प्रभातराज पाण्डे,

पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक वर्ष र पहिलो विदेश भ्रमणमा भारत गएको ६ महिना पूरा भइसक्यो । त्यसपछि प्रचण्डले प्रधानमन्त्रीकै हैसियतमा विभिन्न मुलुकको भ्रमण र अन्तर्राष्ट्रिय फोरमहरूमा सहभागिता जनाइसके । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले चलाएको कूटनीतिबारे भर्खरै टिप्पणी गरेका छन्, जहाँ उनले देशप्रतिको बेइमानी भनी संज्ञा दिएका छन् ।

नेपालमा प्रायः अनिश्चितता छाइरहने प्रधानमन्त्री पदको आयुसँगै मुलुकको परराष्ट्र सम्बन्धमा पनि उतारचढाव आइरहन्छ । यसअघिका दुईवटा सरकारका कार्यशैलीलाई हेर्ने हो भने त्यो स्पष्ट हुन्छ । २०७४ सालको निर्वाचनपछि ओलीको नेतृत्वमा एमाले र माओवादीबीच पार्टी एकताको घोषणा सहित सरकार गठनमा उत्तरी छिमेकी चीनको देखिने भूमिका थियो । त्यतिबेला ओली सरकार भारतसँग सुरुमा गरम र पछि नरम देखिन्थ्यो ।

२०७८ असारमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुँदा दक्षिणी छिमेकी भारतको सद्भाव लुकेको थिएन । भलै त्यसको जग ओली प्रधानमन्त्री पदमा रहँदै तयार भएको थियो । प्रधानमन्त्री भएपश्चात् देउवाको भारत भ्रमणसँगै उनका केही अशोभनीय कदमले पनि उक्त शंकालाई बल  पुर्‍याउने काम गर्यो ।

२०७९ मा आम निर्वाचन भएपछि प्रचण्ड सरकार गठनका तौरतरिका उत्तिकै रहस्यमय थिए । नेता र राजदूतहरूको दौडधुप तीव्र थियो । शक्तिराष्ट्रहरूको चहलपहलले प्रचण्ड सरकारको आयु सुरु नहुँदै सकिने अनुमान नभएको होइन ।

प्रचण्डले आफ्नो कार्यकालमा शक्तिकेन्द्रलाई सन्तुलनमा राख्नेदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा उपस्थिति देखाउने अनेक कोसिस गरिरहेको देखिन्छ । दुई छिमेकी मुलुकको भ्रमण, यूएन महासभाकै क्रममा किन नहोस् शक्तिराष्ट्र अमेरिकाको भ्रमण, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शान्ति प्रक्रिया र जलवायु परिवर्तनका कारण मुलुकले भोगिरहेको संकटको प्रचार र समाधानका लागि अपील आदि कामहरूले सफलता हात लागिरहेको प्रधानमन्त्री प्रचण्डको दाबी छ । 

दुवै छिमेकीका बीचमा सन्तुलन, शक्तिराष्ट्रहरूका खेलमा असंलग्न रहने र राष्ट्रिय स्वार्थमा केन्द्रित रहेर बाहृय सम्बन्ध राख्नुपर्ने थियो । त्यसमा गम्भीर विचलन आएको देखिन्छ । यस्तै पछिल्लो समय ७ अक्टोबरदेखि सुरु प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच जारी युद्धमा पनि नेपालले कुनै एउटाको पक्ष लिएको छैन । बरु बेला-बेलामा जारी मानवीय क्षति रोक्न सबैले पहल लिनुपर्ने सन्देश प्रवाह गरिरहेको छ

कूटनीतिक सम्बन्धमा आजको भोलि सबै परिणामहरू देखिन्छन् भन्ने हुँदैन । त्यसैमा लामो समयदेखि गिजोलिंदै आएको नेपालको परराष्ट्र वा छिमेक सम्बन्ध कुनै सरकार परिवर्तनसँगै एकैपटक कायापलट हुन पनि सक्दैन । तर, त्यसमा सरकारका तर्फबाट कस्तो पहल भइरहेको छ भन्ने विषयले अवश्य अर्थ राख्छ ।