काठमाडौं - तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो । 

त्यस अवधिमा दुई सय किलो चिज उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी उत्पादन भएको केन्द्रका प्रमुख डा राजु कँडेलले जानकारी दिनुभयो ।

केन्द्रले सानन जातको बाख्राको दूधबाट चिज उत्पादन गरेको कँडेलले बताउनुभयो । केन्द्रले सानन जातको बाख्राबाट पाँच हजार सात सय ९१ लिटर दूध उत्पादन गरेको छ । त्यस अवधिमा दुई हजार लिटर दूध उत्पादनको लक्ष्य थियो । 

केन्द्रमा दूध र चिजका लागि सानन जातका बाख्राको माग उच्च रहेको कँडेलको भनाइ छ । उहाँले भन्नुभयो, “बाख्राको दूधमा ल्याक्टोजिन नहुने र प्रतिरोगी हुने भएकाले यसको माग उच्च छ । बाख्राको दूधबाट बनेको चिजको माग पनि उच्च छ ।” यहाँ उत्पादित बाख्राको चिजको माग काठमाडौँ र पोखरामा अत्यधिक रहेको छ, गाईवस्तुको दूधबाट बनेको चिजभन्दा बाख्राको दूधबाट बनेको चिज मिठो हुने भएकाले यसको माग उच्च रहँदै आएको छ”, उहाँले भन्नुभयो ।

केन्द्रले गत वर्ष १५ जिल्लामा सानन जातका बाख्रा वितरण गरेको थियो । चार जिल्लामा बारबारी र ११ जिल्लामा खरी जातका बाख्रा वितरण गरिएको जनाइएको छ । 

केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारि क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध साननसानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ ।