काठमाडौं - चितवनको भरतपुरमा सहकारी मार्फत रैथाने बाली कोदो संरक्षण गर्न थालिएको छ । भरतपुर महानगरपालिका- ९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थाले हराउँदै गएको कोदो उत्पादन गर्न सदस्यहरु मार्फत अभियान सञ्चालन गरेको हो ।

सहकारी संस्थामार्फत आइतबार भरतपुर- ८ स्थित ज्योति टोलमा सामूहिक रुपमा कोदो रोपिएको छ । सुरुआतमा बाँझो रहेको आठ कट्ठाको प्लटमा कोदो रोपिएको संस्थाका अध्यक्ष बेदप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

किसानलाई रैथाने बाली कोदो प्रति आकर्षित गर्नका लागि पहिलोपटक सामूहिक रुपमा कोदो रोपिएको हो ।

वडा नं ९ का अध्यक्ष यामलाल कँडेलले पनि रैथाने बाली संरक्षणमा वडा कार्यालय लागिपरेको बताउनुभयो । महानगरपालिकाले नै रैथाने बाली संरक्षणका लागि पहल गरिरहेको भन्दै आगामी दिनमा कोदो संरक्षणका लागि वडा तहबाट पनि काम गरिने उहाँले बताउनुभयो ।