काठमाडौँ - अविरल वर्षाका कारण आएको बाढी पहिरोलगायत विपदमा परी देशभर हालसम्म ७० जनाले ज्यान गुमाएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढी पहिरामा परेर देशभर ७० जनाको मृत्यु भएको, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
      
उक्त अवधिमा बाढी पहिराका ९ सय ६६ घटना घटेका छन्। त्यसमा ८६ घरमा क्षति पुगेको र ३ सय ३५ पशुको मृत्यु भएको छ। भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित छ।
      
यो अवधिमा ४ हजार ७ सय ९० प्रहरी बाढीपहिरामा परिचालन गरिएको र ९ करोड ५६ लाख ७४ हजार २ सय ५० बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।