काठमाडौं - युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता चाँडै नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने घोषणा गर्नुभएपछि उहाँको राजीनामा आएको हो । 

कुलेबाको राजीनामाको अनुरोधलाई अर्को पूर्ण बैठकमा सांसद्हरूले छलफल गर्ने संसद्का सभामुख रुस्लान स्टेफनचुकले आफ्नो फेसबुक पेजमा बताउनुभएको छ । 

लभिभमा रातभर भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु र ३५ जना घाइते भएका बेला विदेशमन्त्रीको राजीनामा आएको सहरका मेयर एन्ड्री सदोवीले बुधबार बिहान बताउनुभयो । उहाँले मृत्यु हुनेमा एक बालक र एक चिकित्साकर्मी रहेको र घाइतेहरूको अवस्था चिन्ताजनक रहेको जानकारी दिनुभयो । 

उक्त आक्रमण दुई ब्लालेस्टिक क्षेप्यास्त्रद्वारा युक्रेनको पोल्टावामा एउटा सैन्य एकेडेमी र नजिकैको अस्पतालमा आक्रमण भएको एक दिनपछि भएको हो । पोल्टावामा भएको आक्रमणमा ५० भन्दा बढीको मृत्यु र दुई सयभन्दा धेरै घाइते भएका थिए । युक्रेनी अधिकारीहरूले युद्ध सुरु भएपछिको यो सबैभन्दा घातक रुसी आक्रमणमध्येको एक भएको बताएका छन् । 

पोल्टावा मिलिट्री इन्स्टिच्युट अफ कम्युनिकेसनको मुख्य भवनमा क्षेप्यास्त्रहरू प्रहार हुँदा भवनका धेरै तला क्षतिग्रस्त भएका थिए । 

धेरै मानिस बम आश्रय स्थलतर्फ जाँदै गर्दा हवाई आक्रमणको चेतावनी जारी भएलगत्तै क्षेप्यास्त्रहरू प्रहार भएका थिए । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ ।