काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भदौ २७ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाउने तयारी गरेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए। अस्पतालको ६४औं वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा भिडियो सन्देशमार्फत् उनले सातै प्रदेशका सात अस्पतालबाट एचपीभी खोप लगाउने बताए। उनका अनुसार गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप खरिद गरेर ल्याएको थियो। दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइने छ। 

कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा वीरगञ्जस्थित नारायणी अस्पताल, बागमतीमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल बाँके, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट एकै दिनदेखि एचपिभी खोप प्रदान गरिने छ।

खोपले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने छ। अहिले पहिलो मात्रा र ६ महिनापछि दोस्रो मात्रा खोप दिइने छ। 

नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिएको छ। विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तान क्यान्सर हुने गरेको छ। सन् २०२२ को सरकारी तथ्यांकअनुसार नेपालमा २ हजार २४४ महिला पाठेघरको मुखको क्यान्सरबाट ग्रसित छन्। 

ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ। भाइरसका कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धूमपान र सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ।