काठमाडौं - ब्राजिलको साओ पाउलोमा एक विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ ।

भोपस एयरलाइन्सको उक्त एटीआर ७२–५०० विमान ब्राजिलको दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको बेला भिन्हेडो सहरमा खसेको हो।

सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको थियो। एटीआर ७२–५०० मा ५७ यात्रु र चार चालक दलका सदस्य सवार थिए । दुर्घटनामा विमानमा सवार सबै चालक दल र यात्रुको मृत्यु भएको छ । 

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले मृतकहरुप्रती श्रदाञ्जली अर्पण गर्दै पीडितका परिवार र साथीहरूप्रति सान्त्वना व्यक्त गरेका छन्।

त्यसैगरी, साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन्।

अधिकारीहरूले विमानबाट फ्लाईट रेकर्डर प्राप्त गरिएको र फ्रान्सेली-इटालियन विमान निर्माता कम्पनी एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ।

विमान आवासीय क्षेत्रमा दुर्घटना भएपनी स्थानीय कोही पनि घाइते भएका छैनन्। स्थानीय कन्डोमिनियम कम्प्लेक्समा रहेको एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूले बताएका छन्।

सामाजिक सञ्जालामा भेटिएका भिडियोले घरहरूले भरिएको क्षेत्रमा आगो र धुँवाको मुस्लो देखाइएको थियो।

स्थानीय समय अनुसार बिहान ११:५६ मा कस्कवेल बाट उडेको उक्त विमान करिब डेढ घण्टापछि सम्पर्कविहिन भएको थियो ।

ब्राजिलको नागरिक उड्डयन एजेन्सीले २०१० मा बनेको उक्त विमान उडानकालागी उपयुक्त अवस्थामा रहेको बताएको छ।

यो दुर्घटना २००७ पछिको ब्राजिलको सबैभन्दा खराब विमान दुर्घटना हो । २००७ मा TAM एक्सप्रेसको एक विमान साओ पाउलोको कन्गोनहास एयरपोर्टमा दुर्घटनाग्रस्त भएर आगलागी हुँदा १९९ जनाले ज्यान गुमाएका थिए । 

भिडियो