प्राकृतिक ग्याँस सारै हलुका र चाँडै उडेर जाने हाइड्रोकार्बनहरु, जस्तैः मिथेन, इथेन, प्रोपन र ब्युटेनबाट बनेको हुन्छ । यस बाहेक नाइट्रोजन, हाइड्रोजन सल्फाइड, कार्बनडाइअक्साइड जस्ता ग्याँसहरु पनि मिसिएका हुन सक्छन् । तर प्राकृतिक ग्याँसको मुख्य अवयव चाहीँ मिथेन नै हो ।
प्राकृतिक ग्याँस विश्वमा पेट्रोलियम जस्ता तेल पदार्थहरुसित घुलेर बसेको अथवा छुट्टै अवस्थाहरुमा पनि पाइएका छन् । यस विषयमा स्पष्ट तथ्य अझैसम्म “थाहा नभए पनि वैज्ञानिकहरु प्राकृतिक ग्याँस र पेट्रोलियम पदार्थ बन्ने तरिका एउटै हुन सक्ने मान्दछन् ।
बालुवा, माटो आदि थुप्रिने समुद्र वा तालका पिँधहरुमा किटाणुहरुको क्रियाकलाप निकै तीव्र हुन्छ । यस्तै क्रियाकलापहरुका कारण प्राङ्गारिक वस्तुहरु मिथेन लगायत अन्य ग्याँसहरु उत्पादन हुन्छन् र जम्मा हुँदै गएको माटो वा बालुवाको सतहमा मिसिन पुग्दछन् । त्यस्तो बालुवाको सतहमा अरु बालुवा र माटो थपिए पछि कीटाणुहरुको क्रियाकलाप अवरुद्ध हुन पुग्दछ र उत्पादित प्राङ्गारिक वस्तु किरोजनमा रुपान्तरित हुन जान्छ । किरोजन विखण्डन भए पछि पेट्रोलियम र प्राकृतिक ग्याँस बन्न पुग्दछ । सुरुमा प्राकृतिक ग्याँस १ हजारदेखि ३ हजार मिटरभित्रको सतहमा तेलसँग रहेको हुन्छ ।
यो पनि थाहा पाऔं कि ग्याँस उत्पादन हुने सतह अत्यन्तै कडा र अभेद्य हुन्छ । पछि ग्याँस माथिल्लो सतहमा आइ जम्मा हुन्छ र त्यसलाई नै ग्याँसको भण्डार भनिन्छ । वैज्ञानिकहरुले विश्वमा कुल ४ सय २० खर्ब घनमिटर जति प्राकृतिक ग्याँस भण्डार हरेको अनुमान गरेका छन् । प्राकृतिक ग्याँस जमीनबाट निकाल्ने बित्तिकै प्रयोगका लागि उपयुक्त भने हुँदैन । त्यस्तो ग्याँसमा बल्ने ग्यास बाहेकका अरु विभिन्न तरल एवं ठोस वस्तुहरु पनि मिसिएका हुन्छन् जसलाई प्रयोग गर्नु अघि हटाउनु पर्दछ । हिजोआज विश्वका कतिपय राष्ट्रहरुमा पाइप लाईन मार्फत प्राकृतिक ग्याँस टाढा टाढासम्म वितरण समेत गरिएका छन् ।
नेपालमा पनि प्राकृतिक ग्याँस हुन सक्ने अनुमान नेपाली वैज्ञानिकहरुले गरेका छन् । केही वर्ष अघि खानी तथा भूगर्भ विज्ञानले काठमाडौंको त्रिपुरेश्वर, टेकु र विष्णुमती छेउमा खनिएका इनारमा मिथेन ग्याँस सङकलन गरेको थियो । त्यस अध्ययनबाट करिब १५ सय घनमिटर मिथेन ग्याँस निकाल्न सकिने कुरा बताइएको थियो ।
0 comment