काठमाडौं - रामपुरका खेतबारीमा लहलहाएका काउली, बन्दा, साग, मुलामा झुसिलकिराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनका लागेका किसानहरू नराम्ररी पिरोलिएका छन् ।
रामपुर नगरपालिका- ६ प्याक्लुककी अगुवा किसान राधिका बस्यालले काउलीमा झुसिलकिराको प्रकोपले सताएको दुखेसो गर्नुभयो । काउलीका बोट फस्टाएपनि कीराको प्रकोपले फूल लाग्न नपाएको उहाँले बताउनुभयो ।
यसैगरी, रामपुर- ५ स्थित राङभाङमा टिकीसरा गौतमको काउलीमा पनि झुसिलकिराले आक्रमण गरेको छ । व्यावसायिक उत्पादनमा लाग्नुभएकी उहाँ पनि कीराले पिरोलिनुभएको छ । कीराको प्रकोपले उत्पादन नै नहुने हो कि भन्ने चिन्ता लागेको उहाँको गुनासो छ ।
झुसिलकिराको प्रकोप नियन्त्रण गर्न रामपुर नगरपालिका कृषि शाखाले स्थलगत निरीक्षण गरेको छ । पालिकाले किसानलाई निःशुल्क विषादी वितरण गरेको शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो ।
बेमौसमी खेती भएकाले कीराको प्रकोप भएको उहाँले बताउनुभयो । ‘इनामेक्टिन इन्जाइम बेन्जोइड’ विषादी प्रयोग गर्न किसानलाई सुझाव दिइएको उहाँले बताउनुभयो ।
0 comment