काठमाडौं – बैतडीमा अझै पनि बालविवाह हुने क्रम रोकिएको छैन । उमेर नपुग्दै बिहे गर्ने किशोरी २० वर्षमुनि नै आमा बन्ने गरेका छन् । जिल्लामा गएको तीन वर्षको अवधिमा एक हजार एक सय २५ जना किशोरी २० वर्षमुनि नै आमा बनेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । आर्थिक वर्ष २०७७र७८ मा चार सय १५, आवमा २०७८ र ७९ मा तीन सय ८७ र गत आवमा तीन सय २३ किशोरीले जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गराएको पाइएको कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिएका छन् । उनका अनुसार यो तथ्याङ्क हेर्दा पनि यहाँ बालविवाह हुने क्रम नरोकिएको प्रष्ट देखिन्छ ।

गर्भ जाँच गराउन आउँदा किशोरीको उमेर २० वर्ष कम भए पनि २० वर्ष पुगेको बताउने गरेकाले तथ्याङ्कमा कम देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । उमेर नपुग्दै बिहे गर्ने र २० वर्षमुनि आमा बन्दा ज्यान नै जोखिममा पर्ने सम्भावना बढी हुने स्वास्थ्यकर्मीको भनाइ रहेको छ । स्थानीय तह तथा विभिन्न सरकारी गैरसरकारी सङ्घसस्थाले प्रत्येक वर्ष जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि बालविवाह हुने क्रम नरोकिएको श्रीकोट स्वास्थ्यचौकीकी अनमी सरस्वती भट्टले बताईन ।  

बीस वर्ष नपुग्दै गरेको विवाहलाई कानुनी मान्यता नपाउने भन्दै उनले पछिल्लो समय घरपरिवारको दबाबमा गरिने विवाहमा केही कमी आए पनि भागी विवाहले बाल न्यूनीकरणमा चुनौती थपिएको बताईन । कम उमेरमा गरिएको विवाहले कानुनी मान्यता पाउँदैन भने स्वास्थ्यका हिसाबमा पनि जोखिम हुने गरेको छ । किशोरावस्थामा सही निर्णय लिन नसक्दा बालविवाहमा कमी नआएको हो, अनमी भट्टको भनाई रहेको छ ।  

बालविवाहको उन्मूलन गर्न विशेषगरी छोरीहरूको सशक्तीकरण गर्नुपर्ने र बालविवाह पुराना परम्परागत संस्कृति र जातीय व्यवस्थासँग जोडिएको विषय भएकाले कुसंस्कार र जातीय व्यवस्थालाई बदल्नुपर्ने दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । उनले भनिन्, “बालविवाह न्यूनीकरणका लागि छोरीहरूको सशक्तीकरण र पुराना कुसंस्कार बदल्न आवश्यक छ ।”

विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । मानव अधिकारको दृष्टिकोणवाट आफूले रोजेको व्यक्तिसंग विवाह गर्न पाउने र आफनो भविष्यको मार्गचित्र तय गर्ने प्रत्येक नागरिकको हक अधिकार सुनिश्चित हुनपर्दछ । यसका लागि प्राय सवै मुलुकहरुले विवाहको लागि न्यूनतम उमेर तोकेका हुन्छन् । नेपालको मूलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० बर्ष तोकिएको छ । नेपालको संबैधानिक इतिहासमा हालै मात्र जारी भएको नेपालको संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हननको बिषयकोरुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरेको छ । बाल विवाह उच्च रहेका मुलुकहरु मध्ये नेपाल अग्रपंक्तिमा रहेको छ । 

दक्षिण एशियामा नेपाल बंगलादेश र भारत पछि तेश्रो स्थानमा पर्दछ । बालकको तुलनामा संख्यात्मक रुपमा बढी बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको अध्ययनवाट देखिएको छ । यसो हुनुमा महिलाभन्दा पुरुषको उमेर सामान्यतया बढी हुनुपर्ने सामाजिक एवं सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरीबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरु प्रमुख रुपमा देखिएका छन् । बाल विवाहले बालबालिकाहरूलाई आधारभूत अधिकारबाट बञ्चित मात्र गराउँदैन उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रकृयामा सहभागी हुने अवसरबाट पनि बञ्चित हुन्छन् । 

बिशेष गरी बालिका र महिलाको सन्र्दभमा बाल विवाह ले एउटा मात्रै अधिकारको उल्लंघन नगरी उनीहरुको जीवनचक्रमा थुप्रै अधिकार उल्ल्ंघनको श्रृंखला सृजना गरी थप हिंसाको कुचक्रमा पर्ने अवस्था रहन्छ । बाल विवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखिने, लैंगिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, वेचविखन जस्ता थप हिंसाहरुले वालिका र महिलाहरु थप प्रताडित हुन पुग्दछन । कालान्तरमा समाज विकास प्रकृयामा महिलाहरूको भुमिका र सहभागितालाई न्यून बनाई सभ्य, सुंसस्कृत एवं समतामूलक समाज निर्माण गर्न बाल विवाह बाधक तत्व बन्न पुग्दछ ।

“बाल विवाह“ भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । सामान्यतया १८ वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । बाल विवाहलाई अन्त्य गर्न विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु लागिपरेका छन् । यस्तै नेपाल सरकारले सन् २०३० सम्ममा बालबिबाह अन्त्य गर्नका लागि नीति बनाई कार्यान्वयनमा पनि ल्याएको पाइन्छ ।

बाल विवाह कहाँ कहाँ गरिन्छ त ?

विशेषगरी तराई र मधेशका जिल्लाहरुमा बालबिबाह बढी हुने गरेको पाइन्छ त्यस्तैगरी पश्चिमका पहाडी जिल्लाहरु बझाङ ,बाजुरा, डोटी, अछाम र मध्यपश्चिमका केहि जिल्लाहरुमा समेत बालविवाह हुने गरेको पाइन्छ ।

बालबिवाह किन रोकीदैन ?

–    कम उमेरमा छोरीको बिहे गरिदिँदा पुण्य हुन्छ भन्ने गलत विश्वासले ।
–    अभिभावकमा शिक्षा र जनचेतनाको कमीका कारणले ।
–    गरिबीका कारणले परिवारमा कामदारहरूको संख्या बढाउने इच्छाले गर्दा ।

नेपालको बाल विवाह सम्बन्धी ऐन कानुन नेपालको संविधानको धारा ३९ को उपधारा ५ ले कुनै पनि बालबालिकाको हक स्थापित गरेको छ । नेपालको कानुन व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैका लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । २० वर्षभन्दा कम उमेरमा गरिने विवाह कानूनतः दण्डनीय हुन्छ साथै यस्तो विवाह गरेमा गैरकानुनी हुने भएकोले बदर हुने र कसुर गर्ने व्यक्तिलाई एक वर्ष कैद र दश हजार जरिवाना हुन सक्ने भनिएको छ ।

विवाह एक असल कार्य हो तर समय नपुगी गर्दा यसले ज्यानै समेत लिनसक्छ यदि तपाईं असल आमा बुवा असल अभिभावक बन्न चाहनुहुन्छ भने उमेर नपुगुन्जेल विवाह नगरिदिनुस बरु असल शिक्षा र वातावरण दिनुस अनि मात्र  बालबालिको जिबन भविष्यमा असल र उज्ज्वल र ठूला असल कामहरु गर्न सक्छन् । देशको अभिभारा बोकेर ठुलो गौरबमय कामहरु गर्न सक्छन् । मनोसामाजिक सहयोग चाहिएमा नेपाल सरकारको बाल हेल्पलाइन (दश नौ आठ) १०९८ वा नेपाल प्रहरीको नं. १०० मा फोन गरौं ।