प्रभातराज पाण्डे,

नेपाली सेनाभित्र ढाँट्ने रोगले जरो गाडेको छ । कसैले उमेर ढाँट्ने र कसैले शैक्षिक प्रमाणपत्र ढाँट्ने रोगले सिंगो नेपाली सेनाको गरिमा पनि कमजोर हुँदै गएको छ । अझ सेनाभित्रका अधिकारीहरुले पनि नेताहरुको संगतमा लागेर होला जे गरे पनि हुन्छ भन्ने मानसिकता बोक्दा कतै यो संस्था नै पो धरापमा त छैन ? भन्ने प्रश्नसमेत उठेको छ । माओवादीको प्रवेश सेनामा भएपछि त सेना अहिले लथालिंग नै भएको छ । सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्ने निर्णयले त झन् सेनाको गरिमामाथि हिलो नै छ्यापेको छ । त्यसो त प्रधानसेनापति प्रभुराम शर्माले पहिलोपटक नेपाली सेनाको उमेर विवाद र केही समयअघि सहायक रथी अधिकारीको पदावधि थप गरिएको सम्बन्धमा मुख खोलेका छन् ।

उनले प्रधानसेनापति भएपछि पहिलो पटक सेना भित्रको उमेर विवाद, सरुवा–बढुवालगायत विषयमा बोलेका हुन् । सेनाभित्र उमेर विवाद भएपछि सार्वजनिक रुपमा सैनिक उच्च नेतृत्वमाथि प्रश्न उठेपछि उनी बाध्य भएर जवाफ दिन उत्रिएका हुन् । यसमा शर्मा पनि बाकिफ छन् । उनले उनले रिक्त रथी दर्जामा पदोन्नति प्रक्रिया शुरु भएसँगै सम्भावित उम्मेद्वारहरुको उमेर, शैक्षिक योग्यता आदिलाई विषयवस्तु बनाई अतिरञ्जित तवरले प्रचारबाजी भएको बताएर पन्छिन खोजे । उनले शैक्षिक प्रमाणपत्र, नागरिकताजस्ता कागजातहरु आवश्यकताअनुसार सम्बद्ध निकायहरुबाट यकिन गरेरमात्र जंगीअड्डाले कारबाही अघि बढाउने गरेको पनि बताएका छन् । 

कहिले उमेर र कहिले शैक्षिक प्रमाणपत्रका कारण यसअघि पनि थुप्रै अधिकारीले अवकाश लिन बाध्य भएका उदाहरण छन् । त्यस्तै सेनामा जातिलाई निकै महत्वसमेत दिने गरिन्छ । शर्मा भन्दा अगाडि बाहुनलाई सेना प्रमुख बनाउन हजार पटक सोच्नुपर्छ भनेर तत्कालीन दरबारले भन्ने गर्दथ्यो । अनि गणतन्त्र आएपछि सरकारले खेलिरहेको छ । प्रधानसेनापतिको रुपमा हेरिएका अवकाश प्राप्त उपरथी ताराध्वज पाण्डेको रथीमा बढुवा गर्ने सिलसिलामा उमेर विवाद देखिएपछि एकाएक उमेर र शैक्षिक प्रमाणपत्रका घटना बाहिरिएका हुन् ।

त्यसपछि पाण्डेले राजीनामा दिएका थिए । पाण्डेको राजीनामापछि वरिष्ठ उपरथी अशोक सिग्देललाई रथीमा बढुवा गरिएको छ । सिग्देल पनि केही समय त विवादमा आएकै हुन् तर उनलाई भावी प्रधानसेनापतिको रुपमा हेरिएको छ । उनले साउनभदौमा प्रधानसेनापतिको पगरी गुथ्नेछन् । सिग्देललाई प्रधानसेनापति बन्न नदिन पनि अनेक चलखेल भएका थिए । शर्माले विगतमा जाँचबुझ गर्ने क्रममा आफ्नो जिम्मेवारीमा परेका केही पदाधिकारीहरुको कागजात शंकास्पद देखिएकाले कारबाही गर्न सिफारिस गरेको उदाहरण पनि दिए । उनले संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रुपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने बताए । उनले स्वस्थ प्रतिस्पर्धा व्यक्तित्व विकासका लागि उपयुक्त र स्वभाविक भए तापनि अमर्यादित र अस्वस्थ्य ढंगले अर्कालाई दोषी देखाई आफू अगाडि बढ्न सकिन्छ भन्ने दुर्भावना नराख्न सुझाव दिएका थिए ।

शर्माले सहायक रथी अधिकारीको सहायक रथीमा थप तीन वर्ष पदावधि थपिएको बारेमा पनि प्रस्ट पारे । केही समय अघिमात्र सरकारले पूर्व लडाकुको रुपमा सेनामा समायोजन भएका अधिकारीको पदावधि थपेको थियो । ‘मेरो र प्रधानमन्त्रीको बीचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भई विशेष ढंगले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधानसेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दल विशेषलाई खुशी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेको जस्ता व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुष्प्रचार पूर्णतः गलत हो’, उनले भनेका थिए । उनले जतिसुकै स्पष्ट पारे पनि अवकाश पाउनु पर्ने अधिकारीलाई पटक पटक के देखेर बढुवा गरिएको छ भन्ने जिज्ञासाको जवाफ उनले दिन सकेनन् । सेनाकै नियमावलीलाई लत्याएर कुनै विशेष काम बिना नै अधिकारीलाई टिकाइरहनु पर्ने विषय गम्भीर छ ।