काठमाडौं - गत हप्ता कोलकाताको एक सरकारी अस्पतालमा भएको प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा पश्चिम बंगाल राज्यका दशौं हजार महिलाले सडकमा जुलुस निकालेका छन्।
गत शुक्रबार कोलकाताको आरजी कार मेडिकल कलेजकी ३१ वर्षीय आवासीय डाक्टरको बलात्कारपछि हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनको अस्पतालकै इमर्जेन्सीको सेमिनार हलमा शुक्रबार शव भेटिएको थियो । त्यससँगै काम छाडेर बलात्कारीलाई हदैसम्मको कारबाही र सुरक्षाको प्रत्याभूति माग गर्दै राज्यभरका विभिन्न अस्पतालका चिकित्सकलगायत स्वास्थ्यकर्मीले आन्दोलन सुरु गरेका हुन् ।
इन्डियन एक्सप्रेसका अनुसार आन्दोलनकारीले अस्पतालको गेटमा बाहेक अरू ठाउँमा सीसीटीभी नभएको तथा भएपनि काम नगर्ने अवस्थामा रहेको बताएका छन् । शव भेटिएको सेमिनार हलको सीसीटीभी फुटेज नरहेको पनि आन्दोलनकारीले बताएका छन् । वार्ड जाने करिडोरलगायतका स्थानमा सीसीटीभी नै हालसम्म जडान नगरिएको उनीहरूको भनाइ छ ।
आरजी कार मेडिकल कलेजका एक आवासीय डाक्टरको भनाइअनुसार त्यहाँ ड्युटीमा रहेका डाक्टरलाई आराम गर्ने ठाउँ छैन । त्यसैले सेमिनार हलमै गएर आराम गर्ने गरेको उनले बताएका छन् । त्यहाँ शौचालयको समेत व्यवस्था नभएको उनले सञ्चारमाध्यमसँग भनेका छन् ।
प्रहरीले एक आरोपीलाई समातेको छ । उनलाई अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
0 comment