काठमाडौं - सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य बढाइएको छ भने पेट्रोलियम पदार्थको मूल्यमा आंशिक समायोजन गरिएको छ। नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

निगमका अनुसार अब खाना पकाउने ग्यास (एलपी ग्यास) को मूल्य प्रति सिलिन्डर २,१६० रुपैयाँ पुगेको छ। यसअघि २,०१० रुपैयाँ रहेको ग्यासको मूल्यमा १५० रुपैयाँले वृद्धि गरिएको हो। त्यस्तै, आधा सिलिन्डर ग्यासको मूल्य १,०८० रुपैयाँ तोकिएको छ, जुन पहिले १,००५ रुपैयाँ थियो।

नयाँ मूल्य समायोजन इन्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यका आधारमा गरिएको निगमले जनाएको छ। 

यता, पेट्रोलियम पदार्थतर्फ भने केही राहत दिइएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले कमी गरिएको छ।

हवाई इन्धनतर्फ भने मूल्य वृद्धि गरिएको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ७ रुपैयाँ बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको निगमले जनाएको छ।

निगमले मूल्य समायोजनपछि पनि पाक्षिक रूपमा करिब १ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको छ।