प्रभातराज पाण्डे,

कांग्रेसको राजनीति र सत्ताको उपल्लो घुम्तीमा पुगेका पूर्व गृहमन्त्री बालकृष्ण खाण नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सघाएको गम्भीर आरोपमा सातमहिने जेल जीवनपछि पुनः राजनीतिमा सक्रिय हुन खोजेका छन् ।  पार्टी सभापति शेरबहादुर देउवाका बफादार मानिने खाण गत असारमा जेल चलान भएपछि चार दशकदेखिको ‘पोल्टिकल हाइट’ क्षणभरमै ढलेको थियो ।  उन्नतिको तीव्र बेगबाटै पार्टी र सत्ताको महत्त्वपूर्ण अवसर र मौका पाएका खाण देउवाको सारथि बनेर शक्तिशाली बनेका थिए । 

मुद्दाको अन्तिम टुंगो नलागे पनि धरौटीमा रिहा भएका खाण आफ्ना लागि अनुकूल वातावरण बनाउँदै पुरानै ‘लिगेसी’बाट देउवासँगको निकटतालाई जोगाउँदै राजनीतिमा ‘कमब्याक’ को तयारीमा देखिएका हुन् ।  कांग्रेस भ्रातृ संगठन नेविसंघ र तरूण दलको सभापति भएर पार्टीको केन्द्रीय राजनीतिमा पुगेका उनी जेल पर्दा पार्टीभित्र निलम्बनको कुरा उठे पनि पार्टी सभापति देउवा त्यसलाई अघि नबढाएपछि  खाण फेरि राजनीतिमा सक्रिय हुन्छन् भन्ने चर्चालाई बल पुगेको थियो । खाण शनिबार देउवाको घरमै छिरेर भेटघाट गरिसकेका छन् । खाणलाई स्वयंलाई भेट्न प्रभावशाली नेतादेखि कार्यकर्ताको भीड लागेपछि उनको हौसला बढेको छ ।  

गृहजिल्ला रूपन्देहीमा पार्टी र भविष्यको संसदीय राजनीतिमा अब खाणको भूमिका कस्तो रहला भन्ने कौतुहला आमकांग्रेसजनमा देखिन्छ । अदालतले रिहा गरिसकेपछि उनको पुरानो निष्ठा र राजनीतिक मूल्य हेर्दै पार्टीमा जिम्मेवारी दिनुपर्ने नेताहरूले बताउन थालिसकेका छन् ।  कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्कर्माले बालकृष्ण खाण नेपाली कांग्रेसको राजनीतिमा थप शक्तिशाली भएर फर्किने दाबी गर्छन् ।

‘व्यक्तिलाई आरोप, लाञ्छना र अभियोग लाग्दैमा दोषी भन्न मिल्दैन,’ विश्कर्माले लोकान्तरसँग भने, ‘उहाँ (खाण) कांग्रेसमा ‘एप्सेन्ट’ हुनु भनेको पार्टीलाई ठूलो क्षति हुनु हो । उहाँ कांग्रेसमा फर्किनुहुन्छरफर्किनुपर्छ । कुशल र असल संगठक खाणको काम कांग्रेसको जनजनमा छ । खाणको देनबाटै तरुण दल र नेविसंघको साख अहिले पनि छ,’ विश्वकर्माले थपे, ‘पार्टीभित्र केही हो–हल्ला गर्ने समूहले खाणलाई कारबाही गनुपर्ने भन्दै मानमर्दन गर्ने कोशिश गरेका पनि थिए, त्यो गलत थियो । अब खाण शक्तिआर्जन गरेर पुरानै ओझको राजनीतिमा आउनुहुन्छ भन्नेमा म ढुक्क छु ।’ 

खाणबाट राजनीतिकरूपमा प्रशिक्षित भएर कांग्रेसको केन्द्रीय राजनीतिमा आएका धेरै नेता छन् । पार्टीमा ‘पावरफूल’ संस्थापन समूहका नेताको खाणप्रतिको बुझाइमा खासै अन्तर परेको देखिन्न । संस्थापनइतर समूहका नेता शेखर कोइरालासँग पनि खाणको अहिले निकटता बढेको छ । खाण जेलमा हुँदा शेखर उनलाई भेट्न पुगेका थिए । पार्टीभित्र शक्ति सन्तुलन र समन्वयमा खाण धेरै प्रमुख भूमिकामा देखिन्थे । पार्टीभित्र गुटबन्दी बढ्दा खाण सहजीकरण गर्ने नेतामा पनि पर्थे । सदाबहार रूपमा देउवासँग रहेर उनको राजनीतिक, आर्थिक र कूटनीतिक चासो पनि उनलै सम्हाल्ने गर्थे । 

राजनीतिक विश्लेषक चन्द्रकिशोर झा खाणको राजनीतिमा पुनर्उदय सर्वोच्चको पूर्ण फैसलामा निर्भर हुने देख्छन् । ‘उहाँ साधारण तारेखमा रिहा हुनुभएको होइन,’ झाले लोकान्तरसँग भने, ‘अदालतको फैसला आउँदा दोषी करार गर्यो भने गाह्रो हुन्छ । अदालतले सफाइ दियो भने फेरि राजनीतिमा सक्रिय हुन गाह्रो छैन किनभने उहाँलाई पार्टीको संस्थापनले संरक्षण गरिराखेको छ ।’

झाले थपे, ‘प्रश्नहरू उठ्न सक्छन् । नेपालको राजनीतिमा गैरकानूनी काम गर्नेहरूको बाहुल्यता छ । सञ्जय टक्लाले चुनाव जित्छन् । जनताले चाहे भने ‘चितवन क्रान्ति’ गर्न सक्छन् । अदालतले छेकबार नलगाएर क्षय भएको शक्ति पुनः आर्जन गरेर संसदीय राजनीति र पार्टी राजनीतिमा नआउलान् भन्न सकिँदैन ।’ खाण अनुसन्धानको घेरामा पर्दा सभापति देउवा संकटमा परेजस्तो देखिन्थे । त्यही बेला खाणले देउवा र सरकारबाट दरिलो साथ पनि खोजेका थिए ।

आफूलाई जेल जानबाट रोक्न पार्टी र सरकारको भूमिका नभएको भन्दै खाणले चित्त दुखाएका थिए । आफूमाथि लागेको आरोपलाई खण्डन गर्दै खाण पुस पहिलो सात गृहजिल्ला आउने तयारीमा छन् । खाणलाई जिल्लामा स्वागतका लागि कार्यकर्ता तयारी छन् । गृहजिल्लामा केही दिन बस्दा उनले भेटघाटका कार्यक्रम पनि राखेको बताइएको छ । अर्का राजनीतिक विश्लेषक विजयकान्त कर्ण कार्यकताले छिट्टै फर्किने कुरा गर्नु स्वाभाविक भए पनि पुरानै हैसियतमा तत्काल पुग्न गाह्रो देख्छन् । 

खाण वि।सं। २०४८ सालदेखि रूपन्देही निर्वाचन लड्दै आएका छन् । उनी २०७९ मा गृहमन्त्री भएकै बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वयोवृद्ध नेता दीपक बोहोरासँग पराजित हुन पुगेका थिए । कांग्रेस क्षेत्रीय सभापति सुशील गुरूङले खाणलाई षड्यन्त्रपूर्वक फसाइएको भन्दै छिट्टै उनले न्याय पाउने बताए । ‘राजनीतिमा उतारचढाव भइरहन्छन्,’ सभापति सुशीलले भने, ‘उहाँ आफू डोमिनेट हुनुपर्छ भन्ने छैन । उहाँजत्तिको व्यक्ति राजनीतिमा पूर्णरूपमै आउनुहुन्छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद वीरबहादुर रानाले राजनीति गर्दा दाग लाग्यो भन्दै राजनीतिबाट बाहिरिन आवश्यक नभएको बताउँछन् । ‘पार्टीमा उहाँको योगदान ठूलो छ । मुद्दा टुंगो लाग्ला, उहाँलाई पार्टीमा फर्काउनैपर्छ,’ नेता रानाले भने । गएको मंसिर १२ गते भैरहवामा कांग्रेस रुपन्देही प्रथम जिल्ला सम्मेलनमा सभापति देउवासँग जिल्लाका नेता कार्यकर्ताले खाणलाई फसाइएको बताएका थिए । त्यसपछि देउवाले खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए । 

राजनीति शुरू गर्दादेखि यहाँसम्म आइपुग्दा खाणको राजनीतिक यात्रा भने सहज ढंगले अगाडि बढेको छैन । २०३६–०३७ देखि २०४६ सालसम्म प्रजातन्त्र पुनःस्थापनाका लागि विद्यार्थी राजनीतिको अगुवाइ गर्दै रुपन्देही, पाल्पा, स्याङ्जा, कास्की, चितवन, काठमाडौं, ललितपुर, नुवाकोटका प्रहरी कष्टडीमा पटक–पटक थुनिएका थिए । साथै, जेलजीवन पनि बिताएका थिए । जिल्लामा ठूला विकास आयोजना ल्याउनेमा उनको योगदान छ । कठोर चुनौती सामना गर्दै आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने क्षमता उनको छ ।