प्रभातराज पाण्डे,

महान् मानिसहरू जता जान्छन् बाटो त्यही हो भन्ने शास्त्रको वचन छ । पद वा कदरले मानिस महान् हुँदैन, कर्मले मात्र हुन्छ भनेका छन्, ज्ञानीजनले । सज्जन, दुर्जन र महाजन हरेक राष्ट्रमा हुन्छन्, तसर्थ कसलाई आदरणीय, सम्माननीय र बन्दनीय मान्ने भनेर हेक्का राख्नु आवश्यक छ । महान् मानिस विचार, दर्शन र सिद्धान्तमा छलफल गर्छन् । सर्वसाधारण विभिन्न वस्तुको चर्चामा समय बिताउँछन् । तुच्छहरू गाली, मनोरञ्जन र आत्मरतिमा रमाउँछन् । यो सुसम्पन्नदेखि विपन्न राष्ट्रमा देखिएको यथार्थ हो । यस्तो चिन्तनलाई धेरैजसो विद्धान्ले स्वीकारेका छन् ।

असलले भूल स्वीकार गर्छन् । सञ्जन र दुर्जनको भेद थाहा पाउने सरल उपाय पनि यही हो । किनभने मानिसको पहिचान व्यवहार र वचनबाट सिद्ध हुन्छ । राष्ट्र र समाजका लागि निस्वार्थ सेवा गर्ने महामानव (महाजन) सकारात्मक विचार, सरल व्यवहार र उदाहरणीय चरित्रका कारण सबैका प्रिय बन्छन् । उनीहरू व्यक्तिको जात, धर्म, परम्परा, संस्कृति र आधारभूत चरित्रको बारेमा विवाद गर्दैनन् । मानिसका असल गुण मात्र हेर्छन् । क्षमा माग्छन् र क्षमा दिन्छन् । उनीहरूलाई थाहा छ, मिथ्याका हजारौँ आवरण हुन्छन्, तर सत्यको आवरण र आचरण एउटै हुन्छन् । सत्य बहुरूपी हुँदैन । तसर्थ, सज्जन वा महाजनले राष्ट्र वा समाजलाई आफ्नो स्वार्थका लागि पतनजतिर लैजाँदैनन् । अरूलाई अनाहकमा सताउने, दुष्ट प्रवृत्ति र अशिष्ट चरित्र भएका मानिसबारे गरिएको अनुसन्धानमा दुर्जन एक प्रकारका मानसिक रोगी भएको निष्कर्ष निकालिएको छ । उनीहरू अरूको पीडा र असफलतामा रमाउँछन् । अरूलाई सजिलै नियन्त्रण गर्न सकिन्छ भन्ने ठान्छन् । सडकमा कसैले कुटाइ खाँदैछ भने कसको कसुर छ भन्ने नबुझी ‘ठोक–ठोक’ भन्ने गर्छन् । त्यस्ता मानिस राजनीतिमा पनि भेटिन्छन् तर दायित्व लिन चाहँदैन । समाज र राष्ट्रलाई त्यस्ता निर्दयी निरङ्कुश र अनुत्तरदायी मानिस बोझ बन्ने गर्छन् । 

दुर्जनहरू सज्जनमा अनुवाद भएका उदाहरण पनि छन् । एउटा बिन्दुमा पुगेपछि अतीतले जब पीडा दिन्छ, त्यो बेला मानिसले पछुतो मान्छ । कुख्यात डाँका रत्नाकर कालान्तरमा ‘वाल्मीकि ऋषि’ भए । कुनै व्यक्ति आफैँमा समस्या हँुदैन । उसका दुष्कर्म र खराब आचरण मात्रै समस्या हुन् । खराब मानिसमा पनि केही खुबी हुन्छ । त्यसकारण त्यस्ता विकार हटाएर राष्ट्रियताको हितमा प्रयोग गर्न सकिन्छ । यथार्थ के हो भने विश्वमा जहाँ जहाँको हिंसा अराजकता र बेथिति छ, त्यहाँ दुर्जनको हिंसा (भायलेन्स) भन्दा धेरै सज्जन र महाजनको मौनता (साइलेन्स) दोषपूर्ण देखिन्छ । उनीहरूले दुर्जनका दुव्र्यवहारको ऐनमौकामा प्रतिवाद नगरेकै कारण हिंसा, अराजकता र मनपरि फैलिएको हो । 

असल मानिस समाजको मालिक होइन, सेवक बन्न रुचाउँछन् । हामी उनीहरूलाई सम्मान गर्छौं । शिष्ट, सभ्य, सुसंस्कृत र शान्त मानिसले समाज र राष्ट्रलाई सदैव बाटो देखाउँछ । अवैध र धन, सत्ता, शक्ति वा कुनै पनि तुजुकबाट उनीहरू टाढै बस्न रुचाउँछन् । त्यता मानिस राजनीतिमा छन् भने सिद्धान्त, नीति, आदर्श एवं उच्च अनुशासनमा बाँधिएका हुन्छन् । महान् मानिस सदैव शान्त हुन्छन् । धेरै उचाइमा पुग्ने सौभाग्य पाए पनि धरातल बिर्सिंदैनन् ।

विदुर नीतिमा भनिएको छ– “शठे शाठ्यं समाचरेत्” अर्थात् मूर्खसँग मूर्ख भएरै प्रस्तुत हुनुपर्छ । वैदिक कालदेखि नै दुर्जनलाई तह लगाउन दण्ड–संहिता बनाइयो । समाजलाई सताउने, विग्रह गराउने र शान्ति–सुव्यवस्था खल्बल्याउने प्रवृत्तिलाई दमन गर्न आवश्यक ठानेर ज्ञानी, सज्जन र महाजन मिलेर आचारसंहिता बनाए । प्राचिन धर्मग्रन्थ अध्ययन गर्दा गीता, रामायण, महाभारत, वेद र उपनिषद् आदिमा दुष्कर्म रोक्ने विधि छन् । भगवान कृष्णले महाभारत युद्धमा भीमलाई प्रेरित गरेर आफ्नै नातेदार दुर्योधनको वध गराएको प्रसङ्ग आउँछ । रामायणमा भगवान् रामले सुग्रिवसँग मित लगाएर सुग्रीवका दाजु बालीको हत्या गराए । तुलसीदासकृत रामायणमा बाली दुर्जन थिए भनिएको छ । किस्किन्धा नामक बाँदर राज्यका राजा थिए, बाली । उनी अलोकप्रिय मात्रै होइन, अत्याचारी भएकाले वध गर्नुपरेको रामायणमा आउँछ । शुक्रनीति, चाणक्य नीति, विदुर नीति जस्ता ग्रन्थमा जनताले राजकाजको दायित्व असल र योग्यलाई मात्र दिनु भनिएको छ । योग्य मानिस चिन्ने योग्यता नभएकाहरूले खराब, दुष्ट र दुर्जनलाई राष्ट्र हाँक्ने सारथि बनाएका धेरै उदाहरण छन् । त्यसको दुष्परिणाम राष्ट्र र जनताले भोग्नु पर्छ । धेरै राष्ट्रले भोगेका छन् ।

अस्थिरता, अराजकता, भ्रष्टाचार, बेथिति र विकृतिको दलदलमा परेपछि राष्ट्रको उत्थान हँुदैन । केही दुर्जन धनी होलान् तर राष्ट्र कङ्गाल बन्छ । सज्जन, दुर्जन र महाजनको पहिचान गर्न नसक्दा राष्ट्र जर्जर बन्छ । त्यस्तो स्थितिमा राष्ट्रियको भविष्य भयावह बन्दै जान्छ । त्यसैले जनता नै सचेत नभएसम्म कुनै पनि राष्ट्र सुरक्षित रहँदैन ।