ब्रिटिस म्युजियम हेर्दा हेर्दै दिन ढल्की हाल्यो । हामी आफ्नो कार लिएर क्याम्पिंग साइट तर्फ लाग्यौ । वेलुकाको खाना खाई सुत्यौ र भोलीपल्ट विहान हल्का नास्ता गरी लाग्यौ हामी लण्डन स्थित म्याडम टुसा म्युजियम हेर्न ।

म्याडम टुसा म्युजियम

म्याडम टुसा मैनबाट मूर्ति बनाउने सीप भएकी महिला रहिछन् । उनले बनाएका मैन जसलाई अंग्रेजीमा वाक्स भनिन्छ त्यसबाट बनेका मूर्तिहरु युरोप र विश्वकै मुख्य मुख्य शहरहरुमा भएका म्युजियमहरुमा संग्रहित भएका रहेछन् । हामीलाई भने लण्डनमा रहेको यो म्युजियम हेर्ने अवसर मिल्यो । यो म्युजियम लण्डनको मुख्य पर्यटकको आकर्षणको केन्द्रविन्दुहरुमध्ये एक रहेछ । यस म्युजियममा विशेष गरेर ऐतिहासिक र राष्ट्रिय अन्तर्राष्ट्रिय जीवन जगतमा नाम कमाएका, लोकप्रिय व्यक्तित्वहरुको मैनको मूर्ति बनाइ संग्रह गरिदो रहेछ । म त्यहाँ पुग्दा अनुहार हेरेरै मैले चिन्न सकेकोमा भारतका महात्मा गान्धी, हिटलर र विश्वविख्यात जर्मन टेनिस खेलाडी वोरिस वेकर रहेछन् । भारतीय नेता, अभिनेताहरुको पनि मूर्ति देखियो । अरुहरुको मूर्ति चाहिँ पढेर चिनियो । नेपालका भने कसैको पनि देखिएन ।   

म्याडम टुसां फ्रान्सको स्ट्र«ास्वुर्गमा सन् १७६१ म जन्मेकी रहिछन् । उनकी आमाले पनि मैनको मूर्ति बनाउन खप्पिस वर्न स्वीटजरलैण्डका डाक्टर फिलिपसँग काम गरेकी रहिछन् । म्याडम टुसांले बनाएको पहिलो मैनको मूर्ति भनेको सन् १७७७ को फ्रेन्च दार्शनिक भोल्टेयरको रहेछ । १७ वर्षकै उमेरमा टुसां फ्रेन्च राजा लुई १४औं को बहिनी एलिजावेथलाई भर्साइको दरबारमा कला सिकाउने गर्दिरहिछन् । यही कारण दरबारसँगको उनको हिमचिम बढेको रहेछ ।

सन् १७८९ मा भएको फ्रेन्च राज्यक्रान्तिमा यिनीलाई पनि क्रान्तिकारीहरुले समातेर राजालाई जस्तै मार्ने योजना बनाएका रहेछन् तर एक प्रभावशाली व्यक्तिले टुसां राजपरिवारको सदस्य नभएको कला सिकाउने शिक्षक भएको भनेर बताएपछि यिनको ज्यान जोगिन गएको रहेछ । पछि उनले क्रान्तिका अर्का दार्शनिक रुसो र बेन्जामिन फ्रान्कलिनको पनि मूर्ति बनाएकी रहिछन् । क्रान्तिपछिका रेन अफ टेररका नायक रोवेस्पियरे र बेलायती राजा जर्ज तेस्रोको मूर्ति पनि बनाएकी रहिछन् ।

सन् १७९४ मा डाक्टर फिलिपको मृत्यु भएपछि उनले बनाएका मैनका मूर्तिहरु सबै टुसांको जिम्मामा आयो । त्यसपछि उनी ३३ वर्षसम्म युरोपका विभिन्न शहरहरुमा भौंतारिन पुगेकी रहिछन् । सन् १८०२ मा उनलाई लण्डनबाट उनीसँग भएका मैनका मूर्तिहरु प्रदर्शन गर्ने गरी निमन्त्रणा प्राप्त भएको रहेछ । त्यही क्रममा लण्डन पुगेकी म्याडम टुसा नेपोलियन युद्धको कारण कहिल्यै फ्रान्स फर्कन पाइनन् र लण्डनस्थित बेकर स्ट्रिटमा स्थायी घर बनाइ बसेकी रहिछन् । 

यस म्युजियममा रहेको च्याम्वर अफ होरर म्याडमको आफ्नै सिर्जना रहेछ जहाँ फ्रेन्च राज्यक्रान्तिबाट पीडितहरुको मैनको मूर्ति राखिएको रहेछ । त्यसैगरी नाइलको युद्धमा फ्रान्सलाई हराउने बेलायती जलसेनाका एडमिरल लर्ड नेल्सन र बेलायती उपन्यासकार सर वाल्टर स्कटमा मूर्तिहरु पर्दा रहेछन् । यस म्युजियममा ४०० मूर्तिहरु रहेकोमा सन् १९२५ को आगलागी, अनि दोस्र्रो विश्वयुद्धताकाको बम हमलाको कारण धेरै मूर्तिहरु क्षतविक्षत हुन पुगेका रहेछन् । उनले आफू मर्नुभन्दा अगाडि बनाएको आफ्नै मूर्ति म्युजियमको मुख्य द्वारमै राखिएको रहेछ । उनको मृत्यु सुतेकै अवस्थामा अप्रिल १६, १८५० मा भएको रहेछ ।