काठमाडौं - अपराध नियन्त्रण नयाँ गठबन्धन सरकारको प्रमुख मुद्दा बनेको दक्षिण अफ्रिकामा अप्रिलदेखि जुनको बीचमा करिब ६ हजार २ सय व्यक्तिको हत्या भएको प्रहरी आँकडाले देखाएको छ । प्रहरीमन्त्री सेन्जो म्याकचुनुले तीन महिनामा ६ हजार १  सय ९८ व्यक्तिको हत्या भएको जानकारी दिए । यो आंकडा एक वर्षअघिको समान अवधिको तुलनामा शून्य दशमलव पाँच प्रतिशतले कम हो । 

‘यो आँकडाले हामीसामु आउने चुनौतीहरूको गम्भीरतालाई प्रतिविम्बित गर्दै एउटा कथा बताउँछ’, मन्त्री म्याकचुनुले भने । दक्षिण अफ्रिकामा शान्तिकालमा प्रतिव्यक्ति हत्या दर विश्वमा सबैभन्दा धेरै छ । महिला र बालबालिकामाथि हुने यौन आक्रमणका लागि कुख्यात मुलुक दक्षिण अफ्रिकामा बलात्कारका घटनाहरू गत वर्षको यही तीन महिनाको अवधिको तुलनामा शून्य दशमलव ६ प्रतिशतले बढेका छन् । अप्रिलदेखि जुनको बीचमा मुलुकमा कुल ९ हजार ३ सय ९ वटा बलात्कारका घटना दर्ता गरिएका छन् ।

यस अवधिमा प्रहरी कारबाहीमा ४४ हजार ७ सय ३५ लागूऔषधसँग सम्बन्धित अपराध फेला परेको प्रहरीले बताएको छ । ‘हामीले लागूऔषध सिन्डिकेटलाई लक्षित गर्दै महत्वपूर्ण अभियान चलाएका छौं, यसबाट ठूलो मात्रामा अवैध लागूऔषध बरामद गरिएको छ’, मन्त्री म्याकचुनुले भने । विशिष्ट प्रहरी एकाइले जोहानेसबर्गको उत्तरमा दुर्गम खेतमा लुकाइएको करोडौं डलरको क्रिस्टल मेथ प्रयोगशालामा छापा मार्दा गत महिना तीन मेक्सिकाली र दुई दक्षिण अफ्रिकी पक्राउ परेका थिए । 

अर्को छुट्टै घटनामा प्रहरीले २५ करोड २० लाख र्‍यान्ड (करिब १ करोड ४० लाख डलर) मूल्यको कोकिनका इँटा भरिएका १४ वटा झोला बरामद गरेपछि एकजना रुसीलाई दक्षिण अफ्रिकीसँगै पक्राउ गरिएको थियो । मे महिनाको निर्वाचनपछि आफ्नो अफ्रिकी नेसनल कांग्रेसले मध्यमार्गी डेमोक्रेटिक गठबन्धन र अन्य साना दलहरूसँग असहज गठबन्धन गर्न बाध्य राष्ट्रपति सिरिल रामफोसाको नयाँ गठबन्धन सरकारसामु अपराध प्रमुख मुद्दा बनेको छ ।