काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने पोल्यान्ड र युक्रेन भ्रमणका क्रममा बुधबार पोल्याण्डतर्फ प्रस्थान गर्नुभएको छ । 

कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा गरेको अवसरमा भ्रमणका लागि नयाँ दिल्लीबाट पोल्याण्ड प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले आगामी दिनमा दुई देशसँगको सम्बन्ध जीवन्त बनाउन तत्पर रहेको बताउनुभएको छ । 
 
यसैक्रममा उहाँले पोल्याण्ड मध्य युरोपको प्रमुख आर्थिक साझेदार रहेको जनाउँदै लोकतन्त्र र बहुलवादप्रति आपसी प्रतिबद्धताले सम्बन्धलाई अझ सुदृढ पार्ने उल्लेख गर्नुभयो । 

उहाँले प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति आन्द्रेज डुडालाई भेटवार्ता गरी साझेदारीलाई अगाडि बढाउनका लागि उत्सुक रहेको बताउँदै पोल्यान्डमा भारतीय समुदायसँग पनि साक्षातकार हुने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।  

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निमन्त्रणामा पोल्यान्ड भ्रमणपछि उहाँ युक्रेन जाने कार्यक्रम तय भएको छ । भारतीय प्रधानमन्त्री मोदीको यो पहिलो युक्रेन भ्रमण हुनेछ ।

युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि द्विपक्षीय सहयोगलाई बलियो बनाउन राष्ट्रपति जेलेन्स्कीसँग पहिलेको सम्झौतालाई अगाडि बढाउने अवसरको प्रतिक्षामा रहेको प्रधानमन्त्री मोदीले बताउनुभएको छ ।

प्रधानमन्त्री मोदीको  पोल्याण्ड र युक्रेन भ्रमणको उदेश्य नेतृत्वसँग छलफल, भारतीय समुदाय, व्यापारीसँगको अन्तरक्रिया समावेश भएको विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयस्वाललाई उदृध गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।