती भनेको वनस्पतिको स्याहार, सम्भार गरेर मानिसलाई काम लाग्ने वस्तु उब्जनी गर्ने हो । चाउचाउ, बिस्कुट, राइस मिल, फ्लावर मिल, जाँड–रक्सीदेखि चुरोट, कपडा, कागज कारखानालगायत सबै वनस्पति हुन् ।

उद्योगधन्दाका आधार भनेको कृषि नै हो । तिनीहरूका लागि कच्चा पदार्थ उत्पादन भएन भने उद्योग चल्दैन । कृषि भनेको मानिसको समृद्धिको मूल आधार हो । कृषिका लागि नेपाल सम्भावनै सम्भवाना बोकेको मुलुक हो । यहाँको हावा त्यत्तिकै राम्रो छ । हावा भनेको चिसो र तातो अवस्था हो । हामीसँग न्यानो पनि छ । करिब १८ प्रतिशत भू–भाग तराई–मधेस छ । करिब ६० प्रतिशत पहाडै पहाड छ । जहाँ चिसो हावा पाइन्छ । त्यसपछि अत्यधिक चिसो हुने हिमाली क्षेत्र पनि हामीसँग छ । वनस्पतिले अत्यधिक चिसो, ठिकठिकै चिसो र न्यानो मन पराउने हुन्छन् । पृथ्वी भनेको न्यानो, चिसो र अत्यधिक चिसो ठाउँ न हो । यस हिसाबले नेपाल सिंगो पृथ्वी हो । त्यतिमात्रै होइन, नेपालमा पिउनेपानी त्यत्तिकै छ । जमिन त्यत्तिकै राम्रो छ । जमिन गरा–गरा (ट्यारेस) परेको छ । नेपाल गराको देश पनि हो । पुर्खाले हजारौं वर्ष मिहिनेत गरेर बनाएको गरा त्यत्तिकै सुन्दर छन् ।

माटो, पानी र हावा प्रयोग गरेर हामीले खेती गरेपछि देश कृषिप्रधान बन्नेछ । ‘खेतीकिसानीका लागि माटो, पानी र हावा चाहिने न हो,’ उनको तर्क छ, ‘जल र मल अभाव छैन । केवल प्रयोग गर्न जान्नुपर्छ । म त भन्छु मल र जल आधारभूत कुरा हुन् ।’ किसानले निम्नलिखित भूमिका निर्वाह गरे धनी बन्न समय लाग्दैन ।

पानी भनेको सम्पत्तिको खानी हो । सुन र पेट्रोलभन्दा हजार गुना बढी पानीको महत्व छ । पानीले नै पेट्रोल निकाल्ने हो । पेट्रोल भनेको वनस्पति न हो । वनस्पति पानीविना हुँदैन । नेपालमा पानी नभएको ठाउँ छैन । कम्तीमा पनि तीन/चार महिना पानी भइहाल्छ । बर्खामा वर्षा हुन्छ । बाह्रैमास पानी नहुने ठाउँमा बर्खाको पानी संकलन गरेरसमेत खेतीपाती गर्न सकिन्छ ।

(१) जमिन : उत्पादनको पहिलो सर्त जमिन हो । हिजोआज एक रोपनी जग्गा हुने पनि किसान, दुई रोपनी जग्गा हुनेलाई पनि किसान नै भनिन्छ । सरकारले ७५ रोपनीभन्दा बढी जमिनमा खेतीपाती गर्न दिँदैन । धेरै खेती गर्छु भन्नेलाई समेत बन्देज लगाएको छ । २० रोपनीभन्दा थोरै जमिनमा खेती गर्नेलाई किसान भन्न उचित हुँदैन । त्यति जग्गाबाट उत्पादित अन्नबालीले सम्बन्धित किसानको परिवारलाई खानसमेत पुग्दैन । पहाडमा ५० रोपनी र तराईमा पाँच बिघा नभई किसानलाई व्यावसायिक खेती गर्न प्रोत्साहित गर्न हुँदैन । किसानले भाडामै लिएर भए पनि जग्गाको प्रशस्त व्यवस्था गर्नैपर्छ । भाडामा पाइएन भने खेती गर्ने–गर्नेबीच मिलेर खेती गर्न सकिन्छ । ‘कोअपरेटिभ फार्मिङ’लाई प्रोत्साहित गर्नुपर्छ । यन्त्रको उपलब्धता हेरेर जमिनको हदबन्दी तोक्नुपर्छ । जमिनको क्षेत्रफल ठीक भएन भने नाफा हुँदैन । मिहिनेत गरे पनि फाइदा हुँदैन ।

(२) पानी : पानी भनेको सम्पत्तिको खानी हो । सुन र पेट्रोलभन्दा हजार गुना बढी पानीको महत्व छ । पानीले नै पेट्रोल निकाल्ने हो । पेट्रोल भनेको वनस्पति न हो । वनस्पति पानीविना हुँदैन । नेपालमा पानी नभएको ठाउँ छैन । कम्तीमा पनि तीन/चार महिना पानी भइहाल्छ । बर्खामा वर्षा हुन्छ । बाह्रैमास पानी नहुने ठाउँमा बर्खाको पानी संकलन गरेरसमेत खेतीपाती गर्न सकिन्छ ।

(३) मल : हामीसँग मल प्रशस्त छन् । त्यो पनि अर्गानिक । नेपालका पहाड र तराईमा धानलाई मल हालिँदैन । तर पनि उत्पादन घट्दैन । त्यो भलपानीको देन हो । बर्खाको भलपानी मलिलो हुन्छ । त्यही भलपानी खेतमा हालिन्छ ।

हामी भलपानी छेक्न जाँगर चलाउँदैनौँ । चैत, वैशाखको भलपानी छोपियो भने १० मुरी उब्जनी हुने खेतबारीमा २० मुरी हुन्छ । भलपानी कसरी छोप्ने ? ‘सजिलो छ,’ कृषिविद् राईले सुझाए, ‘बाटोभरि गोबर, पत्कर, सुली हुन्छ । पानी पर्दा बगेर जान्छ । त्यो कहाँबाट बग्दै छ, पहिचान गरी सम्बन्धित किसानले आफ्नो बारीमा डोर्याउनुपर्यो । बारी भिरालो भए पनि खेतैजस्तो बनाउनुपर्दैन । प्रत्येक गरामा भलपानी जम्न सक्ने भयो भने पुग्छ ।’ भलपानी जम्नबित्तिकै जोतिहाल्नुपर्छ । नत्र उडेर जान्छ । जोतेपछि माटोमा मिसिन्छ । त्यसपछि फेरि एकपटक भलपानी हाल्न सके बारीमा समेत मल हाल्न पर्दैन ।

खेतमा त झन् सजिलो छ । कुलो, नहरबाट भलपानी डोर्याएर खेतमा हाले भइगयो । पानी पर्यो भनेर हात बाँधेर घरभित्र बस्न भएन । पानी पर्नासाथ भलपानी छेक्ने संस्कार विकास गर्ने हो भने साबिक जमिनबाट उत्पादन दोब्बर हुन्छ ।

मलका लागि पत्कर, सोत्तर त्यत्तिकै उपयोगी मानिन्छ । हिमाल, पहाड र तराईमा त्यत्तिकै खेर गइरहेको छ । नेपालमा ५५ लाख भैँसी, ७५ लाख गाई छन् । भैँसी र गाईले मात्रै एक दिनमा कम्तीमा आठ करोड लिटर पिसाब निकाल्छ । त्यति पिसाबले मात्रै हजारौँ हेक्टर जमिनलाई मल पुग्छ । हामी संकलन गर्दैनौ । सबै उडेर जान्छ । सबै मिथेन र नाइट्राइट भएर आकाश डढिरहेको छ । गोबर पनि त्यत्तिकै मात्रामा हुन्छ । एक दिनको कम्तीमा पाँच करोड किलो मल पनि घामले तताएर उडाइरहेको छ । सोलिडलाई हिट गरे लिक्विड हुन्छ । लिक्विड हिट गरे ग्यास बन्छ । गोबरमा ९० प्रतिशत पानी हुने भएकाले त्यो लिक्विड हो । गोबरमा भएको नाइट्रोजन उडेर गएपछि काम लाग्दैन । काम लाग्ने चीज उडेर गएपछि मल नभएर छोक्रामात्रै बाँकी रहन्छ । त्यो पनि बारीमा लगेर महिना दिन त्यत्तिकै राखिन्छ । त्यसो भएपछि मलले मलको काम गर्दैन । गोबर, सोत्तर र पत्करमिश्रित मल एक नम्बर हुन्छ ।

पत्करले नेपालका हजारौँ हेक्टर वन डढेलो लगाउँछ । खरानीजति हिन्दमहासागरमा पुग्छ । एक हेक्टर वनमा झन्डै दुई टन पत्कर निकाल्न सकिन्छ । पत्करलाई कम्पोस्ट मल बनाउन सकियो भने खेती सप्रिनुका साथै डढेलो रोक्न सकिन्थ्यो । यसैगरी, दैनिक गाई, भैँसीको पिसाब र गोबरमात्रै संकलन गरी प्रतिहेक्टर २० टन गोबर मल र २० टन पिसाब मल प्रयोग गरेमा १० टन अन्नबाली उत्पादन हुन्छ । ५० टन तरकारी सजिलै फलाउन सकिन्छ । उत्पादनमा यति धेरै सम्भावना हुँदाहुँदै पनि किसानले ध्यान दिएका छैनन् ।

बीउको जात छान्न जान्नुपर्यो । उखान छ– हुलमुलमा जिउ जोगाउनू, अनिकालमा बीउ । बीउ नै उत्पादनको स्रोत हो । हामी सबै बीउ हौँ । खेती भनेको बीउ हो । तसर्थ, बीउ अत्यन्तै महत्वपूर्ण मानिन्छ । सर्वप्रथम शुद्ध बीउ हुनुपर्यो । बीउ भनेको जात हो । रोप्न लागेको जात, धेरै फल्ने जातमा विचार पुर्याउनुपर्छ ।

(४) यन्त्र : किसानलाई यन्त्र नभई हुँदैन । गोरु जोतेर खेती गर्दा मानिस पनि गोरु हुन्छ । गोरुले एक दिनमा तीन रोपनीभन्दा बढी खेतबारी जोत्न सक्दैन । सानो ट्याक्टरले दैनिक नौ रोपनीसम्म जोत्न सक्छ । गोरुलाई घाँसपानी खुवाउनुपर्छ । जोतिसकेपछि ट्याक्टरलाई बन्द गरेर राखे पुग्यो । पहाडमा कसरी सम्भव होला सानो ट्याक्टर प्रयोगमा ल्याउन ? उनी भन्छन्, ‘हिजोआज सानो ट्याक्टरसमेत निर्माण भइसकेको छ । पार्टपार्ट खोलेर पहाड पुर्याउन सकिन्छ । रोबोर्टमात्रै होइन, ड्रोन टेक्नोलोजी आइसकेको समयमा पहाडमा सानो ट्याक्टर प्रयोग गर्न असम्भव छैन ।’

‘पहाडमा समेत सानो ट्याक्टरलाई व्यापकीकरण गर्नुपर्छ,’ उनको मान्यता छ, ‘यो राज्यको काम हो । अहिलेसम्म उपलब्ध प्रविधि परिमार्जन गरेर हिमाल, पहाड र तराईमा यन्त्र प्रयोग गर्नुपर्छ ।’ हुन पनि हो– पछिल्लो समय पोर्टेबल यन्त्र आइसकेका छन् । रोप्ने, गोड्ने र काट्ने फरक–फरक यन्त्र बनेका छन् । तसर्थ, गोरु जोतेर व्यावसायिक खेती गर्न सम्भव छैन । ‘गोरु जोत्नुपर्छ,’ कृषिविद् मदन राईको तर्क छ, ‘तर, पर्यटकलाई देखाउनमात्रै । निश्चित ठाउँमा ५/६ रोपनी जग्गामा संग्रहालय बनाएर साँच्चिकै गोरु जोतेको दृश्य देखाइयो भने लाखौं पर्यटक हेर्नचाहिँ आउलान् ।’ विकसित देशमा किसानले ट्याक्टर छाडेर रोबर्टले जोत्न थालिसके ।

(५) बीउ : बीउको जात छान्न जान्नुपर्यो । उखान छ– हुलमुलमा जिउ जोगाउनू, अनिकालमा बीउ । बीउ नै उत्पादनको स्रोत हो । हामी सबै बीउ हौँ । खेती भनेको बीउ हो । तसर्थ, बीउ अत्यन्तै महत्वपूर्ण मानिन्छ । सर्वप्रथम शुद्ध बीउ हुनुपर्यो । बीउ भनेको जात हो । रोप्न लागेको जात, धेरै फल्ने जातमा विचार पुर्याउनुपर्छ ।

(६) पुँजी : सम्बन्धित किसानले पुँजीबारे ध्यान दिनुपर्छ । पुँजी कहाँ पाइन्छ ? पुँजीविना केही काम सम्भव छैन । ट्याक्टरदेखि बीउ किन्नसम्म पुँजी चाहियो । ढुवानी गर्न पुँजी चाहियो । पुँजीको सहज व्यवस्था कहाँ छ ? सरकारमा कि सहकारीमा छ, पहिचान गर्नुपर्यो । पुँजी छैन भने माग्नुपर्यो । पुँजी नभई यन्त्रीकरण सम्भव छैन, यन्त्रीकरणविना उत्पादन सम्भव छैन, उत्पादनविना समृद्धि सम्भव छैन ।

(७) व्यवस्थापन/योजना : सबै कुरा चुस्त–दुरुस्त भए पनि व्यवस्थापन ठीक भएन भने किसानलाई धनी बनाउन सकिँदैन । ५० रोपनीमा तरकारी, ५० रोपनीमा किबी, ५० रोपनीमा माछापालन र ५० रोपनीमा गाईपालन गरेँ भने मेरो उत्पादन यति हुन्छ । उत्पादित वस्तु त्यहाँसम्म लगेर बेच्छु, यस्तो तरिकाले बेच्छु भनेर योजना बनाउनैपर्छ ।

व्यवस्थापनमा प्राविधिक ज्ञान जरुरी छ । प्राविधिक ज्ञानबारे सम्बन्धित किसान निरन्तर ‘अपडेट’ हुनुपर्छ । के–कस्ता प्रविधि भित्रिइरहेका छन् भनेर खोजी गर्नुपर्छ । उत्पादन, व्यवस्थापनदेखि बजारसम्मको प्राविधिक ज्ञानबारे पूर्ण जानकारी हुनैपर्छ । अर्को किसानले त्यही उत्पादन प्याकेजिङ गरेर बजार पुर्याइसक्यो तर आफ्नो उत्पादन राम्रो हुँदाहुँदै बारीमै छ भने उसले गरिखाँदैन ।

यसैगरी, सम्बन्धित किसानले खेती लगाएपछि पानी र मल कहिले हाल्ने, रोग, कीरा लागेको छ कि छैन भनेर समय–समयमा विचार पुर्याउनैपर्छ । हिजोआज पनि कतिपय किसानले ‘भए होस्, नभए नहोस्’ भन्ने गर्छन् । व्यावसायिक किसानले त्यसो गर्नुहुँदैन ।

(८) बजार : किसानले बजारबारे जान्नैपर्छ । बजारसम्म कसरी पुग्ने ? बजारको मागसमेत बुझ्न जरुरी हुन्छ । उदाहरणका लागि पूर्वी पहाडबाट मोरङको विराटनगरमा काउली थुप्रियो । २० रुपैयाँ केजी नबेचे आफूलाई फाइदा हुँदैन । किन्नेले दुई रुपैयाँ केजी पनि हाल्दैनन् । परेन आपत । स्थानीय खोलामा फालौँ फोहोर भयो भन्दै उल्टै कारबाहीमा परिएला भन्ने डर । त्यसो भएपछि पुनः ढुवानी गरेर अर्को ठाउँ लैजानुको विकल्प हुँदैन ।

त्यही काउली सिलगुडीमा ५० रुपैयाँ केजी बिक्री भइरहेको छ भन्ने पूर्वजानकारी भएमा उसले पहिल्यै त्यतै लैजान्छ । व्यावसायिक खेती गर्नेले ‘मार्केट इन्टेलिजेन्स/इन्फर्मेसनबारे जानेन भने दुःख पाउँछ । त्यसपछि नजानी नहुने भनेको मूल्य साङ्लो ‘भ्यालु चेन’ हो । ‘भ्यालु चेन’ लाई सिधा तरिकाले यसरी बुझ्न सकिन्छ । जस्तै, माछा व्यवसायीले माछा पाल्यो । तर, ग्राहक किन्न आएनन् भनेर चिन्ता मान्नु पर्दैन । त्यसो भए बजारसम्म पुर्याएर जिउँदै बेच्दा कि पकाएर बेच्दा बढी मूल्य आउँछ ? त्यो थाहा पाउनु भनेको ‘भ्यालु चेन’ हो ।

(९) रोग/कीरा : बिरुवा प्राणी भएकाले उसलाई रोग/कीरा लाग्छ । रोग/कीराले आक्रमण गरिरहन्छ । गोलभेँडा व्यवसायीले खेती गर्नअघि गोलभेँडामा कुन–कुन रोग लाग्छ भनेर पहिल्यै थाहा पाउनुपर्छ । रोग लाग्न नदिन के गर्ने भनेर पहिल्यै सचेत हुनुपर्छ ।

पछिल्लो समय गोलभेँडा खेती गर्ने र कुखुरा पाल्नेहरू सम्बन्धित व्यवसायबारे अज्ञानताले लगानी डुबाइरहेका छन् । ‘नयाँ जग्गामा पहिलोपटक टनेल बनाएर गोलभेँडा लगाउनुभयो भने सय प्रतिशत नाफा दिन्छ,’ कृषिविद् राईको बुझाइ छ, ‘त्यही टनेलमा दोस्रोपटक गोलभेँडा लगाउनुभयो भने नाफा ५० प्रतिशतमा झर्छ । तेस्रोपटक लगाउँदा ३० प्रतिशत नाफा होला । तर, त्यही टनेलमा चौथोपटक गोलभेँडा लगाउँदा नाफा होइन लगानीसमेत उठ्दैन ।’ कारण ? पहिलोपटक लगाउँदा त्यहाँ रोग/कीरा केही थिएन । तसर्थ, १०० प्रतिशत नाफा भयो । दोस्रोपटक त्यहीँ गोलभेँडा लगाउँदा पहिल्यै केही रोग/कीरा पसिसकेका थिए । त्यसले आक्रमण गर्ने नै भयो । तेस्रोपटक लगाउँदा रोगैरोग, कीरैकीरा भएपछि उसले गोलभेँडा लगाउनसाथ आक्रमण गर्न थालेपछि उत्पादनमा ह्रास आउने नै भयो ।

कुखुरापालकको समस्या पनि गोलभेँडासँग मेल खान्छ । कुखुरापालकले लेयर एक र ब्रोइलर भए तीन लट उत्पादन गरेपछि गोठ सारिहाल्नुपर्छ । नत्र रोग लाग्न थालिहाल्छ । रोग लागेपछि औषधि दिँदादिँदा कुखुरा विषालु हुन्छन् । रोग त निको पार्न सकिएला तर खर्च बढ्छ । खानेकुरासमेत विषालु हुन्छ ।

(१०) सुरक्षा : बाली सुरक्षा त्यत्तिकै महत्वपूर्ण मानिन्छ । चोरी, डकैतीबाट बाली बचाउनैपर्छ । बाली राम्रो हुनासाथ चोरी, डकैती हुन सक्छ । किसानले जुन ठाउँमा खेती गर्दै छ, उसले सरकारलाई जानकारी गराउनुपर्छ । किसानले बाली सुरक्षार्थ बीमा गर्नुपर्यो । बीमा गर्न खर्च लाग्ला तर पाँच लाख आम्दानी हुने ठाउँमा दुईदेखि १० हजार रुपैयाँसम्म खर्च गरे फरक पर्दैन ।

प्रकृति हाम्रा लागि वरदान हो र अभिसाप पनि । घाम नभई हुँदैन, धेरै घाम भयो भने खडेरी लाग्छ । पानी नभई हुँदैन, धेरै भयो भने बगाउन बेर लगाउँदैन । विशेषगरेर रोग/कीरा र मौसम परिवर्तनले गर्दा किसानलाई मर्कामा पार्न सक्छ । तसर्थ, उसले खोजीखोजी बीमा गर्नुपर्छ । खेती गर्नुअघि कुन–कुन खेतीको बीमा छ भनेर बुझ्न आवश्यक छ । नभएको बालीको बीमा व्यवस्था गरिदिनुपर्यो भनेर सरकारलाई घचघच्याउन पछि पर्नुहुँदैन ।

किसानले यति भूमिका निर्वाह गरेपछि लगाएको बालीनालीले उत्पादन नदिने कुरै छैन । वनस्पति, पशु, पक्षी, कीरा वा कीटाणुले आम्दानी दिन्छ दिन्छ । खेती भनेको बिरुवा हो । दोस्रो पशु हो । तेस्रो पन्छी । कीरा भनेको मौरी हो । कीटाणु भनेको च्याउ । जल भनेको माछा भयो । यी सबैले बिरुवा खान्छन् । आधार त बिरुवा हो । त्यसकारण बिरुवा जान्न जरुरी छ । बिरुवा जान्नेमात्रै सक्कली किसान हुन् । उनै त हुन्– धनी बन्न सक्ने ।