प्रभातराज पाण्डे,

ओंकार शव्दद्धारा परमात्माका स्वरुपको बोध हुन्छ । श्रवणेन्द्रिय शक्ति लुप्त भएको अवस्थामा पनि ओंकार शव्द भित्र ध्वनित हुन्छ । अ, उ, र म् यी तीन वर्णले सत्व, रज र तम तीन गुण, ऋक, यजु, साम तीन वेद, भूः, भुवः, स्वः तीन व्याहृति, जाग्रत, स्वप्न, सुषुप्ति तीन वृत्तिको भाव धारण गर्दछन् । ओंकारबाट नै ब्रह्माजीले अ देखि औसम्मका स्वर र क देखि ह सम्मका व्यंजन, ह्रस्व, दीर्घ आदिले यूक्त वर्णमाला बनाए । जसबाट चार वेदहरु प्रकट भए । यसरी संपूर्ण वेद ॐको विस्तार मात्र हो । 

हुन त, ब्रह्मको कुनै नाम छैन तर पछि मानिसहरुले त्यसलाई जुन नाम दिने प्रयास गरे त्यसमा सवै भन्दा उचित यहि ॐ हो । एकाग्रचित्त भई घोरिएका ब्रह्माजीको कण्ठ तालु आदि कहिँ पनि संघर्ष नभएको एक अत्यन्त विलक्षण नाद प्रकट भयो । त्यहि नादबाट अ,उ,म् यी तीन मात्राहरुले युक्त ओम् प्रकट भयो । यस शक्तिले नै प्रकृति अव्यक्तबाट व्यक्त रुपमा परिणत भयो । ओँकार स्वयं अव्यक्त अनादि हो । परमात्मस्वरुप भएकोले स्वयं प्रकाश हो । 

धेरै ग्रन्थमा ॐकारको व्याख्या छ । अ,उ,र म् (अव्,उठ्, मन् र गुण) मिलेर ॐ बनेको छ । जसले उत्पत्ति, स्थिति र लयलाई व्यक्त गर्छ । अकारलाई सृष्टिकर्ता (Generator) ब्रह्माको प्रतिक, उकारलाई संचालक (Operator) विष्णुको प्रतिक तथा मकारलाई संहारकर्ता (Destroyer) शिवको प्रतिक मानिन्छ । त्यसैले अ,उ,म् अलग अलग पनि परमात्माको स्वरुप हो र संयुक्त ओँकार रुपमा परब्रह्मा परमात्मा (God) को प्रतिक पनि हो । सम्पूर्ण चराचर जगतको सार पृथ्वी, पृथ्वीको सार जल, जलको सार अन्न, अन्नको सार मानव देह, मानव देहको सार वाणी, वाणीको सार ऋग्वेद, ऋग्वेदको सार सामवेद र सामवेदको सार ( ॐ) हो ।

परमात्मा सृष्टि, स्थिति, र प्रलय तीनवटै पनि हो र तीनवटै भन्दा अतित पनि हो । ऊ भुत, वर्तमान र भविष्य तीनकाल पनि हो र कालातित पनि हो । आत्माका तीन भेद विश्व (स्थुलस्वरुप), तेजस (प्रकाशस्वरुप), र प्राज्ञ (चेतनस्वरुप) लाई तीन चरण वा पाउ वा अवस्थाहरु मानिएको छ । आत्मा जाग्रत, स्वप्न र सुषुप्ति तीनवटै अवस्थाको अनुसन्धानकर्ता र अनुभवकर्ता हुन्छ । यसै कुरालाई माण्डूक्य उपनिषदमा परमात्माको चौथो अवस्था भनि व्याख्या गरिएको छ ।

ॐकार यस्तो शव्द हो जसको कुनै न कुनै रुपमा सवै धर्म सम्प्रदायहरुमा प्रयोग भएको छ । बौद्ध, जैन, सिख लगाएत अनेक सम्प्रदायहरुमा यस शव्दलाई अवतार पुरुषहरुले उच्च सम्मान दिएका छन् । गुरु नानकले त इक ओमकार सतिनाम भनेर यसलाई मूल मन्त्रको रुपमा यसको महत्व बयान गरेका छन् । यसलाई देवनागरिमा, गुरमुखीमा, तिव्वतिमा चिनीयां भाषामा, बाली भाषामा सङ्केत लेख्ने गरिन्छ । ॐकार शव्द नभएर चिन्ह हो । स्वस्तिक र ॐकारलाई एक अर्काको पर्यायवाची पवित्र चिन्ह मानिन्छ भने क्रस चिन्ह र स्वस्तिक चिन्हको उत्पत्ति आधार ॐ हो भन्ने खप्तड बाबाको विचार छ ।