काठमाडौ:वैदेशिक रोजगारीमा गएकी एक महिला ८ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरिन् ।
दिउँसो ३ बजेतिर उनी एअरपोर्टस्थित सडकबाट सार्वजनिक बस चढेर कोटेश्वरतर्फ लागिन् । कोटेश्वर नपुग्दै उनले गलामा लगाएको डेढ तोलाको सुनको सिक्री गायब भयो । १० हजार नेपाली रुपैयाँ रहेको पर्ससहितको धनमाल पनि गायब भयो ।
विदेशबाट कमाएको रकम जोहो गरेर किनेको सिक्री, नगद नै हराएको भन्दै ती महिलाले प्रहरी वृत्त गौशालामा निवेदन दिइन् । प्रहरीमा यस्तै शैलीमा अर्को स्न्याचिङ भएको भन्दै खबर पहिला पनि आएको थियो ।
प्रहरीमा आएका उजुरी तथा गुनासाले थाहा भयो-पछिल्लो समय विदेशबाट फर्केका महिलालाई टार्गेट गरेर स्न्याचिङ हुन थाल्यो । प्रहरी वृत्त गौशालाले जाहेरी लिएर अनुसन्धान अघि बढायो ।
प्राविधिक र म्यानुअल अनुसन्धानपछि विदेशबाट फर्केका महिला लक्षित डाँकाचोरी गर्ने केही व्यक्तिको पहिचान गर्न प्रहरीले सफल भयो । सीसीटीभी फुटेजमा देखिएको हुलिया समेतको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले अहिले यो प्रकरणमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-८ घर भएका २८ वर्षीय रोशन श्रेष्ठ, काभ्रेको नमोबुद्ध नगरपालिका-५ का ३० वर्षीय गंगे भनिने गंगाबहादुर तामाङ, काभ्रेको तेमाल गाउँपालिका-८ घर भएका ३५ वर्षीय कर्नेश तामाङ लामा, तेमाल-४ घर भएका २८ वर्षीय सुजन लामा, काभ्रेकै नमोबुद्ध नगरपालिका-५ घर भएका ३१ वर्षीय राम लामा, काभ्रेकै पनौती नगरपालिका-६ का ३१ वर्षीय अमृत भुलन छन् ।
उनीहरूलाई काठमाडौं महानगरपालिका-७ कालोपुलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । उनीहरूबाट १० हजार रकम र ६ थान मोबाइल समेत बरामद भएको छ । उनीहरूले समूह नै बनाएर सार्वजनिक गाडीमा डाँकाचोरी गर्दै आएको प्रहरीले बताएको छ ।
पछिल्लो समय भने विदेशबाट फर्केका महिला लक्षित उनीहरूले डाँकाचोरी गर्ने गरेको प्रहरीको भनाइ छ । विदेशबाट फर्केकासँग गरगहना तथा नगद हुने सम्भावना रहेको हुनसक्ने भन्दै निगरानी गर्ने र उनीहरू चढेको गाडी चढेर बसभित्रै स्न्याचिङ हुने गरेको प्रहरीको भनाइ छ ।
'८/१० जनाको समूह गाडीमा चड्ने, भिडभाड भएको जस्तोगरी धकेला धकेल गर्ने त्यही मौकामा गलाको सिक्री थुत्ने, पाकेटमारी गर्ने गरेको देखिएको छ' गौशाला वृत्तका एक अनुसन्धान अधिकारी भन्छन् ।
लुटपाट गर्ने बेला उनीहरूले कोड भाषा प्रयोग गर्ने गरेको पनि प्रहरीले बताएको छ । आम मान्छेले नबुझुन् भन्नका लागि उनीहरूले आफ्नै कोड भाषा बनाएर पाकेटमारी गर्ने गरेको प्रहरीको भनाइ छ ।
यसरी पाकेटमारी सकेपछि गरगहना बेचर रकम बाँडफाँट गर्ने गरेको पाइएको छ । पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट डाँका चोरीको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको एसएसपी थापाले बताउनु भयो
चोरी आरोपमा पक्राउ परेका ६ जना मध्ये पाँच जना पटके अभियुक्त हुन् । कतिसम्म भने एक जना यसअघि १३ पटकसम्म पक्राउ पर्दै मुद्दा चलेको व्यक्ति रहेको पाइएको छ
क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) रेकर्डअनुसार अहिले पक्राउ परेका २८ वर्षीय रोशन श्रेष्ठयसअघि १३ पटकसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति हुन् ।
चोरी, डाँकाचोरीदेखि अभद्र व्यवहार लगायतको कसुरमा उनी पक्राउ पर्दै आएका थिए । पक्राउ पर्दै १३ पटकसम्म मुद्दा चले पनि उनी छुटेपछि फेरि त्यही धन्दामा लागेको देखिएको छ ।
अहिले पक्राउ परेका पाकेटमारी समूहका उनी मुख्य नाइके हुन् ।
अर्का आरोपित गंगे पनि यसअघि ६ पटक पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको पाइएको छ । अर्का प्रतिवादी कर्नेश तामाङविरुद्ध पनि यसअघि ६ पटक मुद्दा चलेको पाइएको प्रहरीले बताएको छ ।
सुजन लामाविरुद्ध २ पटक र राम लामाविरुद्ध १ पटक मुद्दा चलेको भेटिएको छ । पक्राउ परेर पटक-पटक मुद्दा चलाउँदा समेत फेरि छुटेर उनीहरु चोरी, पाकेटमारी तथा डाँकाचोरीमा संलग्न भएको देखिएको छ । उनीहरूले डाँकाचोरीलाई पेसा गरेर चोरीको धन्दा चलाएको प्रहरीले बताएको छ ।
अहिले पक्राउ परेका ६ जना मात्रै होइन प्रहरी वृत्त थानकोटले पनि यस्तै शैलीमा स्न्याचिङ गर्ने ६ जनालाई पक्राउ गरेको छ । यो समूहले भने भाडामा घर तथा कोठा खोज्ने निहुँ बनाएर रेकी गर्ने र वृद्धाले गरगहना लगाएको देखेपछि चोरी गर्ने गरेको पाइएको छ ।
मोटरसाइकलमा दुई जना सवार भएर गलाको सिक्री थुत्दै हिँड्ने प्रवृत्ति देखिएको छ ।
दैनिकजसो एउटै शैलीमा लुटपाट हुने गरेको सूचना प्रहरीकोमा आएपछि अनुसन्धान अघि बढाइएको थियो । सो क्रममा प्रहरीले सीसी क्यामेरा फुटेजको आधारमा लुटेरा समूहको पहिचान गरी पक्राउ गरेको हो ।
यसरी लुट्ने समूहले चोरीको मोटरसाइकल प्रयोग गर्ने खुलेको छ । चोरीकै मोटरसाइकलमा दुई जना सवार हुने र पछाडि बस्नेले गरगहना थुतेर भाग्ने गरेको पाइएको छ ।


0 comment