पुष्पराज भट्टराई,

सरस्वती पूजाको दिन नयाँ कक्षामा भर्ना गर्ने र ज्ञान सिक्न सुरु गर्ने दिन हो । यस वर्ष फागुन २ गते नयाँ बालबालिकाका लागि विद्यालयको यात्रा शुरु गर्ने अवसर जुरेको छ । यस दिन वैद्धिक मान्त्रोच्चारणसहित अक्षरआरम्भ  गराइएका  नानीबाबुहरुलाई विद्यालयको नयाँ पोसाकमा विद्यालय पठाउन शुरु गरिन्छ । सरस्वती पूजासँगै विद्यालयहरुमा नयाँ भर्नाको चहलपहल सुरु हुने गर्छ । हरियो दुबो उम्रिएको चौरमा नानीबाबुहरुका नयाँ र कलिला अनुहार यताउता उफ्रिएर रमाउन थालेसँगै विद्यालयको वातावरण रमाइलो हुन थाल्छ । 

हरेक वर्ष सरस्वती पूजाको अवसरमा हज्जारौं नानीबाबुहरुले विद्यालयमा भर्ना भएर अक्षरआरम्भ सुरु गर्छन् ।आफ्नो बाल्यकाल अभिभावकको काख र साथमा बसेका बालबालिकाहरुलाई एक्कासि विद्यालयको वातावरणमा पुग्नुपर्दा नानीबाबुहरुमा एक किसिमको मनोवैज्ञानिक त्रास पनि हुन सक्छ । उनीहरु नयाँ वातावरणको डरले त्रसित बनेका हुन सक्छन् । अबोध, चञ्चल र जिज्ञासाले भरिएका कलिला मनहरुलाई मायालु वातावरणमा स्नेह र हौसलाका हातले डोर्याउन जरुरी हुन्छ । 

शैक्षिक संस्थाहरुले नयाँ भर्नासँगै बालबालिकालाई मनोपरामर्श र अभिभावकलाई अभिमुखीकरण सेवा प्रदान गर्न सके भयरहित शैक्षिक वातावरणमा पठनपाठन सञ्चालन गर्न सहज हुन्छ । नयाँ भर्नासँगै नयाँ बालबालिकालाई पहिलो पाठशालाबाट नियमित विद्यालय पठाउन अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । अर्कोतिर नयाँ भर्नासँगै पढाइप्रति रुची जगाउने, प्रेरणा र हौसला दिने काममा दोस्रो पाठशालामा गुरुआमाहरुको अभिमुखीकरण कार्यक्रले निकै सहयोग पुग्दछ ।  

कलिलो उमेरका प्रत्येक अवस्थाका बालबालिकाको चारित्रिक विशेषता नयाँनयाँ  जिज्ञासाले भरिएको हुन्छ । त्यसैले भर्खरै विद्यालयमा भर्ना भएका यिनै बालबालिकाको पठनपाठनमा सुधार ल्याउन बालमानोविज्ञानमा आधारित अभिमुखीकरण कार्यक्रम आवश्यक पर्दछ । शैक्षिक सत्रको शुरुमा गरिने यस्तो अभिमुखीकरण कार्यक्रम निकै प्रभावकारी हुने गर्दछ । 

विगतका वर्षमा झैं यसपालि पनि थुप्रै बालबालिका  आफ्ना  कलिला  हातले बुबाआमाका हात समातेर पहिलापटक विद्यालय पुग्दै छन् । कतिपय बालबालिकाका बाबुआमा नै पहिलोपटक  विद्यालयको अभिभावक बनेका हुन सक्छन् ।  

कतिपय अभिभावकलाई बालबालिकाको जन्म र विकास कसरी हुन्छ ? कुन उमेर समूहमा उनीहरुको व्यवहार कस्तो हुन्छ ? ठीक र बेठीकलाई कसरी उत्साहित र निरुत्साहित गर्नुपर्छ भन्ने ज्ञान हुँदैन । उनीहरुलाई  विद्यालय, परिवार र समाजमा  हुने क्रियाकलाप र आफ्नै जिम्मेवारीका बारेमा  समेत जानकारी नहुन सक्छ । यस्तो अवस्थामा कक्षामा भर्ना भएका नानीबाबुहरुले कक्षा बीचैमा छोड्ने र दोहोर्याउने  विद्यार्थी संख्या बढी हुन्छन् । 

विशेष गरी अभिभावकले  कक्षा नर्सरीमा भर्ना भएका बालबालिकालाई नियमितता बढाउन  घरमा कसरी सहयोग  गर्ने ? विद्यालयमा कसरी  सहयोग गर्ने र शिक्षकलाई कसरी सहयोग गर्न  सकिन्छ ? बालबालिकाले  गरेका क्रियाकलापलाई कसरी प्रोत्साहित गर्ने भन्ने कुरालाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम केन्द्रित हुनुपर्छ । 

विद्यालय प्रवेशको प्रारम्भिक चरणमा गरिने यस्तो अभियानले सबैभन्दा पहिले अभिभावक अभिभावकबीच, विद्यार्थी विद्यार्थीबीच, अभिभावक शिक्षकबीच र विद्यार्थी शिक्षकबीच मानसिक रुपमा पैदा हुने भय र त्रास हटाउन आवश्यक मद्दत गर्छ । एकआपसमा परिचित हुन सहयोग गर्दछ । 

भर्नापछिको अभिमुखीकरणले विद्यालय सञ्चालनमा कसको के भूमिका  हँुदोरहेछ भन्ने कुरा बुझ्न नयाँ अभिभावकलाई सजिलो हुन्छ । बालबालिकाको  शिक्षणमा  शिक्षकलाई मद्दत पुग्छ । बालबालिकाको सिकाइमा सुधार ल्याउन , अभिभावकको सहयोग लिन, नयाँ अभिभावक र विद्यालयबीच परिचय गराउन सहज हुन्छ ।

छोराछोरीको आँखामा आफ्ना सपना सजाएर उनीहरुको सुन्दर भविष्य निमार्ण गर्ने दायित्व लिएर विद्यालयको ढोकामा जिम्मेवारीको बोधले शुद्धिएर पाइला टेक्ने नूतन अभिभावकका लागि शैक्षिक चेतना जगाउनु नैे  अभिमुखीकरण कार्यक्रमको लक्ष्य हुनुपर्छ । 

विद्यालय समुदायको  साझा संस्था हो । विद्यालय  राम्रोसँग सञ्चालन गर्न विद्यालय  व्यवस्थापन समिति शिक्षक अभिभावक संघ, अभिभावक, विद्यार्थी र  शिक्षक सबैको महत्वपूर्ण भूमिका हुन्छ । यी सबैले  आ आफ्नो  जिम्मेवारी  पुरा गरेमा  समग्र रुपमा  विद्यालयको शैक्षिक  वातावरण असाध्यै राम्रो हुन्छ ।ससाना नानीबाबुहरु चाँडै घुलमिल हुन थाल्छन् । घरमा बस्नभन्दा विद्यालय जान मन पराउँछन् । 

 नयाँ भर्ना भएका  बालबालिकाका अभिभावक भर्ना भएका विद्यार्थी, विषय शिक्षक, प्रधानाध्यापक  व्यवस्थापन समितिका पदाधिकारी  सञ्चालक सबैलाई  सामुहिक रुपमा भेला नगराई अभिमुखीकरण कार्यक्रम शुरु गर्दा सुरक्षित महसुस  गर्न सकिन्छ । तर यो काम निकै चुनौतीपूर्ण हुन सक्छ । सानासाना समुहमा अभिभावक  र बालबालिकाले  पालैपालो आफूले सन्तान हुर्काउँदा र पढाउँदा भोगेका सुखदुखका अनुभव साटासाट गर्न दिने, कार्यक्रम  सकेपछि विद्यालयमा  गरिने क्रियाकलाप बारे वार्षिक  कार्यतालिका वा शैक्षिक क्यालेन्डरका बारेमा प्रअ अथवा विद्यालयले  अभिभावकलाई जानकारी गराउने सम्भव भएसम्म विव्यसका पदाधिकारीको जिम्मेवारी र काम कर्तव्य बताइदिने  शिक्षकाको भूमिका, अभिभावकको भूमिका, विद्यार्थीले पालना गर्नुपर्ने नियम आदिका बारेमा क्रमैसँग अभिमुखीकरण कार्यक्रममा प्रस्तुत गर्नु राम्रो हुन्छ । 

विद्यालयले नयाँ बालबालिकाका लागि रमाइलो कक्षाकोठा  व्यवस्थापन, गुणस्तरीय शिक्षा स्रोत सामग्री  र कक्षाकोठाभित्र भयरहित बनेर पढ्नका लागि  बालमैत्री शिक्षण सिकाइ क्रियाकलापको व्यवस्था गर्न जरुरी हुन्छ ।  अभिभावकलाई बेलाबेलामा बैठकमा  सहभागी  गराई  बालबालिकाको  प्रगति विवरण सुनाउने गर्नुपर्छ । 

मनोसामाजिक परामर्श सेवा, विभिन्न रोगसम्बन्धी सतर्कता,  स्वास्थ्य सम्बन्धी परामर्श,  खोप तालिका, पोषण सम्बन्धी चार्ट, बालबालिकाको सन्तुलित भोजन तालिका, डेली डायरी लेखन, कथा सुनाउँदाको प्रभाव,  विद्यालयका सेफ्टी नियम, ट्राफिक नियम, पढाइका लागि बसाइ अर्थात् वास्तुसम्बन्धी जानकारी, बालहिंसा र अपराध आदिको जानकारी दिन भर्ना अभिमुखीकरण कार्यक्रम केन्द्रित हुनु सान्दर्भिक हुन्छ । 

नानीबाबुले बीचमा विद्यालय छोड्दा र कक्षा दोहोर्याउनुपर्दा कस्तो मनोवैज्ञानिक असर पर्न सक्छ  भनेर सचेत तुल्याउने, मासिक त्रैमासिक वार्षिक  कक्षागत  अभिलेख  र डिजिटल प्रगति विवरण प्रस्तुत गर्ने,  बालबालिकाका  सुधार्नु पर्ने कमिकमजोरी भए एकअर्कामा सुझाव दिने लिने गर्नाले विद्यालय र अभिभावकबीच सम्बन्ध प्रगाढ बन्दै जान्छ । 

अभिभावकले सकेसम्म लामो दुरीका सवारी साधनमा बच्चालाई चढाएर जंकफुडको झोला बोकाइ विद्यालय पठाउनु भनेको कुपोषण, मानसिक, शारीरिक थकानलाई निम्त्याउनु हो । सकेसम्म सानासाना नानीबाबुलाई नजिकको विद्यालयमा भर्ना गर्ने हो भने जोखिम कम हुने निश्चित छ । गुणस्तरीय शिक्षाका नाममा ठुला र आकर्षक भवन भएका महँगा विद्यालयमा मात्रै राम्रो पढाइ हुन्छ भन्ने भ्रम त्यागेर सुरक्षित वातावरण भएका बालमैत्री विद्यालयमा भर्ना गर्दा नानीबाबुको भविष्य निर्माण गर्न सकिन्छ भन्ने कुरा अभिभावकले भुल्नु हुँदैन ।  । 

दिनहुँ विद्यालय गएर बालबालिकाले फरक फरक कुरा सिकिरहेका हुन्छन् । त्यसको उचित प्रोत्साहन गरिने कुरा भर्नासँगै अवगत गराउनु राम्रो हुन्छ । उनीहरुलाई हरेक दिन पढाइको महत्व हुन्छ भन्ने कुरा सानैदेखि  अभिभावकले बताउनुपर्छ । त्यस्तै दिनभरि स्कुलमा बस्दा बालबालिका भोकाउँछन् । उनीहरुलाई सिक्न गाह्रो हुन्छ । पढाइ छाडेर बीचमै भाग्न नसकुन् भनेर सरकारले नै दिवा खाजा कार्यक्रम  अगाडि सारेको छ । अभिभावकले पनि उनीहरुलाई  खाजाको व्यवस्था मिलाइदिनुपर्छ । 

अवस्था सामान्य नभएसम्म अभिभावकले प्रत्येक दिन विद्यालय गई  आफ्ना  बालबालिकाको विद्यालयमा  रहने समय  र उनीहरुले  गर्ने व्यवहारसम्बन्धी बुझ्नुपर्छ । विद्यालयले पनि समयअनुसार एप्समार्फत गृहकार्य, प्रोजेक्टवर्कका सम्बन्धमा र शैक्षिक  उपलब्धीका बारेमा  जानकारी  लिनुपर्छ । 

समुचित पोषण, माया, ममता प्रदान गर्न सके बालबालिकालाई  नयाँ वातावरणमा समायोजन हुन सजिलो हुन्छ । फोहोरी भएमा साथीहरुले हेला गर्दछन् । रोग लाग्न सक्छ । त्यसैले सधैंभरि सफासुग्घर रहन  हौसला दिनुपर्छ । प्रत्येक  अभिभावकले आफ्ना नानीबाबुलाई ठीक समयमा सुत्ने,  उठने, दाँत माझ्ने, हात धुने, नुहाउने बानीको रुटिन बनाएर अनिवार्य अभ्यास गराउनुपर्छ । यसलाई पछिसम्म उनीहरुले व्यबहारमा उतार्छन् । अभिभावकले दिनभरि गरेका क्रियाकलापहरु घरमा  छलफल गरिदिनुपर्छ । 

भर्नाको समयमा मात्रै होइन विद्यालयले बोलाएको बेला, शिक्षकहरुले डाकेको समयमा,  परीक्षाफल प्रकाशित भएका दिन, लब्धांकपत्र लिने समयमा  र फुर्सदको समयमा अभिभावकले विद्यालय जान अल्छी मान्नुहुँदैन ।   

यसरी अभिभावकको विशेष हेरचाह, समुदायको रचनात्मक  सहयोग,  विद्यालयको  क्रियाशीलता र शिक्षकहरुको लगनशीलताले मात्रै  अहिलेको  अवस्थामा बालबालिकाको भविष्य  सुरक्षित र सुनिश्चित  हुन्छ ।  

समय मिलाएर गरिने यस्ता अभिमुखीकरणले शिक्षक तथा विद्यार्थीको सन्दर्भमा जीवनोपयोगी सीप विकास गर्न मद्दत मिल्दछ । आत्मवोध गर्न सिकाउँछ । आवेश तथा तनावलाई  व्यवस्थापन गर्न सहज हुन्छ  । विवेचनात्मक सोच र निर्णय गर्न सक्ने क्षमताको विकास हुन्छ । द्धन्द्ध व्यवस्थापन र समस्या समाधान गर्दै सफलताका निम्ति लक्ष्य निर्धारण गर्नसमेत बेलाबेलामा गरिने अभिमुखीकरण कार्यक्रम अभिभावकका लागि  महत्वपूर्ण मानिन्छ । 

बालबालिकाका लागि घर पहिलो पाठशाला र आमा पहिलो गुरुआमा हुन् । त्यसैले साना कक्षाहरुमा नानीबाबुको  नियमितता बढाउन  अभिभावक  बालबालिकाको हरेक ठाउँमा सहयोगी बन्नुपर्छ । 

“जहाँ प्रशंसा जीवित रहन्छ त्यहाँ विश्वास र आशा पैदा भइ पुरानो र नयाँ पुस्ताहरुको बीचमा आपसी सम्बन्ध पुनरस्थापित हुन्छ ।” डेभिड कूपरराईडरले भने झैं अभिभावकले बालबालिकालाई उनीहरुले विद्यालयमा गरेका क्रियाकलापलाई  प्रोत्साहित गर्नुपर्छ । 

साथीभाइसँग भएको व्यवहार र गरेका  कुराकानी आदि चाख लिएर सुनिदिने गर्नुपर्छ । कापी कलम  छ छैन बुझेर व्यवस्था गरिदिने, खाजाको व्यवस्था गरिदिने, पढाइको सफलताका बारेमा स्याबासी दिने, घरबाट विद्यालय जाने व्यवस्था समयमै मिलाइदिने । घरमा  रुटिन बनाएर पढ्ने बानीको विकास गरिदिनु पर्छ । गृहकार्य र सरसफाइ कार्यमा मद्दत गरिदिनाले उनीहरु विद्यालय जान रमाइलो मान्छन् । 

त्यसैगरी बेलाबेलामा विद्यालय जाने, सुरुसुरुका दिनमा विद्यालयको वातावरणमा  घुलमिल  गराउन  अभिभावकले आफैं पुर्याउने र सँगै ल्याउने गर्नुपर्छ  । बालबालिकाको शैक्षिक प्रगति र अन्य पक्षमा शिक्षकसँग बैठक बस्ने, विद्यालयले बालबालिकाको व्यक्तित्व विकासका लागि सञ्चालन गरेका क्रियाकलापमा  सहभागी हुँदा फाइदै हुन्छ  । 

विद्यालयका शैक्षिक कार्यक्रमलाई सफल बनाउन अभिभावकले सहयोग गर्ने । वनभोज ,अभिभावक दिवस, प्रर्दशनी, ट्यालेन्ट सो आदि इभेन्टस्मा सहभागी भई हौसला दिने जस्ता गतिविधिप्रति चासो लिने गर्नाले उनीहरुमा पढाइ र विद्यालयप्रति चासो बढ्न जान्छ । यसो गर्नाले बालबालिकाहरु घरमा बस्नभन्दा विद्यालय जान रमाइलो मान्छन् । उनीहरु दिनदिनै सफल हुन्छन् । 

विद्यार्थी  भनेका  देशका  कर्णधार हुन् ।  जसरी  यिनीहरुको अनुहार फरकफरक हुन्छ । त्यसरी नै गुण र स्वभाव पनि  फरकफरक  हुन्छ ।  असल अभिभावक र शिक्षक पनि तिनै हुन् । जसले बालबालिकाको  फरक फरक अनुहारको फरक फरक  क्षमता र रुचि बुझेर व्यबहार गर्छन् । तिनै बालबालिकाको भविष्य सुन्दर हुन्छ । 

फ्र्यांक ओउट्लाले भने झै “जब म आप्mनो विचारहरुलाई हेर्छु त्यो शब्दहरुमा रुपान्तरण हुन्छ । जब शब्दहरुलाई हेर्छु त्यो क्रियाशील कार्य बन्दछ । जब म क्रियशील कार्यलाई हेर्छु त्यो व्यवहार बन्दछ । जब म व्यवहारलाई हेर्दछु त्यो स्वभाव (आनीबानी) बन्दछ । जब म स्वभावलाई हेर्दछु त्यो मेरो भविष्यको भाग्य बन्दछ ।” हो,  बालबालिका समाजका अत्यन्त संवेदनशील समूह पनि हुन् । बालबालिकाबिनाको समाज परिकल्पना पनि गर्न सकिँदैन । यिनीहरु समाजका भविष्य हुन्  । 

वर्तमानमा  यिनको  भविष्य निमार्ण गर्न सकिएन भने उनीहरुको  भविष्य उज्यालो  हुँदैन । त्यसैले प्रत्येक अभिभावकले आफ्ना सन्तानको सुन्दर भविष्य निर्माणमा कुनै कन्जुस्याइँ गर्नुहँुदैन ।

एउटा बालकले आमा, बुबा, परिवारका सदस्यहरु, खेल समूह, छरछिमेकी,  विद्यालय, सामाजिक  संघसंस्थाहरु  र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई सामाजिकीकरणको अभ्यास गर्ने आधार बनाएको हुन्छ । 

त्यसैले विभिन्न कारणले विद्यालयभन्दा बाहिरी परिवेशमा रहेका अल्पसंख्यक, गरिब, दलित, उपेक्षित र पिछडिएका बालबालिकालाई विद्यालयमा स्वागत गरी उनीहरुको पठनपाठनमा निरन्तरता दिन नयाँ अभिभावक अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुन्छ । 

त्यसै गरी नयाँ अभिभावकहरुमा शैक्षिक चेतना बढाउन अभिभावककै सहयोग लिई  विद्यार्थीहरुको पठनपाठनमा सुधार ल्याउन र विद्यालय विकासमा  गर्नैपर्ने कामहरु छनौट गरी सबै अभिभावकको संलग्नता गराउन यस्तो कार्यक्रम बढी प्रभावकारी हुने देखिन्छ । 
आजको दिन अक्षर आरम्भ गर्ने नानीबाबुलाई विद्यालयमा हार्दिक स्वागत छ ।