विष्णु भट्टराई,

इन्डोनेसियामा महिलालाई सेनामा प्रवेश गर्नुअघि अनिवार्य रूपमा भर्जिनिटी टेस्ट अर्थात् कौमार्य परीक्षण गरिन्छ । सरकारी सुरक्षा अंगमा प्रवेश गर्नुअघि महिलाको कौमार्य परीक्षण गर्ने नियम वषौं पुरानो परिपाटी हो। स्थल र नौसेनाको अतिरिक्त यस्तो परीक्षण हवाई फौजमा पनि अनिवार्य गरिएको छ । स्थानीय सरकार र सार्वजनिक सेवामा पनि यस्तो परीक्षणलाई सरकारले विस्तार गर्दै छ । 

यहाँ उच्च शिक्षा उत्तीर्ण गरेका १८ देखि २० वर्ष उमेरका महिलालाई सेना र प्रहरीमा भर्ना गर्नुअघि उनीहरूको कुमारित्व परीक्षण अनिवार्य मानिन्छ । सरकारको कथित परीक्षणप्रति मानव अधिकावादी संघसंस्था र कार्यकर्ताले आपत्ति जनाएका छन् । अवैज्ञानिक र रुढिवादी यस परीक्षणलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कडा विरोध गरेको छ । 

अहिलेको जमानामा कौमार्य परीक्षणको कुनै स्थान छैन, न त कुनै कानुनी सान्दर्भिकता । ‘परीक्षणले महिलामाथिको चरम विभेदलाई पुनःपुष्टि गरेको छ । महिलाको क्षमतालाई कुमारित्वले मापन गर्न सक्दैन,’ डब्लूएचओले भनेको छ । ‘दुई औंले परीक्षण’ नाम दिइएको यस परम्परागत परीक्षणमा चिकित्सकद्वारा महिलाको योनिच्छेदन, आकार र योनिको शिथिलताबारे गहन अध्ययन गरिन्छ । 

यस परीक्षणपछि सुरक्षा फौजमा जागिरका लागि निवेदन दिन महिलाले यौन सम्बन्ध राखे नराखेको खुलासा हुने दाबी गरिन्छ । तर, यस परीक्षणलाई लिएर चिकित्सक र स्वास्थ्यकर्मीबीच नै तीव्र मतभेद देखिन्छ । केही चिकित्सकका अनुसार योनिच्छेदनको अवस्थाले कुमारित्वको जिज्ञासालाई खासै सम्बोधन नगर्ने र योनिच्छेदनको आकार महिला र उनीहरूको अवस्थाअनुसार फरक–फरक हुने गर्छ । स्वास्थ्य परीक्षणको बाहनामा महिला अधिकारको हनन भएको ह्युमन राइट वाचले जनाएको छ । 

परीक्षणले महिलालाई होच्याएको, दोस्रो दर्जाको नागरिक सरह व्यावहार गरेको पनि जनाइएको छ । ‘परीक्षणका नाममा महिलामाथि गरिएको हिंसा तत्काल बन्द गरिनुपर्छ,’ वाचले भनेको छ । परीक्षण सभ्य समाजका लागि अशोभनीय भएको वाचको भनाइ छ । कुमारित्व परीक्षण गरिएका दर्जन बढी इन्डोनेसियाली महिलाको अन्तर्वार्ता लिई परीक्षणबारे वाचले प्रतिक्रियासमेत लिएको थियो । 

परीक्षणका क्रममा दुईओटा औंला योनिको द्वार खोल्न प्रयोग र अर्को एउटा औंलालाई मलद्वारमा राखिएको वाचका एन्ड्रिज हारसोनकाले बताउँछन् । परीक्षणले सहभागीलाई निकै लज्जित र आत्मग्लानी महसुस गरेको वाचका एन्ड्रिज हारसोनकाले बताउँछन् । उनका अनुसार परीक्षणलाई धेरै जना महिलाले आफूहरूमाथिको अपमानको संज्ञा दिएका छन् । 

परीक्षणले आफूहरूलाई मानसिक चोट दिएको बताउँदै अन्य महिलाले सकभर यस्तो परीक्षण नगर्न सल्लाह दिएका छन्। ‘वास्तवमै यो एउटा घृणित कार्य र मानसिक यातना । अब म कहिल्यै पनि यस्तो परीक्षण गर्ने छैन,’ परीक्षणमा सहभागी एक महिला भन्छिन् । यातनापीडितका लागि अन्तर्राष्ट्रिय परिषद् (आईआरसीटी) ले पनि परीक्षणले महिलाको मानव अधिकारमाथि गम्भीर हनन भएको जनाएको छ । ‘परीक्षण अन्तर्राष्ट्रिय कानुनअन्तर्गत महिलामाथि दुव्र्यवहार हो,’ आईआरसीटीले भनेको छ । 

इन्डोनेसियमा सेनाका प्रस्तावित बेहुलाले समेत विवाहअघि कन्याको कुमारित्व परीक्षणको माग गर्ने गरेको आईआरसीटी र एचआरडब्लूले जनाएका छन्, तथापि सेनाले भने यसलाई अस्वीकार गरेको छ । सेनामा भर्ती हुन महिलाको कुमारित्व परीक्षण अनिवार्य भएको सेनाको सूचना विभाका प्रमुख मेजर जनरल फउड बास्या बताउँछन् । ‘परीक्षण नर्गदा खराब चरित्र भएको व्यक्ति सेनामा भित्रिने खतरा हुन्छ । सेना भनेका राष्ट्रका संरक्षक हुन्। उनीहरूमा नैतिक चरित्र हुनु अपरिहार्य छ । सेना नै बदनाम भए देशको सुरक्षा कसले गर्ने ?