
विष्णु भट्टराई,
काठमाडौंं – सप्तरीमा पनि सीमा समस्या त्यस्तै छ । त्यहाँको तिलाठी क्षेत्रमा पर्ने दशगजाको सीमामा गाडिएको २ सय २३ (२२३/१३) नम्बरको जंगे पिलर उखेलेर अतिक्रमणको प्रयास गरिएको छ । नेपाली भूमि मिच्ने योजनाका साथ भारतीय अद्र्धसैन्यबल एसएसबीले उक्त पिलर उखेलेर फ्याँकेको हो । यसअघि भारतीय पक्षले एकतर्फी नदीको बहाव रोक्न सीमा क्षेत्रमा बाँध निर्माण गरेपछि सप्तरीका अधिकाँश गाउँ जलमग्न हुँदै आएका छन् । स्थानीयबासीले बाँध भत्काउने प्रयास गर्दा दुईतर्फी झडपका घट्नाहरु भएका छन् । बाँध भत्काएर पानीको बहाव खोली बस्ती बचाउने प्रयास गर्दा तिलाठीका देवनारायण यादव माथि भारतीयहरुबाट सांघातिक हमला भएको थियो र त्यसले राष्ट्रिय चर्चा पाएको थियो । उनलाई ग्रेटर नेपाल पत्रिकाले बार्षिक उत्सवको अवसरमा काठमाडौं बोलाएर सम्मान समेत गरेको थियो । जब बर्षा लाग्छ तिलाठी जलमग्न हुन्छ । सप्तरीलाई डुवानबाट बचाउन सरकारले विशेष कुटनीतिक पहल नगरेकोमा स्थानीय जनता दुःखी छन् ।
नदीले बगाएर क्षतिग्रस्त भएका नेपालगञ्जस्थित नेपाल–भारत सीमानाका १२ वटा सीमास्तम्भ र अन्य २४ गरी ४८ वटा सीमास्तम्भ क्षतिग्रस्त भएको बर्षौ वितिसकेपनि अझै पुननिर्माणको पर्खाइमा छन् । नेपाल र भारतलाई छुट्याउने बाँके जिल्लामा पर्ने ४८ वटा अन्तर्राष्ट्रिय सीमा स्तम्भको पुननिर्माणमा लापर्वाही गरिँदा दुई देशको सिमाना नै पत्ता नलाग्ने अवस्था छ । बाँकेको राधापुर चकियाको जंगलमा रहेको ६५७, कटकुइयाँ बानियाँ गाउँमा रहेको ५३५, भगवानपुरमा रहेको ६४४ र होलियाको राप्ती बगरमा रहेको ६४५ नम्बरको चारवटा मुख्य तथा ८ वटा सीमा स्तरलाई बाढीले बगाएपछि अझै पुर्निनिर्माण भएका छैनन् । राप्ती नदीले नरैनापुरमा पर्ने दुईवटा तथा पटैया र होलियामा पर्ने तीनवटा गरी आठवटा सहायक स्तम्भ हराएका छन् । विभिन्न कारणले ५ वटा मुख्य र १९ वटा सहायक स्तम्भ क्षतिग्रस्त अवस्थामा छन् ।
बाँके जिल्लाको लक्ष्मणपुर कटकुईयाँ, मटहैयार, कालाफाँट प्रिपहवा, नरैनापुर क्षेत्रमा अन्तर्राष्ट्रिय सीमास्तर रहेको दशगजा क्षेत्रमा अतिक्रमण गरी भारतीयहरुले घर निर्माण गरेका छन् । सीमास्तम्भ हराएकै कारण कतिपय स्थानमा दशगजा क्षेत्रमै बाक्लोवस्ती बसिसकेको छ । नेपालगञ्ज भन्सार र भारतीय पैडिहा बजार नजिकको ६५२ नम्बरको सहायक स्तम्भ गायव भएपछि दशगजाको निशाना नै मेटिएको छ । प्रिपहवा अन्तर्गत रुपैडिहा र जमुनाबजार क्षेत्रको तीनसय मिटर क्षेत्रमा निशानै नरहने गरी दशगजा अतिक्रमण गरिएको छ । बाँकेको सीमाक्षेत्रमा मुख्य ३३ र सहायक २७४ वटा सीमा स्तम्भ छन् ।
कैलालीको नेपाल भारत सीमा क्षेत्रका स्तम्भ हराएका छन् । द्विपक्षिय सिमामा रहेको मोहनानदीको कटान तथा डुवानमा परी सीमास्तम्भ हराएका हुन । सीमा स्तम्भ नम्वर १०३, १०४, १०६, १०८, ११० र ११४ हराएका छन् । कैलालीको सीमाक्षेत्रका ७३ मुख्य र ९९ सहायक स्तम्भ मध्ये २५ वटा जिर्ण छन् । सीमास्तम्भ नभएकै कारण भारतीय पक्षले नेपालको सहमति बिना मनोमानी ढंगले १११ नम्बरको स्तम्भ आफै बनाएको छ ।
पूर्वी नेपालको भारतीय सीमा क्षेत्रमा जिर्ण बनेका सीमा स्तम्भ निर्माण गर्न नेपाल र भारतका अधिकारी बीच पटक पटक सहमति हुनेगर्छ । तर भारतीय पक्षले गम्भिरता नदेखाउँदा समस्या समाधान हुन सकेको छैनन् । दुवै देशलाई असर पु¥याउने सीमा क्षेत्र समस्या समाधानका लागि नेपाल–भारत अधिकारी बीच ०६९ भदौ २० मा भारतको सिलीगुडीमा बैठक बसी सातबुँदे सहमति समेत भएको थियो । सातबुँदे सहमतिको छलफलमा इलाम, पाँचथर, ताप्लेजुङ र झापाका प्रजिअ, प्रहरी प्रमुख तथा दार्जिलिङका डिएम र सुरक्षा प्रमुखहरु बीच नेपाल भारत बीचको सीमा समस्या सुल्झाउन सहमति भएको थियो । सहमति विपरित भारतीय पक्षले इलामको पशुपतिनगर सन्दकपुरमा नेपाली भुभाग अतिक्रमण गरेको छ । ताप्लेजुङ र पाँचथरका विभिन्न स्थान पनि भारतको अतिक्रमणमा परेका छन् । झापाको बाहुनडाँडा, भद्रपुर, महेशपुर, टाघनडुब्बा, गौरीगञ्ज लगायतको क्षेत्रमा पनि सीमास्तम्भ सारेको छ । भारतीय पक्षले नेपाली जामिन हडपेको छ । मेची नदीले धार परिवर्तन गर्दा भद्रपुरमा ठूलो क्षेत्र भारतीय कब्जामा परेको छ । स्मरणरहोस मेची पारी पनि नेपाली बस्ती छ । त्यसलाई भारतीय पक्षले आफ्नो क्षेत्रभन्दै आए पनि अहिले सशस्त्र प्रहरीबल बसेकाले स्थानीयले ढुक्कको सास फेर्न पाएका छन् ।
चितवनस्थित सोमेश्वर क्षेत्रमा नेपाली भूमिलाई मिचेर भारतले मन्दिर बनाएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सोमेश्वरको प्राचीन शिव मन्दिर भत्काएर नयाँ मन्दिर बनाएको छ । सोमेश्वरगढीमा चैते दशैमा लाग्ने मेलामा पनि एसएसबीले नेपालीलाई दुःख दिदै आएको छ । सप्तरीकै भन्टाबारीमा पनि सीमा अतिक्रमण गरिएको छ । भारतले नेपालको सीमा अतिक्रमण, दशगजामा बाटो, भवन, टहरा र खाडल खनेकाले त्यसलाई रोक्न सरकारले कुटनीतिक पहल चाँडो गर्नुपर्ने हो । अन्तर्राष्ट्रिय नियम विपरीत भारतले ‘इण्डियन रिभर लिंकिङ’ प्रोजेक्ट वा अन्य सन्धि सम्झौताको नाममा नेपालको जलस्रोत आफ्नो नियन्त्रणमा लिन बाँध र तटबन्ध निर्माण गरेको छ दशगजा क्षेत्रमै । लक्ष्मणपुर बाँध, खुर्दलोटन बाँध, गिरिजापुरीबाँध लगायत दुईदर्जन बढी बाँधहरु भारतले सीमा क्षेत्रमा निर्माण गरेको छ । नदीको प्राकृतिक बहावलाई रोकी नेपालको तराई क्षेत्रलाई सालिन्दा डुवानमा पारिरहेको छ भारत । नेपाली भूभाग नै मिचेर रौतहटमा पक्कि बाँध कसेको छ । भारतीय ज्यादती विरुद्ध जनस्तरबाट अवाज उठेपनि सरकार भने मौन छ ।
नेपाल र भारत सिमानामा रहेका ८ हजार ५ सय ५४ स्तम्भमध्ये ३ हजार ६ सय स्तम्भ प्रायः जिर्ण छन् । यस्तै १ हजार ३ सय १४ स्तम्भ मर्मतको पर्खाइमा छन् । नेपाल र भारत दुबै देशका प्राविधिकले निरीक्षण गर्दा ५ सय सीमास्तम्भ हराएका छन् । ८ हजार ५ सय ५४ स्तम्भ मध्ये ८ हजार ५४ मात्रै भेटिएका हुन् । कतिपय स्तम्भ बाढीले बगाएको र कतिपय नेपाली भूमि अतिक्रमण गर्ने नियतले भारतीय पक्षले हटाएको छ । विवादरहित स्थानमा दुईदेशका टोलीले जोरविजोरका हिसाबले पुननिर्माण र मर्मत गरको भनिए पनि यथार्थता त्यस्तो छैन । नेपालले विजोर र भारतले जोर नम्बरका स्तम्भहरु पुननिर्माण र मर्मत गरेका थिए । तर अवस्था फेरि उस्तै छ । सीमा व्यवस्थापन गर्न गठित ‘बाउन्ड्री वर्किङ ग्रुप’ को अबको बैठकमा नेपालले कालापानी, सुस्ता लगायतका क्षेत्रको सिमाङ्कनमा भारतलाई राजी गराउन सक्नुपर्छ ।
इतिहासमा कहिल्यै नभएको अखण्ड भारतको ‘मुरल’ भारतीय नयाँ संसदीय भवनमा अंकित गरिएको छ । त्यसमा नेपालका भूभाग लुम्बिनी, नवलपरासी र विराटनगरलाई समेत समेटिको छ । प्रस्ट छ मोदी सरकार उत्तर हिमालयसम्म भारतको सीमा मान्ने नेहरु ‘डक्ट्रिन’ मै चलिरहेको छ । जसले नेपालको अस्मिता माथि धावा बोलिरहेको छ ।


0 comment