
विष्णु भट्टराई,
वश्वमा पहिलो महिला राष्ट्रपति बनाउने देश अर्जेन्टिना हो । आफ्ना पति राष्ट्रपति जुवान पेरानको कार्यकाल अवधिमा नै निधन भएपछि उनकी पत्नी इसाबेल मार्टिनेज डे पेरोनले सन् १९७४ को जुलाईदेखि १९७६ को मार्चसम्म राष्ट्रपतिको पद सम्हालेकी थिइन्। उनी विश्वको पहिलो महिला राष्ट्रपति भए पनि जननिर्वाचित राष्ट्रपति भने होइनन् । जननिर्वाचित राष्ट्रपति हुने पहिलो महिला भने आइसल्यान्डकी भिग्दिश फिनबोगस्टिरले भएकी थिइन्। उनी सन् १९८० देखि १९९६ सम्म आइसल्यान्डको राष्ट्रपति बनेकी थिइन् ।
विश्व इतिहासमा हालसम्म सबैभन्दा धेरैपटक महिला राष्ट्रपति भएको देश स्विट्जरल्यान्ड हो । जहाँ ६ जना महिला राष्ट्रपति बनिसकेका छन् । जनवरी १, १९९९ मा रुथ ड्रेइफस् त्यहाँको पहिलो महिला राष्ट्रपति बनेकी थिइन् । त्यसपछि, सन् २००७, २०१०, २०११ र २०१२ मा पनि महिला राष्ट्रपतिहरूले देश हाँकेका छन् । सन् २०१५ को जनवरीमा छैटौं राष्ट्रपति बनेकी सिमोनेट्टा सोमारुगा स्विट्जरल्यान्डलाई नेतृत्व प्रदान गर्ने पछिल्लो महिला राष्ट्रपति भएकी थिइन् ।
अर्जेन्टिना, चिली, माल्टा, फिलिपिन्स, लाइबेरिया र आयरल्यान्डमा पनि २–२ जना महिला राष्ट्रपतिले नेतृत्व गर्ने अवसर पाएका छन् भने नेपालसहित थुप्रै देशमा महिला राष्ट्रपति बने । यसैगरी पाँचवटा देशमा रानी तथा राष्ट्राध्यक्षको जिम्मेवारी महिलाले निभाइरहेका छन् । त्यसैगरी, ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफ पनि शक्तिशाली र चर्चित राष्ट्रपति हुन चिनिन्छिन् ।
भारतमा २००७ मा पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिलले देशको नेतृत्व गरिन् भने अहिले द्रौपदी मुर्मुले भारतको राष्ट्राध्यक्षको भूमिका निर्वाह गरिरहेकी छन्। उनी आदिवासी महिला हुन् । श्रीलंकामा सन् १९९४ मा चन्द्रिका कुमारातुंगालले महिला राष्ट्रप्रमुखको रूपमा कार्यभार सम्हालेकी थिइन् । उनी श्रीलंकामा लामो राजनीतिक इतिहास बोकेको परिवारमा जन्मिइन् र उनको परिवारमा देशको सर्वोच्च पदमा पुग्ने कीर्तिमान नै बन्यो । उनका बाबु र आमा प्रधानमन्त्री बने भने उनी प्रधानमन्त्री र राष्ट्रपति दुवै बनिन् । त्यति मात्रै होइन उनका भाइ सभामुख र मन्त्री बन्न भ्याए ।
जर्मन चान्सलर एन्गेला मर्केल राष्ट्रप्रमुखहरूमध्ये सबैभन्दा बढी समय कार्यभार सम्हालेकी नेतृमध्ये एक हुन् । सन् २००५ को नोभेम्बरमा उनी राष्ट्रप्रमुख बनेकी थिइन् । उनले सन् २०२२ सम्म जर्मनको नेतृत्व गरिन् । जननिर्वाचित र मनोनीत राष्ट्राध्यक्षहरूको इतिहास यस्तो भए पनि अर्जेन्टिनाकी राष्ट्रपति इसाबेलभन्दा अघि पनि महिलाले देशको सर्वोच्च पदमा पुग्ने इतिहास बनाएका छन् । कतिपय महिलाहरू राष्ट्रले उपनिवेश कायम गरेको स्थानमा गर्भनरको रूपमा जिम्मेवार लिएरसमेत काम गरेका छन् । सबैभन्दा पहिला महिला राष्ट्राध्यक्ष बन्ने गौरव खेर्तेक आन्चिमा तोकालाई प्राप्त छ । तुभान÷सोभियत राजनीतिज्ञ रहेकी उनले सन् १९४० देखि सन् १९४४ सम्म तन्नु तुभा अर्थात जनवादी गणतन्त्र तुभानको राष्ट्राध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन । तर, यो देश सोभियत संघमा गाभिएपछि उनको पद समाप्त भयो र आज पनि यो क्षेत्र रसियामा पर्छ । उनको सन् २००८ मा नोभेम्बर ४ मा ९६ वर्षको उमेरमा निधन भयो ।
यसैगरी, मंगोलियाकी सुखबार्तयन यन्ज्मा संसारको दोस्रो महिला राष्ट्राध्यक्ष हुन् । उनी क्रान्तिकारी नेता दामिन सुखबातरकी श्रीमती हुन् । उनले मंगोलियालाई १९५३ देखि १९५४ सम्म नेतृत्व प्रदान गरेकी थिइन् । उनको सन् १९६३ मा ७० वर्षको उमेरमा निधन भयो ।
कुनै समय चिनियाँ राजनीतिमा मुख्य भूमिका निभाएकी संग चिंग–लिंग अर्थात् संग क्विलिंग सन यात सेनकी दोस्री पत्नी हुन् । उनले कार्यकारी सहअध्यक्षका रूपमा चीनमा सन् १९६८ देखि १९७२ सम्म कार्यभार सम्हालेकी थिइन् । उनी सन् १९८१ मा १२ दिन चीनको मानार्थ अध्यक्ष भइन् । १६ मे मा उनलाई मानार्थ अध्यक्षको उपाधि दिइएको थियो तर २८ मे मा उनको निधन भयो । उनलाई ‘आधुनिक चीनकी आमा’ का रूपमा सम्मान गरिन्छ । सन् १९४९ मा चिनियाँ जनवादी क्रान्ति पूरा भएपछि उनी उपराष्ट्रपतिजस्तो गरिमामय पदमा आसिन भएर ठूलो योगदान गरिन् । तर, चिनियाँ सांस्कृतिक क्रान्तिका समयमा उनको धेरै आलोचना भयो । उनी सन् १९७६ देखि १९७८ सम्म चिनियाँ नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिको अध्यक्षसमेत भइन् ।
पुरुषप्रदान समाजको उल्झनलाई चिर्दै शक्तिमा पुग्न सफल महिलाहरूको कुरा गर्दा माथि उल्लिखित नाम छुटाउन मिल्दैन । तर, उनीहरूको राजनीतिक जीवनको उत्थान र पतन तथा उनीहरूले जीवनकालमा गरेका कार्यहरूको वर्णन त्यति धेरै पाइँदैन । त्यसैले, हामी पहिलो महिला राष्ट्रपतिका रूपमा अर्जेन्टिनाकी इसाबेल मार्टिनेजलाई नै मान्छौं । किनभने त्यसअघि सत्तामा पुगेका तीनै जना महिलालाई राष्ट्रपति ‘प्रेसिडेन्ट’ को रूपमा नभई राष्ट्राध्यक्ष ‘हेड अफ दि स्टेट’ का रूपमा व्याख्या गरिएको छ ।
वर्तमान विश्वमा २१ जना महिलाले राष्ट्रको प्रमुख भूमिकामा रहेर देश हाँकिरहेका छन् । इतिहास हेर्दा भने ३६ जना महिला राष्ट्रपति बनिसकेका छन् । जसमा २३ जना निर्वाचित र आठजना मनोनीत रहेका छन् । यतिबेला ताइबान, चिली, लाइबेरिया, लिथुवानिया, ट्रिनिडाड एन्ड टोबागो, कोसोभो, जमैका, स्लोभेनिया, सेनेगल, नर्वे, डेनमार्क, फिनल्यान्ड, साइप्रसलगायतका देशमा महिला राष्ट्राध्यक्ष तथा सरकारप्रमुख छन् । निवर्तमान जर्मन चान्सलर एन्जेला मर्केल सबैभन्दा शक्तिशाली महिलाको सूचीमा पर्थिन् । पछिल्ला केही वर्षयताका रेकर्डहरूलाई हेर्ने हो भने हरेक समय २० भन्दा बढी देशमा महिलाले नेतृत्व गरिरहेका छन् । सन् २०१४ को मार्च महिनामा यो संख्या २२ थियो । अहिले पनि त्यो भन्दा कमी भएको छैन ।
महिला नेतृहरूको कुरा गर्दा छुटाउनै नसकिने अर्को नाम हो, बेलायती महारानी एलिजावेथ द्वितीय । उनले अप्रत्यक्ष रूपमा बेलायतको सात दशक बढी नेतृत्व गरिन् । उनको निधनपछिबेलायतको राजगद्दीमा चाल्र्स द्वितीय बस्न पुगेका छन् । बेलायतमा राजतन्त्रलाई अत्यन्तै आदर्शको रूपमा लिने हुनाले एलिजावेथ द्वितीयको स्थान पनि उच्च छ । यसैगरी, महारानी मार्गरेट द्वितीयले डेनमार्कको नेतृत्व गरिरहेकी छन् । उनी त्यहाँको सेनाको सुप्रिम कमान्डरसमेत हुन् । यी दुवै महारानीहरू पूर्वजहरूको बिरासत धान्दै आइरहेका जन्मसिद्ध शक्तिशाली पदमा आसिन महिलाका रुपमा चिनिन्छन् । सेन्ट लुसियाकी नेतृ गर्भनर जनरल डा. डेम सी पियरलेट्टे लुइजीले भने आफ्नो जीवनकालमा शिक्षिका, प्रशासक, उपप्रधानध्यापक हँुदै सेन्ट लुसिया कलेजको प्रमुख भएरसमेत काम गरेकी थिइन् । उनले हाल सेन्ट लुसियलाई नेतृत्व प्रदान गरिरहेकी छन् ।
जर्मन चान्सलर एन्जेला मर्केल, लाइबेरियाकी राष्ट्रपति एलेन जोनसन सिरलेफ, दक्षिण कोरियाकी राष्ट्रपति पार्क गुन हेई, ग्रानाडाकी गर्भनर जनरल डेम सेसिले ला ग्रेनाडे र नर्वेकी प्रधानमन्त्री इर्ना सलवर्गले आफ्नो समयमा सफलतापूर्वक देशलाई हाँकेका थिए । दक्षिण कोरियाकी राष्ट्रपति बनेकी पार्कगुन हुई हाल भ्रष्टाचारको मुद्दामा जेलमा सजाय भोगिरहेकी छन् ।
आफ्नो सशक्त भूमिका स्थापित गर्ने नेतृमा बंगलादेशकी शेख हसिना वाजेद, माल्टाकी राष्ट्रपति मारिए लुइजे कोलेरियो पेरेजा, क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबार किट्रोभिक, नामिबियाकी प्रधानमन्त्री सारा कुगोंगेल्वा अमाधिला, मौरिससकी राष्ट्रपति अमिनाह गुरिब– फकिमसमेत हुन् ।
यस्तै, विश्वकै पहिलो निर्वाचित काला जातिकी राष्ट्रपतिका रूपमा इलेन जोनसन सिर्लिफको नाम अंकित छ । उनी अफ्रिका महादेशकै पहिलो निर्वाचित राष्ट्राध्यक्षसमेत हुन् । यस्तै, सन् २०१४ मा ‘देश बचाउनका लागि’ नारा लिएर उदाएकी थिइन्, मध्य अफ्रिकी गणतन्त्रकी राष्ट्रपति क्याथरिन साम्बा–पान्जा । यस्तै अर्जेन्टिनाको सत्तामा लामो समय बसेकी राष्ट्रपति क्रिष्टिना फर्नान्डेज पहिलो निर्वाचित र पुनर्निर्वाचित हुने महिला राष्ट्रपति पनि हुन् ।
यसैगरी, नेपालकी राष्ट्रपति विद्या भण्डारी पनि वर्तमानमा विश्वका शक्तिशाली महिलाको सूचीमा पर्छिन् । नेकपा एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी उनी यसअघि जनसंख्या तथा वातावरण र रक्षामन्त्री समेत भइसकेकी छन् ।
यस्तै म्यानमारकी स्टेट काउन्सिलर तथा त्यहाँको नेसनल लिग फर डेमोक्रेसीकी नेतृ आङ साङ सुकी प्रजातन्त्रका लागि लामो संघर्ष गरेकी नेतृ हुन् । हाल म्यानमारमा सैनिक विद्रोहपछि उनलाई नजरबन्दमा राखिएको छ । जुन्ता सरकारले सुकीलाई भ्रष्टाचारको मुद्दा लगाउँदै लामो कालखण्डसम्म जेलमा कोच्ने योजना बनाएको छ । म्यान्मारमा अहिले पनि सुकीको पक्षमा जनप्रदर्शनहरू भइरहेका छन् । शान्तिपूर्ण जनप्रदर्शनमाथि म्यान्मारको सैनिक सरकारले व्यापक दमन गरेको छ ।
विदेशी नागरिकता लिएका छोराछोरीका बाबुआमासमेत त्यहाँको राष्ट्रपति हुन नपाउने कानुनअनुसार उनका लागि प्रधानमन्त्रीसरहको पद सिर्जना गरेर राखिएको थियो । नोबेल शान्ति पुरस्कार विजेतासमेत रहेकी सुकी त्यहाँको राष्ट्रपति कार्यालयकी मन्त्री तथा विदेशमन्त्रीको भूमिकामा थिइन् । उनलाई त्यहाँको सैनिक सरकारले यसअघि पनि सन् १९८८ देखि २०११ सम्म घरमै नजरबन्दमा राखेको थियो । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा पहिलोपटक हिलारी क्लिन्टन महिला राष्ट्रपतिको उम्मेदवार बनेकी थिइन् । तर उनलाई रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले पराजित गरेका थिए । हिलारीले ट्रम्पको भन्दा बढी पपुलर मत प्राप्त गरेकी थिइन् ।
निर्वाचनका माध्यमबाट सर्वोच्च पदमा पुग्ने प्रजातान्त्रिक प्रक्रिया अपनाएरै महिलाहरूले आफूलाई अब्बल साबित गरेका छन् । बेलायतमा मार्गरेट थ्याचरपछि थेरेसा मे दोस्रो महिला प्रधानमन्त्रीका रूपमा उदाएकी थिइन् । ‘आइरन लेडी’ को उपमा पाएकी थ्याचरले समयअनुसार आफूलाई बलबान साबित गर्न सफल बनिन् । तर, उनी पनि विश्वकै पहिलो महिला प्रधानमन्त्री भने होइनन् ।
विश्वकी पहिलो महिला प्रधानमन्त्री श्रीलंकाकी सिरिमाओ बन्दरानायके हुन् भने भारतकी इन्दिरा गान्धी विश्वकै दोस्रो महिला प्रधानमन्त्री बन्न सफल भएकी थिइन् । महिला राष्ट्रपति र प्रधानमन्त्री दुवै पाइसकेको श्रीलंकामा भने अर्को पनि रेकर्ड छ । जहाँ आमा प्रधानमन्त्री र छोरी राष्ट्रपति भए । बन्दरानायके १९९४ देखि २००० सम्म प्रधानमन्त्री बनिन् भने उनकी छोरी चन्द्रिका बन्दरानायके कुमारातुंगा राष्ट्रपति थिइन् । त्यसअघि उनी नै प्रधानमन्त्री थिइन् तर उनले जम्मा ८७ दिन मात्रै प्रधानमन्त्रीको पद सम्हालिन् र विश्वकै पहिलो महिला प्रधानमन्त्री सिरिमाओ बन्दरायकेकी छोरी कुमारातुंगा राष्ट्रपति बनिन् । सोहीबेला तेस्रोपटक प्रधानमन्त्री बनेकी बन्दरानायकेको १० अक्टोबर सन् २००० मा ८४ वर्षको उमेरमा निधन भयो । यो संसारकै दुर्लभ एक रेकर्ड पनि हो ।
चन्द्रिका राजनीतिक परिवारमा जन्मिइन् र सोहीअनुसार अघि बढिन्। उनका बाबु सोलोमोन बन्दरानायके उनी जन्मिँदा मन्त्री थिए र पछि प्रधानमन्त्री बनेका थिए । चन्द्रिकाका भाइ अनुरा बन्दरानायके त्यहाँको संसद्का पूर्वसभामुख र पूर्वमन्त्री थिए । तर, उनको सन् २००८ मा निधन भइसकेको छ ।
यद्यपि, विश्वको पहिलो महिला प्रधानमन्त्री सिरिमाओ बन्दरानायके भए पनि उनीभन्दा अघि पनि एक महिला प्रधानमन्त्री सरहको स्थानमा पुगेकी थिइन् । युक्रेनकी नेतृ बेन्हैया बोह्डानिभ्ना पिपुल्स कमिस्नर बनेकी थिइन् । कुनै समय त्यहाँको कार्यकारी प्रमुखका रूपमा यो पद रहे पनि सोभियत संघको स्थापनाको समयमा उनको पद धरापमा पर्न गयो । उनका बारेमा त्यति धेरै प्रमाणित तथ्यांक भेटिँदैन तर पहिलो महिला प्रधानमन्त्री बन्दरानायकेसँगै संसारमा ७२ जना महिला प्रधानमन्त्री बनिसकेका छन् । तिनीहरूमध्ये धेरैजना दोहोरिएर पनि प्रधानमन्त्री बने । बन्दरानायके आफ्नो जीवनकालमा तीनपटक प्रधानमन्त्री बन्न सफल भएकी थिइन् भने इन्दिरा गान्धी दुईपटक प्रधानमन्त्री बनिन् । हालसम्म सबैभन्दा पछि प्रधानमन्त्री बन्ने बेलायतकी थेरेसा मे थिइन् ।
मुस्लिम धर्मावलम्बी महिलाहरू बुर्का लगाउने र अत्यन्त्रै पुरातनवादी संस्कारमा हुर्कन बाध्य पारिँदै आएका थुप्रै घटनाहरू हामीले सुन्ने गरेका छौं । इस्लामिक कानुनमा पनि महिलाको स्थान निकै तल राखेको हामी पाउँदछौं । तर, कतिपय मुस्लिम महिलाहरू त्यो सानो घेरालाई तोडेर राजनीतिक नेतृत्वमा पुगेका छन् । इन्डोनेसियामा मेघावती सुकार्नोपुत्री सन् २००० देखि २००४ सम्म राष्ट्रपति बनेर राष्ट्रलाई नेतृत्व प्रदान गरिन् । यस्तै, कोसोभोमा अतिफेते जाहजागाले त्यहाँको चौथो राष्ट्रपति र पहिलो महिला राष्ट्रपतिका रूपमा कार्य गरिन् भने रोजा ओतुनवाएभा किर्गिस्तानको तेस्रो राष्ट्रपति बनिन् ।
हालसम्म चारजना मुस्लिम राष्ट्रका महिला आफ्नो देशको प्रधानमन्त्रीको पदमा पुग्न सफल बनेका छन् । यसरी, प्रधानमन्त्री बन्नेमा पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो, बंगलादेशकी बेगम खालिदा जिया र शेख हसिना वाजेद तथा टर्कीकी पूर्वप्रधानमन्त्री तान्सु सिलेर आफ्नो देशका प्रधानमन्त्री बन्न सफल भए । तान्सु सुन्नी मुस्लिम परिवारमा जन्मिएकी महिला हुन् । उनले सन् १९९३ देखि सन् १९९६ सम्म टर्कीमा प्रधानमन्त्रीको पद सम्हालेकी थिइन् । यसैगरी, दुईपटक पाकिस्तानकी प्रधानमन्त्री बन्न सफल बेनजिर भुट्टो पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अली भुट्टोकी छोरी हुन् । जुल्फिकर पाकिस्तानको नवौं प्रधानमन्त्री थिए भने भुट्टो ११औं र १३औं प्रधानमन्त्री बनेकी थिइन् । उनी पाकिस्तानको मात्रै होइन संसारकै पहिलो मुस्लिम महिला प्रधानमन्त्री हुन् ।
यस्तै, बंगलादेशमा दुई मुस्मिल महिलाले प्रधानमन्त्रीको पद सम्हालिसकेका छन् । बेगम खालिदा जिया बंगलादेशको पहिलो महिला प्रधानमन्त्री र संसारकै दोस्रो मुस्लिम महिला प्रधानमन्त्री हुन् । उनीपछि बंगलादेशमा शेख हसिना वाजेद प्रधानमन्त्री बनिन् । बंगलादेशको अवामी लिगलाई सन् १९८१ देखि नेतृत्व गर्दै आएकी उनी विश्वको चौथो मुस्लिम महिला प्रधानमन्त्री हुन् । मुस्लिम महिलाहरूमा केही देशमा मन्त्री बन्न सफल भएका छन् । अफगानिस्तानमा कुब्रा नुरजाई पहिलो महिलामन्त्री बनेकी थिइन् भने मसाउदा जलाल सन् २००२ मा हमिद कारजाईसँग राष्ट्रपतिमा पराजित भएकी थिइन् । यस्तै, आजरा जफारी अफगानिस्तानमा मेयर बन्न सफल भएकी थिइन् ।
यसरी, हेर्दा विश्वमा महिलाहरूको सम्मानजनक र सबल उपस्थिति छ । आज विश्वमा जुन समतामूलक समाज निर्माणको सोच हामीले बोकेका छौं, त्यसका लागि एक दुई महिला सत्ता वा शक्तिमा पुगेर होइन समग्र विकासको प्रक्रियामा सामेल भएर÷गराएर मात्रै सम्भव छ । संसारलाई नेतृत्व प्रदान गर्ने भनेको सबल र उत्कृष्ट चेतनास्तरले नै हो । आजसम्मको इतिहासलाई सरसर्ती केलाएर हेर्दा ७२ जना महिला प्रधानमन्त्री र ३६ जना राष्ट्रपति अनि केही राष्ट्राध्यक्षहरू बनेको देखिन्छ । त्यति मात्रै होइन केही प्रधानन्यायाधीश र मन्त्री तथा सरकारी उच्च ओहादामा अवश्य पुगेका छन् । तर, के यो समतामूलक राष्ट्र निर्माणका लागि पर्याप्त छ त ?


0 comment