सुर्खेत विरेन्द्र नगरकी १६ वर्षीय इनिसा विकको हत्या पहिलो हैन । यो घटनामा प्रहरीले अनुसन्धानको प्रतिवेदनसहित अदालतमा पेश गरिसकेको छ । प्रमीले यौन सम्बन्ध राख्दा यौनी च्यातिएर रक्तस्रावबाट मृत्यु भएको भनिए पनि सि आइ वी सहितको अनुसन्धानले सामुहिक बलत्कारपछि हत्या भन्ने संकेत गरेको छ । विगतमा पनि छोरीहरुमाथी बलत्कार गरी हत्या गरिएको धेरै तथ्यहरु छन । इनिसाका दोषीलाई कडा भन्दा कडा कारवाही गरिनु पर्दछ भनेर राजनीति दलका नेतादेखी सामाजिक अभियन्ताहरुसम्मको माग छ । इनिसा हत्याको घटनामा विभिन्न जिल्लाबाट पनि विरोधहरु भइरहेका छन । सामाजिक सञ्जालदेखि सडकसम्म इनिसाले न्याय पाउनुपर्ने आवाजहरु उठिरहेका छन । कयौ हिंसाका घटनाहरुलाई हेर्दा पनि छोरीहरुनै त्यसको उत्पीडनमा परेका छन पारिएको छ । २०७७ मा रुपन्देहीकी अंिगरा पासीलाई बलत्कार गरी हत्या गरियो । २०७५ मा कैलालीकी माया विकलाई बलत्कार गरी हत्या गरियो । धनुषाकी रेस्मा बराइलीलाई बलत्कार गरी हत्या गरियो ।

कास्कीकी श्रेया सुनारलाई बलत्कार गरी हत्या गरियो । २०७७ मै बझाङकी सम्झना कामीको बलत्कारपछि हत्या भयो । कन्चनपुरकी निर्मता पन्तलाई बलत्कार गरि हत्या गरियो । २०७७ मै बैतडीकी भगिरथी भट्टराईको बलत्कारपछि पछि हत्या गरियो । निर्मला पन्तलाई बलत्कार गर्ने अझै प्रहरीको निसाना भन्दा बाहिर छ । यसरी निरन्तर रुपमा छोरीहरुमाथी बलत्कार हत्याका चरणवद्ध घटनाहरु भइरहेका थिए र छन । प्रहरीको रेर्कडले नै भन्छ सरदर दैनिक ६ देखि ७ जना महिला बालिका किशोरी बलत्कृत भइरहेका छन । आर्थिक वर्ष २०७५÷७६ को प्रहरीको रेकर्ड हेर्दा पनि २ हजार २ सय ३० जना महिला तथा बालिका बलत्कृत भएको देखिन्छ । राष्ट्रिय बालअधिकार परिषदको बालबालिका स्थिती पत्र २०८०÷८१ को रेर्कडमा २ हजार ३ सय २८ जना बालिका विभिन्न किसिमको हिंसाको सिकार भई प्रहरीकोमा मुद्धा दर्ता भएको भनिएको छ । बालअधिकार सम्बन्धी महासन्धी १९८९ को धारा २, १९ र २६ बालबालिकामाथी कुनै पनिन हिंसा र दुव्र्यवहार गर्न बन्देज गरेको छ । त्यसैगरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ ले पनि बालबालिकामाथी गरिने हिंसालाई दन्डनीय मानेको छ । विभिन्न नीति ऐनले बालबालिकामाथी गरिने हिंसा र यातनालाई सामाजिक अपराधको रुपमा मानेर दण्ड सजायको व्यवस्था गरिए तापनि आज कयौ छोरीहरु हिंसाको सिकार भएर मृत्यु वरण गर्नु निकै दुखद सवाल हो । 
आफ्नै आमा नसम्झीने आफ्नै बहिनी नसम्झने आफ्नै दिदी नसम्झने पुरुषत्व प्रवृत्तिको भ्रमित मानसिकता पाल्नेहरुबाट आज कयौ छोरीहरुको अवोला भविश्य निमोठिरहेको राज्यबाट नै अनदेखा भएको हो की जस्तो हुन्छ । कतीपय अवस्थामा बर्षोसम्म पनि बलत्कार जस्तो अघन्य अपराधी राज्यको आँखा छल्न सफल भइरहेको हुन्छ जसले गर्दा महिला हिंसा बढिरहेको छ । 
हामीले छोरीहरुलाई आत्मरक्षाको तालिम हुर्काइको क्रममा नै दिनुपर्ने देखिन्छ । त्यसका साथसाथै छोराहरुलाई मान्छे हुनका लागि हामीले कसरी सामाजिकीकरण गर्दैछौ भन्ने प्रश्न पनि छ । छोरालाई मान्छे बन्न सिकाउने अभ्यास पनि घरपरिवार बाट नै अभ्यास गर्नुपर्ने देखिन्छ । किशोरावस्थामा आउने परिवर्तनहरुलाई बुझन नसकेर पनि कतिपय बालबालिकाहरु गलत काममा फसिराकेका हुन्छन । विशेषगरी बालबालिकाको लागि अभिभावकले गर्ने गोठालोमा कमी भयो भने बालबालिकाहरु विभिन्न संकटमा पर्ने धेरै घटनाहरु समाजमा छरपष्ट छन । छोरालाई अरुसँग जाइलाग्न फाइट गर्न सिकाउने हुर्काइको अभ्यासले छोरीहरुलाई पनि त्यसरी नै आफूमाथी संकट पर्दा जाइलाग्न आत्मरक्षा गर्न सिकाउने हो भने आज कोपिलामै हिंसाको सिकार भएर निमोठिएका इनिसाहरु जिवित रहन सक्थे । 

बलत्कारीलाई कानुनी सजाय के छ त ? १० वर्ष भन्दा कम उमेरकी बालिकालाई बलत्कार गरेमा वा अपाङ्ग पूर्ण असक्त वा ७० वर्ष भन्दा बढी उमेरकालाई बलत्कार गरेका जन्मकैदको व्यवस्था छ । १० वर्ष देखी १४ वर्ष भन्दा कम उमेरकी बालिकालाई बलत्कार गरेमा १८ देखि २० वर्ष कैदको व्यवस्था छ । १४ देखि १६ वर्षकी बालिकालाई बलत्कार गरेमा १२ देखि १४ वर्ष कैदको व्यवस्था छ । १६ देखि १८ वर्षकी बालिकालाई बलत्कार गरेमा १० देखि १२ वर्ष कैद हुने भनिएको छ । त्यसैगरी १८ वर्ष भन्दा बढी उमेरकी महिलालाई बलत्कार गरेमा ७ देखि १० वर्ष कैदको व्यवस्था भएको पाइन्छ । बलत्कारको घटनामा मिलापत्र गरे ६ महिनादेखी ३ वर्ष कैद र रु ३० हजार जरिवाना गर्ने व्यवस्था कानुनमा छ । 

अन्त्यमा कानुनले बालबालिकामाथी हुने हिंसालाई बन्देज गरे तापनि हिंसामा कमी आएको पाइदैन । विशेषगरी बालिकाहरुमाथी छोरीहरुमाथी हुने गरेका घटनाहरुले विद्यालय तहको पाठयक्रममा पनि आत्मरक्षाका कक्षाहरु समाबेस गर्नुपर्ने आवश्यकता देखिएको छ । कतिपय सरकारी तथा गैर सरकारी निकायहरुले बालबालिका संरक्षणका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको पनि छन तर त्यी कार्यक्रमहरुले पनि प्रभावकारी रुपमा छोरीहरुलाई जोगाउन सकिराको छैन । यसरी छोरीहरु असुरक्षित हुनुमा अभिभावकको पनि कम्जोरी भएको छ । राज्यले पनि कठोरतापूर्वक कानुनको कार्यान्वयन गर्न सकेको छैन । पीडकलाई संरक्षण गर्ने प्रवृत्ति पनि त्यत्तिकै जिम्मेवार हुन्छ । छोरीहरु आफैलाई कम्जोर बनाउने भाष्यबाट सामाजिकीकरण गर्ने मानसिकताबाट हामी सबै माथी उठनु त्यत्तिकै जरुरी छ । सामाजिक सञ्जालको बढदो दुरुपयोगले पनि छोरीहरुमाथी हिंसा बढाइरहेको छ । सामाजिक सञ्जाल प्रयोगको निगरानी अभिभावकबाट नै हुनु जरुरी छ ।