हरि चौधरी,

काठमाडौं – हीराको उत्पत्ति लाखौं वर्ष पहिले पृथ्वीको प्राकृतिक प्रक्रिया अनुरूप भएको हो । सो समयमा पृथ्वीका चट्टानहरू लेदो अर्थात् अर्ध तरल अवस्थामा थिए । उक्त तरल अवस्थामा भएको चट्टानमा पर्न गएको उच्च चाप र तापको प्रभावले चट्टानमा रहेका कार्बन परमाणुहरू खाँदिने क्रमसँगसँगै पृथ्वी चिसिने प्रक्रियाको क्रममा ती खाँदिएका कार्वनले पारदर्शी मणिभको रूप लियो । उक्त शुद्ध कार्वनको पारदर्शी मणिभ अर्थात् क्रिस्टललाई हामी हीराको रूपमा चिन्दछौं । 

हीराको अभूतपूर्वरूपमा चम्किने गुणले गर्दा यसलाई बहुमूल्य रत्नको रूपमा लिइन्छ । तर प्राकृतिकरूपमा पाइने हीरा पूर्णरूपमा चम्किने गुणले युक्त हुँदैन । सर्वप्रथम प्राकृतिक हीरालाई निश्चित ज्यामितीय आकारको ढाँचामा काटिन्छ । यसरी ज्यामितीय आकारमा काट्दा यसको कुना काटिन्छ । साधारणतया एउटा हीरामा ५८ अथवा त्यो भन्दा बढी कुना काटिन्छ । यी कुनाहरूले नै हीरालाई चम्कन मद्दत गर्दछन् ।