
विष्णु भट्टराई,
रुसी जार निकोलस द्वितीयको शासन चलिरहँदा भिक्टोरिया पेत्रोभ्ना सन् १९०७ को जुलाई ५ मा जन्मिइन् । कुस्क प्रान्तको बेल्गोरिड उनको जन्मस्थान । भिक्टोरियाका पिता पिटर डेनिसोम रेलचालक थिए । आमा अन्ना भ्यादिमिरोभ्ना भने शुद्ध गृहिणी थिइन् । भिक्टोरिया रुसी नाम होइन । त्यसबेला लगभग एक लाख जनसंख्या भएको कुस्र्कमा पोलिसहरु धेरै थिए । यिनकै उक्साहटमा पिटरले छोरीको गैररुसी नाम राखिदिए । भिक्टोरिया पिटर दम्पतिका चार छोरी र एक छोरा जन्मिए । भिक्टोरिया नामले पिटर परिवारलाई धेरैले यहुदी ठाने, तर उनीहरु यहुदी थिएनन् ।
सन् १९२५ मा भिक्टोरिया मेडिकल कलेजमा दाखिल भइन् । कलेजको नृत्य कक्षमा उनको एकजना खाइलाग्दा युवासँग चिनजान भयो । युक्रेनी ती युवा भिक्टोरियाभन्दा एक वर्ष मात्र जेठा थिए– उनी १७ वर्षकै उमेरमा कम्युनिस्टहरुको युवा संगठन कोम्सोमोलको सदस्य भइसकेका थिए । उनी त्यसबेला भूमि व्यवस्थासम्बन्धी प्राविधिक स्कुलमा तेस्रो वर्षमा अध्ययनरत थिए । नवयौजना भिक्टोरिया रुपवती थिएन् । पहिलो हेराइमै ती युवक लठ्ठिए । उनी थिए लियोनिद ब्रेजनेभ । नृत्य कक्षमा भिक्टोरियाले ब्रेजनेभलाई नाच्न आग्रह गरिन् । तर ब्रेजनेभ नाच्न जान्दैनथे । दुवै नजिक भएपछि भिक्टोरियाले पछि उनलाई नाच्न सिकाइन् । ब्रेजभ कुशल नृत्यकार समेत बने ।
भिक्टोरिया र ब्रेजनेभको नृत्यको ताल साह्रैमिल्थ्यो । जब दुवै प्रेममा परे एक दिन भिक्टोरियाले आफ्नो घर लगिन् र आफ्ना आमा बुबासँग चिनजान गराइन् । तीन वर्ष लामो ‘अफेयर्स’ पछि ब्रेजनेभ र भिक्टोरियाको सन् १९२७ डिसेम्बर ११ मा विवाह भयो । प्रेमीप्रेमिका विधिगत रुपमा पतिपत्नी भए । विवाहपछि यो जोडी स्वर्दलोभ्स्क रमाना भए । भाडामा कोठा लिएर बस्न थाले । ब्रेजनेभ जागिरको सिलसिलामा सरुवा भइरहन्थे । भिक्टोरिया सधैं उनीसँग हुन्थिन् । युक्रेन, किसिनेभ, मोल्दाभिया हुँदै अन्त्यमा उनीहरु मस्को पुगे । त्यहाँ भिक्टोरियाले एउटा अस्पतालमा नर्सको काम पाइन् ।
सन् १९२९ अप्रिल १८ मा छोरी गार्लिना पैदा भइन् । बच्चीकी आमा भएपछि उनले नर्सको काम छोड्नुप¥यो । दुई वर्षकै अन्तरालमा फेरि उनी गर्भवती भइन् । छोरा युरी जन्मिए । उनले आफ्नो सम्पूर्ण ध्यान बालबच्चा स्याहार्न र हुर्काउनमा लगाइन् । भिक्टोरिया पाक कलामा पनि निपुण थिइन् । खाना निकै मिठो पकाउँथिन् । ब्रेजनेभ पत्नीले बनाएको खाना असाध्यै मन पराउँथे । पत्नीको हातको खाना उनी पहिलो चखाइमै थाहा पाउँथे । ब्रेजनेभले सन् १९३१ म कम्युनिस्ट पार्टीको सदस्यता लिए । इन्जिनियरिङ उत्तीर्ण गरेपछि उनी प्राविधिक स्कुलका निर्देशक भए । दोस्रो विश्वयुद्धमा नाजी सेनाले रुसमाथि आक्रमण ग¥यो ।
सन् १९४१ म ब्रेजनेभ राजनीतिक कमिसार बने । दोस्रोविश्वयुद्धमा हिटलरको पतन रुसी लालसेनाले गरायो । नेतृत्वमा स्टालिन थिए । यदि रुसी लालसेनाले हिटलरको नाजी सेनालाई हराउन नसकेको भए रुस जर्मनको उपनिवेश बन्ने सम्भावना थियो । विश्वमाथि नैराज गर्ने साकाहारी हिटलरको महत्वकांक्षामाथि रुसी लालसेनाले पानी फेरिदिएको थियो । विश्वयुद्ध सकिएपछि ब्रेजनेभ पहिले युक्रेन र पछि मोल्दामियाको पार्टी सचिव बने ।
सन् १९५३ मा रुसी कम्युनिस्ट नेता जोसेफ स्टालिनको निधन भयो । ब्रेजनेभ केन्द्रीय सदस्यबाट तल झारिए । तर जब सत्तामा खु्रश्चेभको उदय भयो ब्रेजनेभ पोलिटब्युरो सदस्यमा पदोन्नति भए । ब्रेजनेभ खु्रश्चेभका विश्वासिला थिए । निकिता खु्रश्चेभको विश्वासपात्र भएका कारण ब्रेजनेभ सन् १९६० मा सुप्रिम सोभियत अध्यक्ष मण्डलको सदस्य भएपछि यिनी खु्रश्चेभ विरुद्ध लागे ।
सन् १९६४ मा ख्रुश्चेभको सहायक पदबाट राजीनामा दिए । उनी खु्रश्चेभलाई सत्ताच्युत गराउने षड्यन्त्रमा सामेल भए । दुई वर्षपछि सन् १९६६ मा ब्रेजनेभ महासचिव भए भने सन् १९७७ मा सुप्रिम सोभियत अध्यक्ष मण्डलको अध्यक्ष भए, अर्थात् उनी राष्ट्रपति बने सोभियत संघको । बे्रजनेभ राष्ट्रपति भए पनि श्रीमती भिक्टोरियाले भने गृहिणीकै कार्यभार सम्हालिन् । यदाकदा कुनै औपचारिक कार्यक्रममा मात्र उनी सर्वोच्च नेता खु्रश्चेभ सँगसँगै देखिन्थिन् । उनी सत्तारुढ कम्युनिस्ट पार्टीको सदस्य थिइन् तर कुनै पनि महत्वपूर्ण पद खोजिनन् । कहिलेकाहीँ पतिसँग विदेश भ्रमणमा भने उनी जाने गर्थिन् । उनी निकै भावुक प्रकृतिकी महिला थिइन् ।
भाषण, जुलुस सभा र सार्वजनिक कार्यक्रममा उनको विल्कुर्लै रुचि थिएन । भाषण त उनी आफ्ना पतिको पनि सुन्दैनथिन् । घरमै बस्थिन् । आइस हकी उनलाई मनपर्ने खेल थियो । तसर्थ आइस हकी प्रसारण हुने टेलिभिजन च्यानल हेरेरै उनको दिन बित्थ्यो । उनका गफ गर्ने र मिल्ने साथी समेत थिएनन् । छोराछोरीहरु स्कुल, कलेज पढ्न जान्थे । उनी एक्लै घरमा बस्थिन् । लोग्ने शक्तिमा भएका बेला उनी जुनसुकै आकर्षक पदमा जान सक्थिन् । तर उनले राजनीतिमा खासै मन लगाइनन् । आफू लाभका पदमा जानु पतिकोराजनीतिक छवि बिगार्नु हो भन्ने ठान्थिन्भिक्टोरिया ।
ब्रेजनेभ पत्नीलाई मायाले ‘भित्या’ भनेर बोलाउँथे । भिक्टोरिया लोग्नेका मुखबाट यो शब्द सुन्न हुरक्क हुन्थिन् । घरमा पार्टीका नेताहरु आइरहन्थे । सबै भित्याले पकाएको खाना मिठो हुन्छ भन्दै ठट्टा गर्दै खान्थे । आएका पाहुनालाई उनी कहिल्यै भोकै पठाउँदैनथिन् । उनका केही मिल्ने साथी अन्ना दिमित्रियेमा ल्युबिनोभा, तात्याना, आन्द्रोपोमा र लिडिया ग्रिनोभिचहरु थिए । यी पछि राष्ट्रपति बनेका कोन्स्टान्टिन चेर्नेन्को, युरो आन्द्रोपोभ र आन्द्रोईग्रोमिका पत्नीहरु थिए । सधैंजसो आफ्ना घर आइरहने भएकाले भिक्टोरिया उनीहरुसँग गफ गर्थिन् । अर्की एकजना गुप्तचर विभागकी अधिकृत थिएन् ।
रुसी माताहारी नामले चिनिने उनी प्रायः ब्रेजनेभसँगै खाना खान्थिन् । तिनै माताहारीले एकपटक हो झन्डै ब्रेजनेभको ज्यान लिएकी थिइन् । यसका बाबजुद पनि भिक्टोरिया ती युवतीलाई घृणा गर्दैनथिन् । यत्तिसम्म कि अन्य महिलासँग सम्पर्क ब्रेजनेभको रहेको चर्चा चल्दा पनि भिक्टोरिया मेरो लोग्ने त्यस्तो व्याभिचारी छैनन्, असल छन्, मलाई धेरै माया गर्छन् भनेर चुपचाप बस्थिन् । यसबाट बुझिन्छ उनी पढेलेखे पनि अलि पुरातन विचारवाली सोझी र नितान्त घरेलु श्रीमती थिइन् । सैनिक अधिकृत भिक्टर इलिनले सन् १९६९ मा झन्डै ब्रेजनेभको ज्यान लिन खोजेपछि भिक्टोरिया डराइन् । हत्या प्रयासमा गाडी चालक मारिए, ब्रेजनेभ बालबच्चा बाँचे ,। लेनिनग्राड निवासी यी सैनिक अधिकृतले के कारणले ब्रेजनेभलाई सिध्याउन खोजेका हुन्, भिक्टोरिया एक्लै सोचिरहन्थिन् ।
सन् १९८२ मा ताकसन्द जाँदै गर्दा ब्रेजनेभ चढेकोविमान दुर्घटनामा पर्यो । त्यो बेला भिक्टोरिया यिन्तु न चिन्तु भइन् । उनले छोरी गालिता र ज्वाइँ येभ्गी मिलायेभकी छोरी भितुस्यालाई घरमा ल्याएर राखेकी थिइन् । तिनै नातिनीसँग खेलेरदिन बिताउँथिन् उनी । क्रिमियास्थित ब्रेजनेभको कार्यालयमा समय समयमा पूर्वी युरोपका राष्ट्रपतिहरु रोमानियाका निकोलाई चाउचेस्कु, बुल्गेरियाका तोडोर झिम्कोभ, चेकोस्लोभाकियाका गुस्ताभ हुसाक, पोलिस कम्युनिस्ट पार्टीका महासचिव एडवार्ड गिरिकहरु पुगिरहन्थे । भिक्टोरिया उनीहरुसँग भने खुला कुरा गर्थिन् ।
एकपटक रुमानियाली राष्ट्रपति चाउचेस्कुले भिक्टोरियाले पकाएको खाना फालेर उनको बेइज्जत नै गरेका थिए । भिक्टोरियाकोमा खाना खान जानेमा केजीबीका प्रमुख युरी आन्द्रोपोभ, उपप्रमुख सेमेनटिस्भगुन, भिक्टोरियाका भाइ गृहराज्यमन्त्री युरी चर्बानोभ थिए । २८ गोटीले खेलिने खेल ‘डेमिनो’ रातभर खेल्थिन् भिक्टोरिया । एउटा टोलीमा भिक्टोरिया र ब्रेजनेभका निजी डाक्टर रोडियोनोभ र अर्को टोलीमा ब्रेजनेभ र केजीबीका सुरक्षा प्रमुख अलेक्जेन्डर र प्याबेन्थकोरहन्थे । मान्छेको शरीर सधैं स्वस्थ कहाँ हुन्छ ?
सन् १९७४ मा ब्रेजनेभ बिरामी भए । भिक्टोरियाले पतिलाई एकक्षण पनि छोडिनन् । दिनरात पतिको सेवा गरिरहिन् । ब्रेजनेभले सोभियत रुसलाई आफ्नो १८ वर्षे शासनकालमा महाशक्ति राष्ट्रको रुपमा स्थापित गरे । त्यसअघि अमेरिका मात्र महाशक्ति राष्ट्र थियो । उनले अमेरिकासँग टक्कर लिए । गुप्तचर संस्था केजीबीलाई अमेरिकी गुप्तचर संस्था सिआईएभन्दा शक्तिशाली बनाए ।
ब्रेजनेभ मेडल र पदनका भने भोका थिए । भए जति मेडल र पदक आफैंले राखे झन्डै दुई सयवटा । स्टालिनपछि रुसका सबभन्दा शक्तिशाली नेता सम्भवतः ब्रेजनेभ नै बनेका थिए । यद्यपि ब्रेजनेभ दम्पत्ति वास्तविक रुपमा सुखी थिएनन् । छोरी गलिना र छोरा युरी खुँखार डंकार्ड (जँड्याहा) निस्किए । छोराछोरीका कारण ब्रेजनेभले बदनामी झेल्नुप¥यो । छोरी गालिन जँड्याही मात्र थिइनन् अति विलासी जीवन थियो उनको । उनी यौन मामिलामा पनि त्यत्तिकै अगाडि थिइन् । केटा मान्छे फेर्नु मोबाइलको सीमकार्ड फेर्नुजस्तै ठान्थिन् उनी । किशोर अवस्थादेखि नै यी अति रिसाही स्वभावकी थिइन् । युवा संगठन कोम्सोमोलको सदस्य लिन ठाडै अस्विकार गरिदिइन् । कलेज पढ्दापढ्दै सर्कस खेलाडी येभ्गेनीसँग भागिन् । दश वर्षपछि उनले येभ्गेनीसँग डिभोर्स गरिन् १९६१ मा । गालिना आमा भिक्टोरियासँग आएर बस्न थालिन् । ब्रेजनेभले गालिनालाई घरबाट धपाइदिए । उनले फेरि अर्को सर्कस खेलाडी र जादुगर इगोर कियोसँग बिहे गरिन् । ब्रेजनेभले योबिहेरद्द गरिदिए । दोस्रो पति कियोसँग गालिनाले जम्मा नौ रात मात्र गुजारिन् ।
यिनले फेरि सन् १९७१ म गृह मन्त्रालयका कर्मचारी युरी चुर्बानोभसँग बिहे गरिन् । पिताको शक्तिको दुरुपयोग गर्दै पतिलाई सेनाको अधिकृत र पछि प्रथम उपगृहमन्त्रीसम्म बनाइन् । उनको यौन उच्छृङ्खलता यत्तिमै सीमित भएन । ५० वर्ष पुगेपछि उनले १९ वर्षीय केटो बोपरिस बुर्यात्सेलाई पति बनाएर सँगै राखिन् । भव्य आलिसन महलमा बस्थिन् । मर्सिडिज कारमा घुम्थिन् । महँगा भोड्का र ह्स्विकको चुस्की लाउँथिन् । रुसीहरु गालिनाको तमासा चुपचाप हेर्न बाध्य थिए किनकि ब्रेजनेभ सत्ताको नेतृत्वमा थिए । छोरा युरी झनै रुखो स्वभावका थिए । रुसीहरु युरीलाई पटक्कै मन पराउँदैनथे । ब्रेजनेभले छोरालाई सत्तारुढ पार्टीको केन्द्रीय सदस्य बनाइदिए साथै विदेश व्यापारसम्बन्धी उपमन्त्री । यी जोसँग पनि निहुँ खोज्ने झगडा गर्ने गर्थे । पत्नी ल्युदमिला भ्लादिमिरोभ्नालाई समेत पिटपाट गर्थे । यही कारण छोराहरु आन्द्रेई र लियोनिदले बाबुको कहिल्यै आदर गरेनन् ।
जब ब्रेजनेभको निधन भयो युरी आन्द्रोपोभको समयमा भ्रष्टाचार र राज्यकोष दुरुपयोग गरेको अपराधमा पक्राउ परी काराबासको सजाय समेत भोगे । गालिना पनि राज्य शक्तिको दुरुपयोग र हिरा लुकाई विदेश लाने गरेको आरोपमा पक्राउ परिन् । यस विषयमा ब्रेजनेभ सत्तामा हुँदै केजीबीले गालिनासँग सोधपुछ गरेको थियो तर आन्द्रोपोभ सत्तामा पुगेपछि गालिना, युरी र ब्रेजनेभका साला युरी चुर्बानोभ सबैले दण्ड पाए । ब्रेजनेभ सन् १९८२ मा ७५ वर्ष भइसकेका थिए । छोराछोरी र ज्वाइँका हर्कतका कारण उनी सिकिस्त बिरामी परे । नोभेम्बर १० कोबिहान भिक्टोरिया ब्रेजनेभ पल्टिराखेको पलङमा चढिन् । उपरखुट्टी लगाएर बसिन्र नास्ता खान थालिन् । उनी पति निदाइरहेको होला भनेर ढुक्क थिइन् । ब्रेजनेभले यो धरती छोडिसकेको उनले चाल पाउन सकिनन् ।
भोलिपल्ट बिहान ७ः१५ बजे नियमित कार्यक्रम पप संगीत कार्यक्रम प्रसारण भइरहेका बेला राष्ट्रिय टेलिभिजनले अचानक गीत संगीत रोकी लेनिन सम्बद्ध डकुमेन्ट्री प्रसारण गर्न थाल्यो । समाचारवाचकहरु प्नि युनिफर्मबिना सादा पोशाकमा उपस्थित भए । सबै मान्छे अलमलमा परे आखिर के हुँदैछ ? एकछिनपछि वरिष्ठ समाचारवाचक इगोर किरीलोभ आँसु पुछ्दै देखा परे । उनैले राष्ट्रपति ब्रेजनेभको निधन भइसकेको समाचार सुनाए । ब्रेजनेभको शब तीन दिनसम्म रेड स्क्वाएरमा राखियो । त्यसपछि पत्नी भिक्टोरिया सार्वजनिक भइन् । उनले शोकसभामा मन्तव्य दिइन् । सबैले ब्रेजनेभले पार्टीर देशलाई दिएको योगदानको चर्चा गरे ।
१५ नोभेम्बरमा अन्त्येष्टिको कार्यक्रमको आयोजना गरियो । लेनिन र स्टालिन सरह सम्मान दिइयो । शव रेडस्क्वायरमा रातो कार्पेट बिछ्याएर लगियो । अन्तिम सम्मानका लागि कफिन बक्म्स खोलिएपछि भिक्टोरिया अघि बढिन् । निहुरेर शबकोनिधार चुमिन् । नयाँ नेता आन्द्रोपोभले पनि त्यसै गरे । अन्त्येष्टि कार्यक्रममा ३२ देशका राष्ट्रपति, १५ देशका प्रधानमन्त्री, १४ देशका विदेशमन्त्री र चारजना युवराज उपस्थित थिए । ब्रेजनेभको निधन भएको केही समयपछि नै उनको आलोचना सुरु भयो । नयाँ नेता आन्द्रोपोभले ब्रेजनेभले रुसमा नोकरशाहीतन्त्र, नातावाद र कमिशनतन्त्र भित्र्याएको, अर्थतन्त्रलाई ध्वस्त पारेको आरोप लगाए । १८ वर्षको ब्रेजनेभ शासनकाल ‘कालो युग’ भएको बताए ।
सन् १९८८ मा ब्रेजनेभ पत्नी भिक्टोरियालाई सरकारी निवास छोड्न लगाइयो । सेवासुविधा, कामदार सबै खोसियो । राष्ट्रपति हुँदा ब्रेजनेभले पाएका पदक र उपहार सबै खोसेर लगियो । ब्रेजनेभले लेखेका पुस्तकको रोयल्टी रोकियो । भिक्टोरिया अदालतको शरणमा पुगिन् । अदालतले मासिक ३० डलर पेन्सन दिने निर्णय सुनायो । उनी ब्रेजनेभको पुरानो घरमा बस्न गइन् जुन पाँच कोठाको थियो । १३ वर्षसम्म उनले न्यूनतम पेन्सनको भरमा त्यही घरमा जीवन गुजारिन् । उनी सुगरकोबिरामी भइन् । इन्सुलिन लिने पैसा भएन । न त सरकारले हेर्यो न जनताले । अन्तमा सुगरका कारण उनका दुवै आँखाको ज्योति गुम्यो । सन् १९९५ जुलाई ५ मा ८७ वर्षको उमेरमा भिक्टोरियाले सदाका लागि आँखा चिम्लिन् । छोरी गालिना सन् १९८८ मा मेन्टल हस्पिटलमा बितिन् । छोरा युरिनको प्राणान्त डेढ दशक अघि मात्र भयो ।


0 comment