काठमाडौं - चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान प्रसन्न छन् ।  राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि उनीहरू मक्ख परेका हुन् । 

आर्थिक वर्ष २०८०- ८१ मा गौशाला- १ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदान बापतको रकम पाएका हुन् । 

उक्त उद्योगलाई गत वर्ष उखु बेचेका १४ हजार ४४४ किसानका खातामा उनीहरूले बुझाएका उखुको परिमाण अनुसार प्रति क्विण्टल ७० का दरले अनुदान रकम दाखिला भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । किसानलाई २० करोड ३३ लाख १५ हजार ८११ अनुदान दिइएको छ । 

कार्यालय प्रमुख बालकृष्ण अधिकारीका अनुसार अनुदान रकम बैंक खाता भएका सबै किसानले पाएका र नहुनेले पनि धमाधम खाता खोल्न थालेका छन् । रकम दाखिलाको क्रम जारी रहेको उहाँले बताउनुभयो ।

खातामा रकम आएको खबरले किसान दङ्ग छन् । “ दसैँमा कसरी गर्जो टारौँ भन्ने थियो, अनुदान रकम आएपछि प्रसन्न छु”, भङ्गाहा- ४ का उखु किसान अरुण गिरी भन्नुहुन्छ, “ हामीलाई दसैँ उपहार पाएजस्तै भएको छ ।” गिरी जस्तै बर्दिबास- ९ पशुपतिनगरका अर्का किसान रामविनोद महतोले पनि चाडपर्व अघि अनुदान रकम पाइँदा राहत मिलेको बताउनुभयो ।

महोत्तरीमा दुईवटा चिनी उद्योग सञ्चालनमा रहेका भए पनि दुई वर्ष अघि मात्र सञ्चालनमा आएको सिद्धि विनायक चिनी उद्योगले गत वर्ष प्राविधिक गडबडीले उखु क्रसिङ गर्न सकेन । एभरेष्ट चिनी उद्योगले भने २९ लाख चार हजार ५११ क्विन्टल उखु क्रसिङ गरेर दुई लाख ६४ हजार ५११  क्विन्टल चिनी उत्पादन गरेको थियो ।

सरकारले पछिल्ला तीन वर्षयता उखुको अनुदान रकममा प्रति क्विन्टल पाँच बढाएर ७० पुर्‍याएको हो । उखुको समयमा नै भुक्तानी तथा सरकारबाट अनुदान पनि पाएका किसान उखु खेति विस्तार गर्ने योजनामा रहेको उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो । 

हाल महोत्तरीमा दश हजार बिघामा उखुखेती हदै आएको छ।